|

विराटनगर : देशमा ठूलठूला राजनीतिक परिवर्तन भए। जनताका छोराछारी सत्ता सम्हाल्ने स्थानमा पुग्न सफल भए तर सत्तामा पुर्‍याउने जनताको अवस्था कहिल्यै फेरिएन।

विकास र समृद्धिका ठूलठूला नारा बोकेर जनताका छोराछोरी मतदाताको घरआँगनमा पुग्दा तातो बालुवामा भोक खोज्ने काजी मग्रान्तीलाई अब दुःखका कुइनेटोले छिचोल्न पर्दैनझैँ लागेको थियो। उनको जीवन दुःखको लयमा बग्ने नदीको धारले परिवर्तनको कुनै बाटो देखेन।

मध्य दिउँसो, वैशाखको रापिलो घाम, तातिएको बालुवामा परिवारको भोको पेट पाल्न बालुवा खोतल्दै गर्दा भेटियो काजी मग्रान्ती दम्पतीको ऊर्जाशील उमेर गछिया खोलाको बालुवासँगै बित्यो।

उमेरले ५० काटिसकेका उनीहरूको परिवारको भरथेग नै त्यही खोलाको बालुवा हो।  त्यसो त बालुवामा भोक खोज्ने काजी मग्रान्ती र उनकी श्रीमती रीता मग्रान्ती मात्रै होइन, उनी जस्ता थुप्रै भेटिन्छन्।

सबैको दैनिकी बिहानको झुल्के घामसँगै शुरु हुन्छ। काजी दम्पतीको खोलाको बालुवा र गिट्टीसँग ०४२ सालदेखि साइनो जोडिएको बताउँछन्। उनीहरूको घरपरिवारको भरथेग नै गछिया खोलाको बालुवा र गिट्टी रहेछ। दुई दिनमा एक ट्याक्टर बालुवा निकाल्ने गरेको मग्रान्ती दम्पतीले हजारदेखि १२ सयसम्ममा बिक्री गर्ने गरेको बताउँछ।

असोजदेखि असार मसान्तसम्म खोलाबाट गिट्टी बालुवा निकालेर बेच्ने गरेको उनीहरू बताउँछन्। 

मग्रान्ती दम्पतीको जस्तै ५८ वर्षीय छविलाल विश्वकर्मा र ५६ वर्षीया मनकुमारीको पनि घरको आर्थिक स्रोतको माध्यम नै बालुवा रहेको सुनाए।

दुई दशकदेखि गछिया खोलाको बालुवा परिवारको भोक थेग्ने माध्यम बनेको विश्वकर्मा दम्पती बताउँछ।

हिँउदमा बालुवा र गिट्टीले थेगेका मग्रान्ती र विश्वकर्मा दम्पतीको बर्खा लागेसँगै खोलामा पानी बढ्ने हुँदा काम ठप्प हुने गरेको उनीहरू सुनाउँछन्।

बर्खाको समय भने अन्य काम नै गर्ने गरेको मनकुमारीले बताइन्। ‘यो खोला बन्द भएपछि काम रोकिन्छ, आयस्रोत बन्द हुन्छ त्यसैले जे भेटिन्छ त्यही काम गर्छौ’, उनले भनिन्, ‘काम गरे खान पाइयो‚ नेताले जस्तो ढाँटेर ठगेर खानु भएन।’

निर्वाचनताका मत माग्दा विपन्न वर्गका लागि राहतका एजेण्डाका कुराले वाक्क लागेको मग्रान्ती र विश्वकर्मा दम्पतीहरूका लागि देशमा भएका ठूलठूला राजनीतिक परिवर्तनले अझै छुन सकेको छैन। व्यवस्था बदलिए पनि उनीहरू जस्ताको अवस्था ज्यूँ का त्यूँ रहेको उनीहरूको दुखेसो छ।

गरिबका लागि दुःख आफ्नै निजी भएको बताउँदै उनीहरू भन्छन्, ‘चुनाव आउँछ, एजेण्डा हामी जस्ता गरिबको हितका लागि पनि हुन्छ, जितेर जान्छन् गरिबको मत बिर्सिन्छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.