|

पर्वत : साविकको धौलागिरि अञ्चलका चार जिल्लामध्ये पर्वत, म्याग्दी र मुस्ताङका बासिन्दालाई तीन वर्षअघि पर्वत अस्पतालमा ‘भेन्टिलेटर’ को सुविधा पनि शुरु हुने भयो भन्ने खबर सुन्दा खुसी मिलेको थियो। आईसीयुमा राखेर उपचार गर्नुपर्ने अवस्था आएमा यी जिल्लाका बासिन्दा पोखरा जानुपर्ने बाध्यता छ।

पोखरा जानका लागि पर्वत सदरमुकाम कुश्मा बजार हुँदै जानुपर्छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत शिवालचोकबाट ५-७ मिनेटमै अस्पताल पुगिन्छ। गम्भीर अवस्थामा पोखरा लैजानु परेको अवस्थामा पर्वत अस्पतालमा शुरु गरिएको भेन्टिलेटर सुविधाले पोखरा नपुग्दै उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नरहनेमा नागरिकको विश्वास थियो।

अस्पतालको विकास र स्तरोन्नतिका लागि भौतिक पूर्वाधार निर्माणदेखि आन्तरिक जनशक्तिसमेत थपिँदै गएका वेला तीन वर्षअघि कात्तिकमा तीनवटा ‘भेन्टिलेटर’ जडान गरिएका थिए। गण्डकी प्रदेश सरकारले दिएको १ करोड ६९ लाखको लगानीमा आईसीयु र भेन्टिलेटर तयार पारियो। लायन्स क्लबदेखि अन्तरराष्ट्रिय सहयोगबाट समेत आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ। ती भेन्टिलेटरमा अहिलेसम्म पनि एकजना बिरामीको उपचार गर्न पाइएको छैन।

तीन वर्षअघि अस्पतालको पुरानो भवनमा आईसीयु निर्माण गरिएको थियो। तीनजना डाक्टर र तीनजना नर्सले भेन्टिलेटर सञ्चालनका लागि पोखराबाट यसको तालिम पनि गरेर आए तर उनीहरूले सिकेको भेन्टिलेटर सीप पनि प्रयोगमा आउनै पाएन।

पर्वत अस्पताल पुरानो संरचनाबाट नयाँ संरचनामा सरेको छ। सुविधा सम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको छ। त्यो क्रममा जडान भएका भेन्टिलेटरहरू पनि निकालेर नयाँ भवनमा सुरक्षित तरिकाले थन्क्याइएको छ। यसरी थन्किनुको कारण सरकारले भेन्टिलेटर’ सञ्चालन गर्ने जनशक्ति आपूर्ति नगर्नु हो।

भेन्टिलेटर सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्ति नभएकै कारण आईसीयुमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले बताइन्। एउटा भेन्टिलेटर चलाउन त्यो फाँटको एकजना छुट्टै डक्टर, एकजना एनेस्थेसियालोजिस्ट, एकजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको आवश्यकता पर्ने उनको भनाइ छ।

‘सातवटा भेन्टिलेटर चलाउन २८-३० जना जनशक्ति आवश्यक हुन्छ। एउटा भेन्टिलेटर चलाउने जनशक्ति नभएका वेला सातवटा त कसरी चलून्? अहिले २४ जना नर्सले सिङ्गो अस्पताल चलाउनुपरेको छ’, डा. अधिकारी भन्छिन्, ‘१५ शय्या क्षमतामा चलेको अस्पतालका रूपमा यसलाई हेरिएको छ। जब कि अहिले हामीले ५६ शय्यामा सञ्चालन गरिरहेका छौँ। पहिले त यसलाई ५० शय्या क्षमताको अस्पतालको रूपमा स्वीकृति दिनुपर्छ। त्यही हिसाबको कन्सल्टेन्ट आउनुहुन्छ। १५ शय्या अनुमति भएको अवस्थामा यो सञ्चालन गर्न सकिँदैन।’

अस्पतालको एउटा कोठामा थन्क्याएर राखिएका भेन्टिलेटर

कोभिड–१९ को सङ्क्रमण चरम अवस्थामा रहेका वेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले पनि तत्कालै सहयोग गरेका थिए। झन्डै पाँच करोडभन्दा बढी मूल्यका ती सामग्री थन्क्याएर राखेको भए पनि वेला वेलामा परीक्षण र मर्मत भने गर्ने गरिएको छ।

स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका डक्टरहरू पठाइदिए वा प्रदेशले विज्ञापन नै खुलाएर जनशक्ति पठाएको अवस्थामा मात्रै भेन्टिलेटर सञ्चालन गर्न सकिने निमित्त मे.सु डा. अधिकारी बताउँछिन्।

अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले यसका बारेमा प्रदेश सरकारमा पटक पटक कुरा गरे पनि अहिलेसम्म सुनुवाइ  नभएको बताउँछन्। राज्यको लगानी सही ठाउँमा नहुँदा महँगा सामग्री प्रयोगविहीन भएको र जनताले त्यो सुविधा पनि पाउन नसकेको उनको भनाइ छ।

