|

विराटनगर : कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण मुख्यमन्त्री कार्यालयको वेबसाइटमा उल्लेख गरिएको छ।

मुख्यमन्त्री कार्कीको सम्पत्ति

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुझाएको सम्पत्ति विवरणमा उनका दाजु दिपक कार्की र आफ्नो नाममा झापा गौरादह-१ मा कठ्ठा १० धुरमा बनेको दुईतले पक्की घर रहेको उल्लेख छ।

गौरादह-३ मा ३ कठ्ठामा बनेको पक्की घर र टहरा तथा श्रीमती अन्जना पाण्डेको नाममा ललितपुर महालक्ष्मी नगरपालिका-४ मा १ करोड ४० लाखमा किनेको २३२ र २८६ वर्गमिटर जग्गा रहेको उल्लेख गरेका छन्।

उनीसँग ६ तोला सुन, १० तोला चाँदी रहेको तर नगद भने नरहेको विवरणमा उल्लेख छ।

श्रीमती अन्जना पाण्डे कार्कीको नाममा लिभरपुुल एजुकेशन नेटवर्क प्रालि मा २१ लाख ३८ हजार ७ सय, आफ्नै नाममा ड्रिमल्याण्ड हाउजिङमा १० लाख र शहीद मेमोरियल अस्पतालमा १ लाख ५० हजार रूपैयाँको शेयर रहेको उल्लेख गरिएको छ।

महालक्ष्मी नगरपालिकास्थित घरजग्गा खरिद गर्दा लिएको ९० लाख ऋण पनि मुख्यमन्त्री कार्कीले विवरणमा देखाएका छन् भने अघिल्लो विवरणमा उल्लेख गरेको सभ्भावी सहकारी संस्था लि. नयाँ बानेश्वरको ३ लाख रूपैयाँ ऋण भने तिरेको देखाएका छन्।

२०१२ मोडलको सेन्ट्रो कार विसं२०७० सालमा २३ लाखमा खरिद गरेको र उक्त कारको लोन चुक्ता भएको विवरणमा उल्लेख छ। झापामा गौरादह कृषि तथा पशुपंक्षी विकास फर्म ३ लाख लगानीमा विसं २०७३ सालमा स्थापना गरेर संचालनमा रहेको पनि उनको विवरणमा उल्लेख छ।

तिलकुमार मेन्याङ्बो

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूले बुझाएको सम्पत्ति विरणमा ताप्लेजुङको पाथीभरा याङ्वरक-२ मा पैतृक सम्पत्ति रहेको उल्लेख छ।

यस्तै फुङलिङ-४ मा ५ रोपनी ३ आना जग्गा श्रीमतीको नाममा रहेको र इटहरी-६ मा १६ धुर जग्गा रहेको उल्लेख छ। उक्त जग्गा तलबबाट खरिद गरेको उल्लेख गरिएको छ। उनले  बुझाएको विवरणमा ७ तोला सुन, विभिन्न बैंक खातामा ३ लाख ८९ हजार ५८३ रूपैयाँ नगद रहेको उल्लेख छ।

४ वटा कम्पनीमा १० कित्ताको दरले ४० कित्ता शेयर रहेको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

भक्ति प्रसाद सिटौला

उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले बुझाएको सम्पत्ति विवरणमा झापा विर्तामोड-७ मा विभिन्न कित्तामा गरेर ३० कठ्ठा ५ धूर जग्गा रहेको उल्लेख गरेका छन्। उल्लेखित सम्पूर्ण जग्गा पैतृक सम्पत्ति रहेको बताइएको छ।

५० तोला सुन र ५ सय तोला चाँदी, ३० लाखको कार र २ लाख ५० हजारको होण्डा मोटरसाइकल रहेको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ।

जीवन आचार्य

पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्यले ललितपुर, विराटनगर र मोरङको बुढीगंगामा घर तथा जग्गा देखाएका छन्।

उनको नाममा ललितपुर सुनाकोठी ९ (क) को ७०४ कित्ता नम्बरमा ९ आना र १२८१ कित्ता नम्बरमा १ आना २ पैसा जग्गा रहेको र उक्त जग्गामा अढाइ तले पक्की घर रहेको उल्लेख छ। उक्त सम्पत्ति ३६ लाख रूपैयाँमा खरिद गरेको र प्राप्तिको स्रोत व्यवसाय र पैतृक रहेको विवरणमा उल्लेख छ।

विराटनगर महानगरपालिकामा १ (ख) ३१७८ कित्ता नम्बरमा १५ धुर जग्गामा अढाइ तले पक्की घर रहेको उल्लेख छ। उक्त घरजग्गा व्यवसाय पैतृक सम्पत्तिबाट १३ लाख ५० हजार रूपैयाँमा खरिद गरिएको विवरणमा उलेख छ।

मोरङको साविक हात्तीमुढा गाउँपालिका वडा नम्बर ४ मा व्यावसायिक आम्दानीमार्फत २ हजार ६३० वर्गमिटर जग्गा खरिद गरेको, साविक हात्तीमुढा २ नम्बर वडामा १ हजार ९४७ वर्गमिटर जग्गा पैतृक सम्पत्तिमार्फत प्राप्त गरेको विवरणमा उल्लेख छ।

