निषेधाज्ञा तोडेर मुख्यमन्त्री कार्यालय जान खोजेपछि......

|

विराटनगर : आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव यात्राका क्रममा विराटनगरमा झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भएका छन्।

शनिबार दिउँसो रोडशेष चोक अर्थात् मुख्यमन्त्री कार्यालय नजिकै प्रहरी र आन्दोलनकारीबीच झपड भएको हो।

झडपका क्रममा नेपाल प्रहरीका तीनजना र सशस्त्र प्रहरीका तीनजना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङका प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। आन्दोलनरत पक्षका पनि ६ जना घाइते भएको किरात राई यायोख्खाकी सचिव कुन्ता राईले जानकारी दिइन्।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न ८१ सेल अश्रुग्याँस प्रहार गरेको समेत डिएसपी दाहालले जानकारी दिए। निषेधित क्षेत्र तोड्ने प्रयास गरिएपछि अश्रुग्याँस प्रहार गरेको उनले बताए।

निषेधाज्ञा तोडेर मुख्यमन्त्री कार्यालय जान खोजेपछि...

गत चैत्र ५ गते विराटनगरमा पुनः नामकरणको माग राख्दै भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारका क्रममा चैत्र १० गते मृत्यु भएको थियो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएका उनलाई पहिचान पक्षधरले सहिद घोषणको माग गर्दै शव बुझ्न मानेका थिएनन्। लिम्बूको निधनपछि थप आन्दोलन चर्किदै गयो।

उनलाई चैत २४ को मन्त्रिपरिषद्को बैठकले सहिद घोषणा गरेपछि आन्दोलनरत पक्षले शव बुझ्न तयार भए। सोही अनुसार लिम्बूको अन्तिम संस्कारका लागि धरान र इटहरी हुँदै श्रद्धाञ्जलिका लागि शव विराटनगर ल्याइएको थियो। त्यसो त आन्दोलनरत पक्षले रोडशेष चोकमा शान्तिपूर्ण रूपमा श्रद्धाञ्जलिसभा गर्ने र शव परिक्रमा गराउने भन्ने जानकारी थियो तर जब इटहरीबाट हुँकिएर शवभन्दा अगाडिको गाडीमा आएका आन्दोलनरत पक्षले निषेधाज्ञा तोडेर मुख्यमन्त्री कार्यालयतर्फ अगाडि बढ्ने प्रयास गर्‍यो।

त्यहीबाट विराटनगर केही बेर तनावग्रस्त बन्यो। आक्रोशित भीडले अवरोधक हटाउन माग गर्दै प्रहरीमाथि ढुंगामुढा गर्न सुरु गरेका थिए। करिब आधा घण्टा प्र्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्याँस र पानीको फोहोरा पनि प्रहार गरेका थिए।

रोडशेष चोक तनावग्रस्त भएपछि आन्दोलनरतपक्षले महेन्द्र चोकमा श्रद्धाञ्जलि सभा गरेका थिए। श्रद्धाञ्जलिसभापछि लिम्बूको शव अन्येष्टिका लागि मोरङको बेलबारीस्थित उनको घरमा लगिएको थियो।

शवयात्रा भन्ने थाहा हुँदाहुँदै पनि सरकारले बाटो छेकेको पहिचान पक्षधरको आरोप छ। शान्तिपूर्ण ढंगले र्‍याली गर्ने भन्दाभन्दै पनि सरकारको बाटो छेक्ने प्रयासले पनि भीडको आक्रोश अनियन्त्रित भएको पहिचान पक्षधरका नेताहरू बताउँछन्।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम बहुमतका आधारमा कोशी पारित गरेसँगै यतिवेला प्रदेश नम्बर १ पुनः नामाङ्कन संघर्ष समिति गठन गरी आन्दोलनरत छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.