|

विराटनगर : कोशी प्रदेशका प्रदेशसभा सदस्य पाचकर्ण राई (पीके)लाई कार्यक्रमस्थलमा कालो झण्डा देखाउनुका साथै मोसो दल्ने प्रयास गरिएको छ।

शनिबार खोटाङ जिल्ला समन्वय समितिको सभा चलिरहेका वेला सांसद राईलाई पहिचान पक्षधरका आन्दोलनकारीले कार्यक्रम स्थलमा नै कालो झण्डा देखाएर विरोध जनाएका हुन्।

जिल्ला सभामा खोटाङ जिल्लाको १० वटै पालिकाको प्रमुख र उपप्रमुख सहभागी थिए।

जिल्ला सभामा साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले कार्यक्रमलाई सम्बोधन गरेलगत्तै किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातीले कार्यक्रम सञ्चालकसँग आफ्नो धारणा राख्न समय मागेका थिए। त्यसै क्रममा

उनले जिल्लाको कुनै पनि कार्यक्रममा पहिचानविरोधी सांसदहरूलाई नबोलाउन अपिल गरिसकेको र ल्याएमा विरोध हुने बताएका थिए। उनीहरू सांसद राईविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएपछि कार्यक्रम बिथोलिएको थियो।

प्रदेशसभा सदस्यलाई कालो झण्डा देखाएर विरोध जनाउने र मोसो दल्न प्रयास गर्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूलाई सामान्य सोधपुछ गरी छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

फागुन १७ गते प्रदेश–१ ले कोशी नाम पाएसँगै यतिवेला कोशी प्रदेशमा आन्दोलन चर्किरहेको छ। पहिचान पक्षधरहरूले विभिन्न चरणका आन्दोलन गर्दै आइरहेका छन् भने चैत ५ गते विराटनगरमा भएको प्रदर्शनीमा घाइते भएका पदम लिम्बू (लाजेहाङ) को उपचारका क्रममा मृत्यु भएको छ।

उनलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शहीद घोषणा गर्ने निर्णय समेत गरेको छ। यद्यपि उनको लास अझै उठ्न सकेको छैन।

यता संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाम्फेले शहीद घोषणा गरे पनि पत्र नआइसकेको र क्षतिपूर्ति रकम नतोकिएकाले तत्काल उनको शव उठाउन निर्णय नभएको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.