'पुरुषलाई अधिकांश महिलाद्वारा अंग प्रदान, पुरुषले गर्छन् अनेक वहाना

|

काठमाडौं : शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द,नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको सरकारी स्वास्थ्य संस्था हो। यो वर्ष केन्द्र स्थापनाको एघारौं वर्ष हो। भक्तपुरमा रहेको केन्द्रले मानव अंग प्रत्यारोपण र अंग दान सम्बन्धी नीति निर्माण गर्न नेपाल सरकारलाई सहयोग गर्दछ। अंग दान र प्रत्यारोपण सम्बन्धी स्वास्थ्य सेवा आम नागरीकलाई उपलब्ध गराउँदै आएको केन्द्रले मिर्गौला र कलेजो प्रत्यारोपणमा देशकै अग्रणी भुमिका खेलेको छ।

 अंग फेल भएर उपचार र प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता हट्नुको साथै देशबाट बाहिरीने करोडौं रुपैयाँ केन्द्रले देशका लागि बचाइरहेको छ। मानव अंग दान र प्रत्यारोपणको सेरोफेरोमा शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा.पुकारचन्द्र श्रेष्ठसँग हामीले कुराकानी गरेका छौँ :

राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा पहुँच र बिस्तार कति छ ?

चालू आर्थिक वर्ष राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका लागि निक्कै फलदायी वर्ष भएको छ। सरकारको नीति तथा कार्यक्रममा र बजेट भाषणमा केन्द्रलाई देशभरी बिस्तार गरी प्रत्यारोपण सम्बन्धी आवश्यक उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने, केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने घोषणा भएको छ।

वर्तमान प्रधानमन्त्री ज्यूले पनि केन्द्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित गराएरै छोड्ने प्रतिबद्धता जनाउनु भएको छ। अब,केन्द्रको क्षमता गुणात्मक हुन्छ, स्वास्थ्य उपचारमा मजबुत स्वास्थ्य संस्थाको रुपमा स्थापित हुनेछ।

अहिले पनि केन्द्रले वार्षिक दुई सय जनाको मिर्गौला मृगौला प्रत्यारोपण गरिरहेको छ , यो भनेको नेपालमा उपलब्ध प्रत्यारोपण दरको झण्डै दुई तिहाइ भन्दा पनि बढी हो, दिनहुँ अहिले एक सय चालीस जनासम्मलाई डायलाइसिस सेवा प्रदान गरिरहेका छौं।

हाम्रो केन्द्रले बढ्दो मागलाई एक्लै धान्न नसक्ने भएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पतालबाट पनि सेवा सुरु गरेका छौं। सेती प्रादेशिक अस्पताल धनगढी र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडासँग समझ्दारी पत्रमा हस्ताक्षर गरेर मिर्गौलाको डायलाइसिस सेवा र अंग प्रत्यारोपण सेवा समेत सुरु गर्ने तयारीमा छौं। कोशी प्रदेशमा विराटनगरबाट  पनि सेवाको तयारी छ यसरी हामी सात वटै प्रदेशबाट हाम्रो सेवालाई विकेन्द्रित पारेर प्रवाह गर्दै छौं।

मानव अंग फेल भनेको के हो ?

शरीरको कुनै पनि अंगले आफ्नो क्षमता र शरीरको आवश्यकता अनुसार काम गरेन र गर्न सकेन भने,शरीरको कार्यक्षमता धान्न सकेन भने अंग फेल भएको भन्छौं मिर्गौला,मुटु,कलेजो,फोक्सो,प्यानक्रियाज लगायतका अंग फेल हुन्छन्।

अंग फेल भयो अथवा त्यसले गर्ने काम घट्यो भने के गर्ने ?

