|
फाइल तस्वीर

विराटनगर :  ‘शान्तिपूर्ण शव यात्रा गर्ने भन्दाभन्दै प्रहरीले बाटो किन छेक्नु?‚’ भन्दै हुइँकिएर आएको गाडीबाट ओर्लिएर प्रहरीतर्फ लागे लिम्बूवान भोलेन्टियरका युवाहरु। उनीहरु चढेको गाडीभन्दा पछाडि आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव राखिएको एम्बुलेन्स थियो।

उनै लिम्बूको शव यात्राका क्रममा विराटनगरमा झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भए। प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा शनिबार दिउँसो रोडशेष चोक क्षेत्र एकाएक तनावग्रस्त भयो।

आजभोलि रोडशेष चोक आन्दोलन गर्ने थलो नै बनेको छ भन्दा फरक पर्दैन। शव यात्राकै क्रममा आन्दोलनकारी पक्ष आक्रोशित ढंगबाट आउला भन्ने कुनै अपेक्षासमेत नगरेको ड्युटीमा खटिएका प्रहरीहरुको भनाई थियो। शव यात्रा भएकै कारण पनि प्रहरी, प्रशासनले संयमता अपनाएको आन्दोलनमा खटिएका एक प्रहरी अधिकृतले बताए।

‘उहाँहरु त शान्तिपूर्ण तरिकाले आउने भन्ने थियो, हामी धेरै संयमित भएका हौं, उहाँहरुसँग शव साथमा थियो अशान्ति चाहेका हैनौँ,’ ती अधिकृतले भने, ‘तर उहाँहरु आक्रामक ढंगले प्रस्तुत हुनुभयो।’

झडपका क्रममा नेपाल प्रहरीका ३ जना र सशस्त्र प्रहरीका ३ जना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ। आन्दोलनरत पक्षका पनि ६ जना घाइते भएको किरात राई यायोख्खाकी सचिव कुन्ता राईले जानकारी दिइन्।

प्रहरीले प्रदर्शनकारी तितरबितर पार्न ८१ सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

अनियन्त्रित आक्रोश

आक्रोशित भीडलाई आन्दोलनरत पक्षको नेतृत्वले रोक्न खोज्दासमेत नियन्त्रणमा आउने अवस्था थिएन। यद्यपि करिब आधा घण्टाको झडपपछि स्थिति नियन्त्रणमा आएको थियो।

इटहरीदेखि विराटनगरसम्म आइपुग्दा सुरक्षाको क्षेत्रमा केही असहज नदेखिएको विराटनगर आइपुग्दा राष्ट्रिय शहीदको शव यात्रामा सरकारले निषेधित क्षेत्र तोक्नु असहज देखिएको किरात याक्थुङ चुम्लुङको केन्द्रीय अध्यक्ष प्रेम याक्तेन बताउँछन्।

सरकारले घोषणा गरेको राष्ट्रिय शहीदको शव यात्रामा सरकारले निषेधित क्षेत्र तोकेर बाटो छेकेर जनतालाई आक्रोशित गराउनु  नै गलत रहको उनको भनाई थियो।

‘शान्तिपूर्ण तरिकाले शव यात्रा गर्न दिनुपर्ने थियो,’ उनले भने, ‘एउटा शहीदको शवलाई यात्रा गराउँदा घरको छतमा चढेर फायरिङ गर्नु राज्य भिड्न तयार भएको जस्तो देखियो‚ राज्यले त्यस्तो गर्नु हुँदैनथ्यो।’

उठेको एजेण्डालाई राज्यले सम्बोधन गर्ने भन्दा पनि गोलीगठ्ठा बलियो बनाउने रणनीतिक तरिकाले चेन्ज गर्नु राम्रो नभएको उनले बताए। राज्यले कुनै खालको पहल नगर्ने र आन्दोलनलाई बेवास्ता गरेर जेसुकै गर भन्ने खालको धारणा रहे आन्दोलन नरोकिने दावी उनले गरे।

वैशाख १० गतेसम्मको अल्टिमेटम दिँदासमेत सरकारले बेवास्ता गरेको र छलफल  नगरेको र प्रक्रियामा लग्नलाई संसदसमेत आह्वान नगरेको बताउँदै उनले अझ सरकार पक्षले गैर जिम्मेवार काम गरिरहेको उनले बताए।