हात्तीमुढाकै २ (क) मा २ हजार ३१.७१ वर्गमिटर जग्गा व्यावसायिक आम्दानीबाट ३ लाखमा खरिद गरेको पनि उल्लेख छ। २० तोला सुन र ५० तोला चाँदी पैतृक सम्पत्तिको रुपमा रहेको उल्लेख गरेका आचार्यले ४५ लाख बैंक मौज्दात रहेको विवरण पेश गरेका छन्।

एनस्याट प्रालि काठमाडौंमा ३३ प्रतिशत शेयर ३० लाखमा र जेएमडी ग्रुप अफ कम्पनी काठमाडौंमा ५० प्रतिशत शेयर ५० लाखमा खरिद गरेको पनि उल्लेख छ।

उक्त शेयर हात्तीमुढाको जग्गा बिक्री तथा लाइफ कम्प्युटर प्वाइन्टको व्यवसायबाट आम्दानी गरेको उल्लेख छ। प्रभु बैंक लैनचौर शाखाबाट ५ लाख रूपैयाँ र दुहबी ८ का ओम थापाबाट ८० लाख रूपैयाँ ऋण लिएको पनि विवरणमा उल्लेख छ। उनको ४१ लाखमा खरिद गरेको हुण्डाइ क्रेटा गाडी रहेको पनि उल्लेख छ।

दुर्गाप्रसाद चापागाईँ

भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले बुझाएको सम्पत्ति विवरणमा श्रीमती इन्दिरा कार्कीको नाममा झापा बिर्तामोड–३ मा १ कठ्ठा जग्गा, मोरङ सुन्दरहरैंचा-१ मा १ बिगाहा १० कठ्ठा जग्गा रहेको उल्लेख छ।

उक्त जग्गा जागिर तथा व्यापारको आम्दानीबाट किनेको विवारणमा उल्लेख छ।

मोरङ सुन्दरहरैंचाको जग्गा कृषि फर्म सञ्चालनका लागि सामूहिक रुपमा खरिद गरिएको उल्लेख भए पनि विवरणमा समूहको नाम उल्लेख छैन। ३ तोला सुन, ५ तोला चाँदी र विभिन्न बैंकमा गरेर १ लाख ८७ हजार रूपैयाँ बैंक मौज्दात रहेको उल्लेख गरेका छन्।

चापागाईंले अपर खोरङ खोला जलविद्युत् आयोजनामा आफ्नो र श्रीमतीको नाममा १.२५ प्रतिशत शेयर र अपर सोलुमा पनि शून्य दशमलव ४८ प्रतिशत शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

उनले इष्टमित्र र आफन्तजनबाट १ करोड २० लाख रूपैयाँ ऋण लिएको पनि विवरण उल्लेख गरेका छन्। ‘घर बनाउन, जग्गा खरिद गर्न, शेयर खरिद गर्न र चुनाव लड्न’ का लागि ऋण  लिएको विवरणमा उल्लेख छ। श्रीमती इन्दीरा कार्कीको नाममा एउटा स्कुटर २ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ।

बुद्धिकुमार राजभण्डारी

सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सार्वजनिक गरेको विवरणमा काडमाडौं ३२ नम्बर वडामा १३७ वर्गमिटर जग्गा ४६ लाख ५० हजारमा २०५८ सालमा खरिद गरेको छ। सोलुखुम्बुको सोलुदूधकुण्डको ६ नम्बर वडामा विभिन्न कित्तामा गरी १०६९२.५० वर्गमिटर जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख छ।

३ तोला सुन, १० लाख ७६ हजार नगद बैंक रहेको उल्लेख गरेका छन्। उनको विभिन्न कम्पनीमा ५६ हजार ३५० थान शेयर रहेको उल्लेख छ। सोलुखुम्बु ग्रुपमा ३० हजार कित्ता र बेनी हाइड्रोमा २० हजार, सोलु हाइड्रोमा ५ हजार कित्ता शेयर रहेको विवरणमा उल्लेख छ।

उनले २० लाख रूपैयाँ ऋण देखाएका छन्। उनीसँग २८ लाखमा खरिद गरेको टाटा सुमो र २४ लाख ५० हजारमा खरिद गरेको ट्याक्टर, २ थान मोटरसाइकल र १ थान स्कुटर रहेको उल्लेख छ।

निर्मला लिम्बू

स्वास्थ्यमन्त्री निर्मला लिम्बूले बुझाएको सम्पत्ति विवरणमा  ताप्लेजुङ फुङलिङ-६ र ललितपुरको सानो हात्तीवनस्थित जग्गामा घर रहेको छ। झापामा पनि जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

उनको २२ तोला सुन रहेको र ३५ तोला चाँदी रहेको उल्लेख गरिएको छ। सुन चाँदी भने अलैंची व्यवसाय र उद्योगमार्फत भएको आम्दानीले खरिद गरेको उनले विवरणमा उल्लेख गरेकी छन्। एउटा स्कुटर आफ्नो नाममा रहेको उल्लेख गरिएको छ। व्यावसायिक क्षेत्रमा युमा कपडा उद्योग पनि रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.