अंग फेलमा दीर्घकालीन उपाय भनेको अर्को अंग राख्ने हो,प्रत्यारोपणको विकल्प छैन। मिर्गौलाको डायलाइसिस छ तर त्यो मृगौला प्रत्यारोपणको विकल्प कदापि होइन। एउटा भ्रम छ–डायलाइसिस गरेपछि प्रत्यारोपण गर्नु पर्दैन भन्ने त्यो भ्रम मात्र हो। डायलाइसिसले मानिसलाई केही समय बचाउने मात्र हो, पुनःस्थापना होइन।

डायलाइसिस गरेर बस्नु भनेको सधैं बिरामी भै रहनु हो भने मृगौला प्रत्यारोपण चैं रोग निको पारेर पहिलाको झैं तन्दुरुस्त हुनु हो, रोगमुक्त हुनु हो। मिर्गौला प्रत्यारोपण पछि अन्य स्वस्थ मान्छे जस्तै जीवनयापन गर्न सकिन्छ। मृगौलाको पनि प्रत्यारोपण नै जरुरी छ भने अरू अंगको त्यति सुविधा पनि छैन। अंग फेल भएमा अर्को अंग प्रत्यारोपण नै त्यसको उपचार हो।

शरीरमा कुन–कुन अंग अर्को फेर्न मिल्छ ?

मिर्गौला,फोक्सो,कलेजो,मुटु,सानो आन्द्रा,प्यानक्रियाज फेल भयो भने अर्को राखेर बचाउन सकिन्छ। विकसित देशमा पाठेघर फेरेर,फेरेको पाठेघरबाट बच्चा पनि जन्माइ रहेका छन्। जलेर वा अन्य कारणले अनुहारको छाला बिग्रेमा अर्को छाला राखेर पहिला झैं सुन्दर अनुहार पारेको उदाहरण छ।

विश्वमा थप नयाँ–नयाँ अंगको पनि प्रत्यारोपण थालिएको छ। अंग दान र प्रत्यारोपणमा विश्वले चमत्कारिक सफलता हासिल गरिरहेको छ। नेपालमा मिर्गौला,कलेजो,सानो आन्द्रा र प्यानक्रियाजको प्रत्यारोपण भइरहेको छ भने प्रत्यारोपणमा थप सफलता प्राप्त गर्ने संघारमा छौं। भइरहेको स्वास्थ्य प्रणालीले मात्र सम्भव नभए पनि मुटु र फोक्सोको प्रत्यारोपण नेपालमा जरुरी भएकाले छिट्टै स्वास्थय पहुँच बढाएर ती अंगको पनि प्रत्यारोपण गराउने तयारीमा लागेका छौं।

मृत शरीरको अंग पनि काम लाग्छ ?

मृत्यु दुई किसिमको हुन्छ, एउटा  मुटुले नै कामगर्न छाडेर,मुटु बन्द भएर हुने मृत्यु अर्को मष्तिष्कको मृत्यु भएर हुने मृत्यु। मुटुले काम गर्न छोडेर भएको मृत्युमा चैं कलेजो, मिर्गौला ,फोक्सो जस्ता अंग यदि आधा घण्टा भित्रमा झिकेर अर्को व्यक्तिमा राख्न सकियो भने मात्र ती अंग काम लाग्छन् अन्यथा काम लाग्दैनन्।

 त्यस्तो काम अति सुविधा सम्पन्न स्वास्थ्य पहुँच भएको देशले गरिरहेका छन् तत्काल नेपालमा त्यस्तो सम्भावना छैन। तर मष्तिष्क मृत्यु भएर मृत्यु भएको व्यक्तिको शरीरको अंग मष्तिष्क मृत्यु भएको केही घण्टा सम्म पनि जिवितै हुने हुनाले ती अंग झिकेर अर्को मान्छेलाई बचाउन सकिन्छ। मष्तिष्क मृत्यु भनेको दुर्घटनामा परेर हुने आकस्मिक मृत्यु हो।

