बारा-२ मा गत मंसिरमा पराजित भएकै मधेशवादी नेताबीच भिडन्त

|

काठमाडौं : वैशाख १० गते हुने उपनिर्वाचन रोचक बन्ने संकेत देखिएको छ। चितवन-२, तनहुँ-१ र बारा-२ मा एकैसाथ हुन लागेको उपनिर्वाचनमा हेविवेट नेताहरू नै चुनावी प्रतिस्पर्धामा उत्रिने भएपछि सबैको चासो बढेको हो। उपचुनावको मिति नजिकिएसँगै दलहरूले उम्मेदवार छनोट गरेर चुनावको तयारी थालेका छन्। 

नेपाली कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेसँगै चितवन–२ का उम्मेदवार जितनारायण श्रेष्ठले मंसिरको परिणाम वैशाखमा उल्टिने दाबीसमेत गर्न भ्याए।

उक्त निर्वाचन क्षेत्रबाट विजयी बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गर्दै उनले ‘फण्डा’ गरेर जिते पनि ३ महिनाको गतिविधिले नै जनता उनीसँग सचेत भइसकेको दावी गरे।

चितवन-२ मा लामिछानेको दबदबा रहने भए पनि तनहुँ–१ बाट उम्मेदवार बनेका कांग्रेसका गोविन्द भट्टराईले भने आफ्नो निर्वाचन क्षेत्रमा रास्वपाको कुनै प्रभाव नभएकाले आफूले जित्ने दावी गरेका छन्।  

तर रास्वपाले तनहुँ-१ मा उम्मेदवारी दिने तयारी गरेको छ। आजमात्र नेपाली कांग्रेसबाट अलग्गिएको घोषणा गरेका अर्थविद डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने तयारी भइरहेको रास्वपाका नेताहरूले बताएका छन्।  

कांग्रेस सभापति शेरबहादुर देउवा र देउवा पत्नी आरजु राणाको हेपाइ सहन नसकेर पार्टी छोडेको विज्ञप्तिमार्फत वाग्लेले बताएका छन्। वाग्लेलाई रोक्न कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले अन्तिमसम्म प्रयास गरेका थिए।

जननायक वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र कृष्णप्रसाद भट्टराईको ऐतिहासिक दल अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको टिप्पणी वाग्लेले गरेका छन्।  

बारा-२ मा ‘पराजितहरू’कै भिडन्त

बारा क्षेत्र-२ मा भने मधेशकेन्द्रित दलबीच त्रिपक्षीय भिडन्त हुने भएको छ। यसअघि मंसिर ४ को निर्वाचनमा पराजित ३ जना नेता फेरि ३ महिनामै उपचुनाव लड्ने भएका छन्।

सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित जसपाका अध्यक्ष उपेन्द्र यादव, सर्लाही-२ मा नेसपाका महिन्द्र राय यादवसँग पराजित लोसपाका नेता राजेन्द्र महतो र बारा-२ मै उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पराजित शिवचन्द्र कुशवाहाबीच प्रतिस्पर्धा हुने भएको हो। कुशवाहा माओवादी केन्द्र छोडेर जनमत पार्टीबाट चुनावमा भिड्न लागेका हो। 

यी तीनै क्षेत्रमा नेकपा एमालेले उम्मेदवार तय गरिसकेको छैन। शनिबार बस्ने सचिवालय बैठकले उम्मेदवार टुंग्याउने सम्भावना रहेको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले थाहाखबरलाई जानकारी दिए। 

उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयन दर्ताको कार्यक्रम तोकिएको छ। रास्वपा सभापति लामिछानेको नागरिकताका कारण पद खारेज भएपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो।

यसैगरी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ–१ र रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ रिक्त भएको हो। 

निर्वाचन आयोगले आगामी वैशाख १० गते प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने ३ निर्वाचन क्षेत्रमा बिहीबार मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ।

आयोगले चितवन क्षेत्र–२ का लागि जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र-२ का लागि मुकेश उपाध्याय र तनहुँ क्षेत्र–१ का लागि कमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै यही चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछन्।

आयोगले बिहीबार नै उपनिर्वाचन हुने निर्वाचन क्षेत्रसमेत समेटेर देशभरको अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.