‘बजेट र स्रोत सही ठाउँमा प्रयोग नहुँदा त्यसले के नतिजा दिने हो? यहाँका स्रोत र साधनलाई प्रयोगमा ल्याउन सक्ने जनशक्ति सरकारले दिए यो क्षेत्रका बासिन्दा पोखरा जानुपर्ने अवस्था रहँदैन। माग राखेका छौँ‚ अहिलेसम्म सुनुवाइ भएको छैन। हेरौँ अब के हुन्छ?’‚ अध्यक्ष गिरीले भने, ‘हामीसँग स्रोत भएर के गर्नु? प्रदेश सरकारले आफ्नो सर्भे सकेर सबैभन्दा पहिले ५० शय्या क्षमताको अस्पतालको अनुमति अझै दिएको छैन। यहाँका भेन्टिलेटर सञ्चालन गर्ने हो भने मुस्ताङदेखिका बिरामीहरूले पर्वत अस्पतालमै सेवा पाउने थिए तर प्रदेशले यो किन देखिरहेको छैन?’

पर्वत हुँदै पोखरा जानुपर्ने भएकाले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका नागरिकलाई सेवा दिने गरी यसलाई ट्रमा सेन्टरको रूपमा विकास गर्न सक्ने हो भने यो क्षेत्रका बासिन्दाले गुणस्तरीय स्वास्थ्य पाउने उनी बताउँछन्।

‘भेन्टिलेटर’ प्राप्त गर्ने र जडान गर्ने वेला अस्पताल विकास समितिको अध्यक्ष रहेका गोविन्द पहाडीले सरकारले जनशक्ति नदिएकै कारण अस्पतालले समस्या भोगिरहेको बताए। प्रचारका लागि एउटा ‘केस’लाई मात्रै भेन्टिलेटरमा राख्न अस्पतालको जनशक्तिले सक्ने भए पनि निरन्तरता दिन नसकिने भएकाले नै सामग्री थन्किएको उनको भनाइ छ। पहाडीका अनुसार बच्चाका लागि समेत ‘चाइल्ड आईसीयु’ बनाउन ‘पेड्रीयाट्रिक वार्ड’ को निर्माण गर्ने भनेर सरकारले दिएको दुई करोडबाट सामग्रीह किनिएका थिए। त्यही वेला लायन्स क्लबले समेत भेन्टिलेटर दिए भने थप सामग्री अस्पताल आफैँले किनेको थियो।

तीन वर्षअघि आई.सि.यू कोठा बनाएर जडान गरी सञ्चालनको लागि तयारी अवस्थामा रहेका भेन्टीलेटर

‘सबै भयो जनशक्ति भएनन्। यहाँको निजी स्रोतबाट जनशक्ति राख्दा एक महिना त पालिएला, दोस्रो महिनाबाट तलब कसरी खुवाउने? यसमा खास तीन जना डक्टरहरू चाहिने रहेछन्। एक जना इन्टरनल मेडिसिन पढेको, एक जना एनेस्थेसियोलोजिस्ट, एक जना नेफ्रोलोजिस्ट चाहिने रहेछ’, उनले भने, ‘यी तीन जना नै नभएसम्म डक्टरले रिस्क नलिने रहेछन्। तीन जनाले नै उपचार गरिरहेको अवस्थामा बिरामीको मृत्यु भएमा गर्दा गर्दै भएन, म्यानपावर त लागेका हुन है बचाउन भन्ने हुने रहेछ। यीमध्येका कोही एक जना नहुँदा उपचार थालेर बिरामीको मृत्यु भयो भने जनशक्ति पूरा नभएको अवस्थामा बिरामी लिएर तिमीहरूले मारेको हो भन्ने आरोप आउने रहेछ। डक्टर नभईकनै भेन्टिलेटरमा किन राखेऊ? मैले पूरा जनशक्ति भएको पोखरा काठमाडौँका अस्पतालमा लैजाने थिएँ मेरो बिरामी भन्ने तर्क बिरामीका आफन्तबाट आउने रहेछ।’

पर्वत अस्पतालमा आइसियु र भेन्टिलेटरको सुविधा भइदिएको भए पोखरा र काठमाण्डौंका  अस्पतालमा जान सक्नेहरू उतै गए पनि आर्थिक समस्यामा रहेकाहरूले भने जिल्लामा जीवन बचाउने मौका पाउन सक्थे। दुर्घटनामा परेका तथा ग्रामीण क्षेत्रमा रहेको बेलामा स्वास्थ्यमा गम्भीर समस्या देखिएका बिरामीहरूलाई सदरमुकाम कुस्मासम्म ल्याउन २÷३ सम्म लाग्छ। यहाँबाट फेरि पोखरा पठाउन डेढदेखि दुई घण्टा लाग्छ। तत्कालै ‘भेन्टिलेटर’ मा राख्नुपर्ने बिरामीलाई कम्तीमा पोखराको ‘भेन्टिलेटर’ मा पु¥याउन ४÷५ घण्टा अहिले लाग्ने गरेको छ। ‘आई.सी.यु’ मा ‘अक्सिजन’ टुट्न नहुने भएकाले ‘भेन्टिलेटर’ जडान गर्नु पूर्व प्रदेश सरकारले दिएको ६० लाख रुपैयाँबाट अस्पतालमै अक्सिजन प्लान्टसमेत निर्माण गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.