मष्तिष्क मृत्यु भएको एउटा व्यक्तिको शरीरबाट आठ ओटा अंग निकालेर अरू आठ जना मानिसको ज्यान बचाउन सकिन्छ। दुई वटा मिर्गौला,दुई वटा फोक्सो,कलेजो, प्यानक्रियाज,मुटु र सानो आन्द्रा अर्कोलाई प्रत्यारोपण गराउन सकिन्छ। त्यसैले अंगदान र अंग प्रत्यारोपण बारेमा सचेतना बढ्ने–बढाउने हो भने नेपालमा शरीरको अंग फेल भएको कारणले कसैले पनि ज्यान गुमाउनु पर्ने थिएन।

नेपालमा अंगदान र प्रत्यारोपाको हालको अवस्था कस्तो छ ?

अंग प्रत्यारोपण ऐन २०७२ अनुसार तीन किसिमको व्यवस्था छ :

(१) स्वस्थ व्यक्तिले आफ्नो  नजिकको नातेदारलाई दिन मिल्ने अंग दिने। नजिकको नातेदार भन्नाले बाबु–आमा,दाजु–भाइ,दिदी–बहिनी, बाजे–बजै,छोरा–छोरी,नाती–नातिनी,भतीजा–भतीजी,ज्वाँइ–जेठान,काका–काकी,भाञ्जा–भाञ्जी,मामा–माइजु,श्रीमान–श्रीमती,दुई वर्षदेखि सँगै बसेका धर्मपुत्र–धर्मपुत्री,सौतेलो बाबु–आमा लगायतले अंग आपसमा लिनदिन सक्छन्। (२) नातेदारको बीचमा अंग लिने दिने त हुने भयो तर मिलेन भने अर्को परिवारसँग यदि मिल्छ भने साटासाट गर्न पाइन्छ। त्यस्तो साटासाट गरेर पनि हामीले प्रत्यारोपण गरेका छौं। (३) मष्तिष्क मृत्यु भएकाहरूबाट प्राप्त अंग दान। नेपालको हकमा सबैभन्दा प्रभावकारी यही हो तर आशातीत नतिजा छैन। नेपालमा प्रतीदिन चारदेखि आठ जनाको सडक दुर्घटनामा ज्यान गइरहेको छ भनेर रिर्पोटहरूले देखाए पनि ती व्यक्तिको अंग अरूले पाउन सकिरहेका छैनन्,खेर गइरहेको छ। यो हाम्रो चुनौती कै रुपमा रहेको छ।

सुविधा सम्पन्न स्वास्थ्य पहुँच भएको देशमा मष्तिष्क मृत्यु भएको एउटा व्यक्तिको शरीरको अंगले अरू आठ जना व्यक्तिको जीवन बचाउन सकिन्छ। नेपालमा पनि दुई वटा मिर्गौला र एउटा कलेजो प्रयोग गरेर तीन जनाको ज्यान बचाउन सकिन्थ्यो।

अहिलेसम्म एक हजार जना भन्दा बढीमा प्रत्यारोपणको हिसाब हेर्दा नौं सय जतिको नातेदारका बीचमा, ८२ जनाको गैह्र नातेदारमा अंग साटेर र ८ जनाको मात्रै मष्तिष्क मृत्यु भएकाहरूबाट प्राप्त अंग प्रत्यारोपण भएको छ। उसै खेर जाने अंगको पनि सदुपयोग गर्न सकेनौं।

किन सदुपयोग गर्न सकेनौँ त ?

