|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूलभूत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन्। उनले देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको भएपनि श्रीलंका बन्ने स्थितिमा नरहेको दावी गरे।

उनले आफूले तेस्रो कार्यकालका रुपमा प्रधानमन्त्री भएर लगभग १ सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताए। शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

हाँले अर्थतन्त्रको स्थितिमा गएको ३ महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको बताए। उनले ३ महिनामा रेमिट्यान्स, राजश्व संकलनमा गुणात्मक सुधार भएको दाबी गरे। उनले पछिल्लो ३ महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताए।

उनले भने, ‘अहिले नयाँ नयाँ राजनीतिक समीकरण बनिरहेको छ। आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा मूलभूत रुपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिनुपर्छ। हो देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको छ। राजनीतिक स्थायित्वको कुरा छ‚ सुशासनको कुरा पनि छ। मेरो १०० दिन पुग्दा नपुग्दैको अनुभवले के भनेको छ भने निजी र सार्वजनिक क्षेत्रको प्रभावकारी र परिणामकारी सहकार्यको कुरा गरेको छु। सुशासन कायम गर्न लामो लामो लाइन बस्ने, राहदानी, लाइसेन्सलगायतको लाइन घटाउने काम भएको छ। यो १०० दिनमा र सुधार गर्न सकिन्छ भन्ने विश्वास झनै बढेको छ। अर्थतन्त्रको स्थितिमा गएको ३ महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको छ, राजश्व संकलनमा धेरै सुधार भएको छ, विदेशी मुद्रा सञ्चितिमा त हामी निकै राम्रो स्थितिमा आइसकेका छौँ।’

प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था बर्बाद हुन लाग्यो भन्ने ठाउँमा नरहेको दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.