उनले भने, ‘यो आन्दोलन सरकारलाई जिस्क्याउन मात्रै गरिएको विषय होइन, त्यसैले आन्दोलन रोकिँदैन, अगाडि बढ्छ।’

आन्दोलनमा भएका गतिविधिलाई अराजकता भन्न नहुने र आन्दोलनमा यस्तो हुनु स्वाभाविकै रहेको पत्रकार एवम् विश्लेषक भवानी बराल बताउँछन्। शव यात्रामा प्रहरी ज्यादती भएको दावी गर्दै उनले भने, ‘प्रहरीले शव यात्रालाई बाधा दिनु हुन्न थियो।’

राज्यले अझै पनि आन्दोलनको कुनै सुनुवाइ नगर्दा आन्दोलनकारीमा हतासा, आक्रोश र उकुसमुकुस बढ्दै गएको लेखक एवम् कवि स्वप्निल स्मृति बताउँछन्।

राज्य हाम्रो पनि हो भन्ने अपनत्वको महसुस गराउन नसकेको खण्डमा जे पनि गर्न तैयार हुने मनोविज्ञान निर्माण भएर जाने बताउँदै उनले राज्य संवेदनशील हुनुपर्नेमा जोड दिए । 

केन्द्रको पर्खाइमा प्रदेश सरकार

यता,  पुनः नामकरणको माग राख्दै चर्किँदै गरेको आन्दोलनका विषयलाई कसरी सुल्झाउने भन्नेबारे प्रदेश सरकार केन्द्रको मुख ताकेर बसेको छ।

चैत ५ गते कोशी प्रदेश पुनः नामकरणको माग राख्दै विराटनगरको आन्दोलनमा घाइते भई उपचारको क्रममा लाजेहाङको मृत्यु भएपछि केन्द्रबाट गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

सोहीअनुसार केन्द्रको रिपोर्ट पर्खेर त्यसपछि वार्तामा जाने या के गर्ने भन्ने टुंगो हुने कोशी प्रदेश सरकारका प्रवक्ता एवम् कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले बताए।

उनले हिंसात्मक ढंगबाट वार्तामा खलल पुग्ने बताउँदै आन्दोलनलाई गम्भिरतापूर्वक लिएको बताए। शान्तिपूर्ण ढंगबाट निकास आउने ठाउँमा समस्याको समाधान बन्दुकको ब्यारेलबाट नहुने बताए। उनले आन्दोलन पक्षलाई हिंसात्मक ढंगले अगाडि नबढ्नसमेत अनुरोध गरेका छन्।

‘आन्दोलनकारी पक्षलाई हिंसात्मक ढंगले अगाडि नबढ्न अनुरोध गर्छु, संवैधानिक ढंगले अगाडि बढ्दा संविधानभित्रबाट नै समस्याको समाधान आउँछ,’ उनले भने, ‘अहिले भइरहेको आन्दोलनलाई केन्द्रले छानबिन आयोग बनाएर काम गरिरहेका छ त्यसको रिपोर्ट आएको छैन, त्यसको रिपोर्ट आएपछि वार्तामा जाने या के गर्ने भन्ने हुन्छ ।’

आन्दोलनलाई नजिकबाट हेरिरहेको बताउँदै उनले राजनीतिक कुरा रहेको र शान्तिपूर्ण ढंगले वार्तामा जानुपर्नेमा जोड दिए।

‘यो राजनीतिक वार्ता हो, मान्छेका सहमति असहमति हुन्छन्, असहमति संविधानले व्यवस्था गरेको विषय हो‚’ उनले भने, ‘कुनै पनि विषयमा असहमति राख्न पाइन्छ, कानुनको दायरा उल्लंघन नगरी शान्तिपूर्ण ढंगले उहाँहरुले आफ्नो कुरा राख्दा हुन्छ यसलाई हामीले गहिरिएर लिएका छौँ।’

गत चैत ५ गते विराटनगरमा पुनः नामकरणको माग राख्दै भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएका उनलाई चैत २४ को मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरेको थियो। शहीद घोषणा गरेपछि लिम्बूको शव शनिबार मोरङस्थित बेलबारीमा अन्तिम दाहसंस्कार गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.