मष्तिष्क मृत्यु भन्ने बुझाउनै गाह्रो भयो। २०७२ सालदेखि यो आठ वर्षमा मष्तिष्क मृत्यु भएकाहरूबाट प्राप्त मृगौला आठ जनालाई मात्र प्रत्यारोपण भएको छ। जव कि वर्षको हजार भन्दा धेरै मानिसको मृत्यु दुर्घटनाले मष्तिष्क मृत्युको कारण भएको तथ्य छ। वर्षमै २ हजार भन्दा धेरैवटा मिर्गौला प्राप्त हुनुपर्ने हो। हामीलाई भावनात्मक र प्राविधिक अप्ठेरो भयो। अंग दान र उपयोगिताको सचेतना प्रभावकारी नहुँदा, त्यस्तो दुःखको बेलामा अंग झिक्न आए भन्ने भो।

चिकित्सकहरू जसले अंग दान बुझ्नु भएको छ उहाँहरूमै पनि व्यावहारिक प्रयोग हुनसकेन यो दुःखको कुरा हो। खेर जाने अंग अरूलाई दिएर जीवन बाँच र बँचाऔँ भन्ने सबैमा हुनुपर्‍यो।

अंग दान क–कस्ले गर्न सक्छन् ?

मैले मेरो शरीरको सबै अंग दान गरेको छु,नेपालमा अंग दान गर्ने पहिलो व्यक्ति मै नै हुँला। वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ, यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाको त्यो बेलाको सिँगै मन्त्रीमण्डलले गरेको छ। अहिले त अरू–अरू धेरैले गर्नु भएको छ। अंग दान सचेतना बढ्दै गएको छ।

मधुमेह रोग नभएको,उच्चरक्तचाप (सुगर,प्रेसर) बढेर धेरै औषधी नखाएको,क्यान्सर र सरुवा रोग नलागेका मानिसले अंग दान गर्न सक्छन्। १८ वर्ष देखि माथि ६५ वर्ष र स्वस्थ छ भने त त्यो भन्दा पनि धेरै उमेर भएकाहरूले पनि अंग दान गर्न मिल्छ।

अंग दान दुई किसिमले गर्न सकिन्छ एउटा आफू स्वस्थ रहँदै आफ्नो दिन मिल्ने अंग अरूलाई दिएर आफू बाँच्दै अर्कोलाई पनि बचाउने। अर्को चै आफ्नो मृत्यु पछि उसै खेर जाने अंग अरूलाई दिन मञ्जुरीनामा गरेर अंग दान गर्ने। मृत्यु पछिको अंग दानमा उमेरको हदबन्दी पनि भएन। उसले आफू जीवित हुँदै अंग दानको मञ्जुरीनामा गरेको हुनुपर्‍यो।

अंग दानको मञ्जुरीनामा कहाँ गएर दिने,कस्तो प्रकृया पुरा गर्नु पर्छ ?

शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अंग दान र प्रत्यारोपण कै लागि खडा भएको संस्था हो। अंग दान सम्बन्धी त्यहाँ अलग एकाइको व्यवस्था छ। नजिक हुनेहरूले कार्यालय समयमा केन्द्रमै गएर मञ्जुरीनामा गर्न सकिन्छ। टाढा हुनुहुने, नभ्याउने र भौतिक रुपमा उपस्थित हुन नसक्नेहरूका लागि २४ सै घण्टा अनलाइन सुविधा छ। केन्द्रको वेभसाइटमा गएर सजिलै घरैमा बसी बसि अंग दानको प्रक्रिया पुरा गर्न पनि सकिन्छ।

हामीले अंग दाताको नागरिकताको एक प्रति फोटोकपी राख्छौँ। प्रत्यारोपण ऐन २०७२ ले त्यो पनि भनेको छैन। अंग दान गर्न जाँदा एक प्रति फोटो लानुपर्छ, टेलिफोन नम्बर चाहिन्छ। अंग दातालाई अंग दानपछि परिचय कार्ड दिइन्छ किनकि कुनै पनि बेला भवितव्य पर्‍यो भने त्यो कार्डले अंग दान बारे जानकारी गराउँछ। त्यसैले अंग दान गरेकाहरूले अंग दान गरेको कार्ड सधैँ आफूसँगै राख्नुपर्दछ।

अंग दान गर्न व्यक्तिको आफ्नो मात्र चाहना भए पुग्छ, अरू कसैको स्वीकृति,साक्षी वा कुनै किसिमको सही छापको जरुरी पर्दैन। बरु अंग दानका बारेमा केही बुझ्नु पर्‍यो भने केन्द्रको टेलिफोन नम्बर ०१–६६१४७०९ मा सम्पर्क गर्नुहोला यो टेलिफोन सेवा २४ सै घण्टा उपलब्ध छ।

कुन–कुन अंग दान गर्ने ?

