|

विराटनगर  : लाहुरेको शहर  धरान दशकौँदेखि पानीको अभावले काकाकुल हुनुपरेको छ। समयसँगै बढ्दै गएको जनघनत्वका कारण वितरण हुने पानीको समस्या पनि उत्तिकै बढ्दै गएको  छ।

त्यसो त धराने जनताले बेहोरेको पानीको अभाव स्थानीय निर्वाचनको प्रमुख एजेण्डा हो भन्ने कुरामा कुनै दुईमत  पनि छैन। यही एजेण्डालाई टेकेर ०७४ को स्थानीय निर्वाचनमा  उपमहानगरको बाघडोर सम्हाल्न स्व. तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारीलाई धराने जनताले निर्वाचित गरेर पठाए।

  सुब्बाको निधनपछि ०७६ सालको उपनिर्वाचनमा  नेपाली कांग्रेसका  तिलक राई निर्वाचित भए। उपनिर्वाचनमा  पनि हालका मेयर हर्कराज राई मेयर पदका लागि स्वतन्त्रबाट उम्मेदवार रहेका थिए। उनले (हर्क साम्पाङ) ४२४ मत ल्याएर हार बेहोरेका थिए।

उनै हर्कलाई गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा धराने जनताले दशकौँदेखिको राजनीतिक धारबाट पछि हट्दै अपेक्षाकृत मत दिएर धराने जनतको समस्या सुल्झाउने स्थानमा पुर्‍याए।

नेतृत्वप्रति धराने जनताको त्यति ठूलो अपेक्षा पनि छैन। पानीको अभावले निम्त्याएको समस्याबाट जुन नेतृत्वले उकास्न सक्छ उनै धराने जनताका लागि  सफल नेतृत्व सावित हुन्छ। त्यही पानीको समस्या सुल्झाउने आँटको साथ निर्वाचनको मैदानमा एक्लै उभिएका हर्क साम्पाङले जनमत पाए तर आफ्नो मातहतमा रहको वडा अध्यक्षहरूसँग भने सधैँ टसल परिरहेको छ।

समान्य भाषामा भनौँ उनले वडाको प्रतिनिधिको साथ भने पाएका छैनन्। मेयर पदमा निर्वाचित भएर शपथपछि २३ जेठ २०७९ मा बसेको पहिलो पटकको कार्यपालिका बैठकमा उनको र वडाध्यक्षहरू बीचको सम्बन्ध चिसिँदै गएको थियो।

खोला ठेक्का लगाउने वा नलगाउने भन्ने विषयमा साम्पाङले राखेको धारणाप्रति  वडाध्यक्षहरुको फरकमत थियो।  मेयर साम्पाङले  बैठकको समय खोला ठेक्का नलगाउने, आफैँ उत्खनन गर्ने  र विकास निर्माणका लागि आफैँले प्रयोग गर्ने भन्ने अभिव्यक्ति  राख्दै गर्दा वडाध्यक्षहरु भने खोला ठेक्कामा लगाउनुपर्ने पक्षमा थिए।

उपमहानगरको आन्तरिक आय निकै कमजोर भएकाले नियमित अनुगमन गरेर  खोला ठेक्कामा लगाउनुपर्नेमा वडाध्यक्षहरुले जोड दिएका थिए।

पहिलो बैठकदेखि नै आफूले नेतृत्वको वडाबाट साथ नपाएको मेयर साम्पाङको  कार्यकालको एकवर्ष बित्न अब करिब एकमहिना बाँकी छ।

यो अवधिसम्म  उपमहानगरपालिकाको कार्यपालिका बैठक सफलताको साथ सम्पन्न हुन सकेको छैन।

मेयर साम्पाङले मागे राजीनामा

एउटा भनाइ छ  ‘बिना सिपाहीको जर्नेल हुँदैन।’ लडाइँमा सिपाहीले साथ नदिए जर्नेलको जित हुँदैन त्यस्तै धराने जनताको अपेक्षा र  आवश्यकताका विषयमा काम गर्नु आफू मातहतका जनप्रतिनिधिको साथ बिना सफलता प्राप्त गर्न पनि सकस हुँदो हो।

बारम्बार कार्यपालिका बैठकमा असन्तुष्टि व्यक्त गर्दै बैठक बहिष्कार गरेका वडाध्यक्षहरुलाई मेयर साम्पाङले राजीनामा मागेका छन्।

उनले वडाध्यक्षहरूलाई अक्षम भन्दै बिहीबार  प्रेस विज्ञप्तिमार्फत राजीनामाको माग गरेका हुन्। 

यता,  वडाध्यक्षहरू भने मेयरले कुनै प्रस्ताव पनि छलफल नगरी ल्याउने गरेको भन्दै साम्पाङको प्रस्तावलाई आलोचनका सथा बहिष्कार गर्दै आइरहेका छन्।

बिहीबार विज्ञप्ति निकाल्दै हर्क साम्पाङले खास कारण नै बिना पटकपटक कार्यपालिका  बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताले पाउने सुशासन र विकास पाउनुपर्ने अधिकार खेलबाड गरिरहेको बताउँदै आफ्नो कर्तव्य पूरा नगरेको अवस्था अवगत गराउन विज्ञप्ति जारी गर्न बाध्य भएको उल्लेख गरेका छन्।

वडाध्यक्षहरूले कार्यपालिका बैठक बहिष्कार गरेकोमा समेत साम्पाङले असन्तुष्टि व्यक्त गरेका छन्।

‘कसैले म बैठक बस्दिनँ भन्न पाइँदैन, त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न अक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानवासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ’ विज्ञप्तिमा उल्लेख छ।

 उनले जनतको भोट लिएर जनताको काम गर्न नमान्ने वडाध्यक्षहरुलाई जनताले राजीनामा माग्नुपर्नेसमेत  बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले रिक्त पदपूर्ति गर्न उपनिर्वाचन गर्नुपर्नेमा समेत जोड दिएका छन्।

यता, उपप्रमुख अइन्द्रविक्रम बेघाले भने वडाध्यक्ष र मेयरबीचको समस्याको हल गरेर जानुपर्नेमा सधैँ सुझाव दिँदै आइरहेको बताउँछन्। ‘वडाध्यक्षज्यूहरूलाई पनि आफ्नो अडान नराख्‍न र मेयर सावलाई पनि आफ्नो काम र नगरको भूमिकामा जोडेर जानु भनिरहेको छु,’ उनले भने,‘तर, अलिकति समस्या आइरहेको छ, यसलाई समाधान गर्नेतर्फ लागिरहेका छौँ।’

यो टसलले नयाँ आउने बजेटमा समस्या पर्दैन भन्ने प्रश्नमा उनले केही समस्या हुने बताउँछन्।  नयाँ आउने बजेटमा छलफल गरेर जाँदा राम्रो हुने  बताउँदै उनले भने, ‘नयाँ आउने बजेटमा छलफल गरेर जाँदा राम्रो हुने थियो, अब हेरौँ हामी मिलाउने प्रयासमा लागिरहेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.