स्वस्थ मानिसले आफ्नो जीवनकालमा दिन सक्ने भनेको एउटा मृगौला हो र अर्को आधा कलेजो हो। मिर्गौला एउटा मान्छेको शरीरमा दुई वटा हुन्छ, एउटा मात्र मिर्गौला भए काफी पुग्ने भएकाले जो कोही स्वस्थ व्यक्तिले एउटा मृगौला अरूलाई दिएर अर्को व्यक्तिको जीवन बचाउन सक्नुहुन्छ। यसरी बुझौं कि हामीलाई जन्मँदै बरदान स्वरूप एउटा अतिरीक्त मिर्गौला प्राप्त भएको छ, जुन अरूलाई दिएर पुण्य कमाउन प्राप्त भएको हो।

मिर्गौला जस्तै अरूलाई दिन मिल्ने अर्को अंग हो, कलेजो। कलेजो शरीरमा एउटै हुन्छ। कलेजो त्यस्तो अंग हो यो आधा निकाले पनि निकालेको तीन देखि छ महिनामा पलाएर पहिलाकै जत्रो हुन्छ। त्यसैले बिना हिचकिचाहट कलेजो आफ्नै जीवन रहँदै अर्कोलाई दिएर अर्को मान्छेको ज्यान पनि बचाउन सकिन्छ।

अब, मृत्यु पछिको अंग दान मञ्जुरीनामा चैं एउटा अंग मात्र पनि दान गर्न सकिन्छ र सबै अंग दान गर्न पनि मिल्छ। मञ्जुरीनामा फारममा कुन–कुन अंग दान गर्ने हो,त्यहाँ अंगको क्रमशः नाम हुन्छ आफूले दान गर्न चाहेको अंगमा चिन्ह लगाउने ठाउँ हुन्छ। आफ्नो इच्छा अनुसार चिन्ह लगाइदिए पुग्छ।

अंग दान र अंग प्रत्यारोपणमा चुनौती चैं कस्ता छन् ?

अंगको माग र आपूर्ति बीचमा ठूलो खाडल छ। बर्षेनी नेपालमा ३ हजार मानिसको मिर्गौला फेल हुन्छ तर प्रत्यारोपण चैं ३ सयको मात्र भइरहेका छ। दुई सय हाम्रो केन्द्रले गर्छ भने एक सय अरू जम्मैले गरेको प्रत्यारोपण जोड्दा पुग्छ। बाँकी २७ सय संख्या बर्सेनि थपिने थप जोखिम संख्या हो,जसलाई प्रत्यारोपण जरुरी छ तर हामीसँग मृगौला छैन। यसको प्रमुख कारण अंग दान र प्रत्यारोपण बारेमा पर्याप्त शिक्षा नपुगेर, सचेतना नभएर हो। स्वस्थ व्यक्तिले पनि अंग दान गर्न चाहेन, मृत व्यक्तिको अंग उनका आफन्तले दिन मानेनन्।

 अंग दान र प्रत्यारोपणको अर्को चुनौती चैं लैङ्गिक विभेद हो। पुरुषको अंग फेल भयो भने महिलाले अंग दिनैपर्ने तर महिलाको अंग बिग्रेर काम नलाग्ने भयो भने पुरुषले अनेक बहाना बनाएर अंग नदिने देखिएको छ।

श्रीमतीले श्रीमानलाई दान गर्ने तर श्रीमानले श्रीमतीलाई नदिने, छोरालाई दिने छोरीलाई बुहारीलाई नदिने बरु बुहारीका माइतीबाट समेत लिन खोज्ने। एक हजार अंग प्रत्यारोपणको  विश्लेषण गर्दा ७८ प्रतिशत अंगदाता महिला छन र ती महिलाले दान गरेको सबै अंग पाउने पुरुष छन्। महिलाको अंग लिन अधिकार ठान्ने तर महिलालाई दिन पर्दैन भन्ने मानसिकता पनि चुनौतीकै रुपमा देखिएको छ।

अर्को चुनौती गरीबको अंग फकाइफुल्याइ  प्रलोभनमा पारेर किन्न खोज्ने, किन्ने गरेको पनि पाइएको छ। नेपालमा मानव अंग किनबेच गम्भीर अपराध हो।

 यस्तो अपराध गर्न उनीहरू विदेश जान्छन् र करोडौं पैसा खर्च गर्छन्। जवकी नेपालका सरकारी स्वास्थ्य संस्थामा निःशूल्क मिर्गौला प्रत्यारोपणको ब्यावस्था छ भने निजी अस्पतालमा गएर प्रत्यारोपण गरे पनि पाँच लाख रुपैयाँमै प्रत्यारोपण गराउन सकिन्छ। नजिकै भारतमै गएर  प्रत्यारोपण कै लागि मात्र पचास लाख तिर्छन् भन्ने सुनिन्छ त्यो पनि भरपर्दो उपचार छैन।

 नेपालको मिर्गौला प्रत्यारोपण सेवा विश्वकै अब्बल सेवामा पर्छ भने मानव अंग प्रत्यारोपणमा हामी ९९ प्रतिशत सफल छौं। मानव अंग प्रत्यारोपणमा विश्वको सर्वाधिक सफल नतिजा निकाल्ने मध्य हाम्रो केन्द्र पनि हो।

भरपर्दो र अब्बल सेवा भए पनि अन्त जाने,आफ्ना नातेदार भित्रै अंग हुदाहुदै झुक्याएरै भए पनि अर्काको अंग ताक्ने सजिलै आफ्नै परिवारकाबाट दिन सकिनेमा पनि दिनै नखोज्ने, लिनै नखोज्ने छन्। यस्ता चुनौती हटाउन हामी सबैले अंग दानको बारेमा सचेतना फैलाउन प्रभावकारी भुमिका खेल्नुपर्छ।

अन्त्यमा मिर्गौला स्वस्थ राख्न कस्तो सावधानी अपनाउने ?

सुगर र प्रेसर हुनबाट आफूलाई बचाउने। शरीरको तौल धेरै बढ्न नदिने,नियमित शारीरिक व्यायाम गर्ने, थोरैथोरै गर्दै कम्तीमा एक दिन भरिमा ३ लिटर सफा र स्वच्छ पानी पिउने। कम्तीका दिनको एक घण्टा पसिना आउनेगरी हिँड्ने गरेमा मिर्गौला स्वस्थ रहन्छ। सुर्ती,खैनी खान भएन,धुम्रपान गर्नु भएन। मदिरा नखाने, जथाभाबी धेरै औषधी आफूखुसी नखाने, सन्तुलित भोजन सँगसँगै तनावसहित जीवन भयो भने मिर्गौला सधैँ स्वस्थ भै रहन्छ।

 मिर्गौला बिग्रेको कुनै लक्षण थाहा नहुने भएकाले र भए पनि अन्तिममा मात्र थाहा हुने भएकाले वर्षको एक पटक मृगौलाको अवस्था थाहा पाउन पिसाब र रगतको जाँच अनिवार्य गराउने गरौँ। सुगर र प्रेसर बढ्न नदिएमा मिर्गौला सधैं सक्रिय र स्वस्थ भइरहने छ। आफ्नो मृगौला स्वस्थ राख्न आफैं सचेत बनौं,आजैबाट मिर्गौलाको थप हेरचाह बढाऔँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.