|

विराटनगर : पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र टिकटक व्यक्तिगत होस् या संस्थागत गतिविधि सार्वजनिक गर्ने राम्रो ‘प्लाटफम’ बनेको छ। यहाँ सम्प्रेषण भएका केही सामग्री प्रेरणादायी हुन्छन् त केही समाजलाई तरंगित बनाउने खालका हुन्छन्।

यस्तै केही दिनअघि सामाजिक सञ्जालमा विद्यालयमा केही विद्यार्थीहरू एकापसमा झगडा गरेको भिडियो सार्वजनिक भयो। एक हुल छात्राले एक्ली किशोरीलाई कुटपिट गरेको दृश्य देख्न सकिन्थ्यो। घटना मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कालिका माविको हो। वैशाख ६ गते भएको घटनामा कक्षा ८ मा पढ्ने १४ वर्षीया नीता (नाम परिवर्तन)लाई सोही स्कुलमा अध्ययनरत माथ्लो कक्षाका छात्राले झापड हानेकी थिए।

के थियो झगडाको कारण ?

झगडाको कारण थियो पीडित नीता कुनै किशोरसँग बोलको। किशोरसँग किन बोलेको भन्दै ती किशोरीले नीतालाई झापड हानेकी थिइन्। एक्कासी पिटाइ खाँदा नीता जवाफविहीन बनिन्।

जवाफमा उनले भनेकी थिइन्, ‘म हैन ऊ आफै बोलेको हो।’ उनीमाथि आइलाग्ने ती एक्ली किशोरी मात्रै थिइनन्। उनीसँग १३ जनाको समूह थियो। त्यही समूहले जथाभावी गालीगलौजसँगै शारीरिक पीडा पनि दिए।

त्यसो त पीडित किशोरीलाई मात्र नभएर उनकी आमालाई समेत त्यो समूहले अनेक लाञ्छना लगाएको थियो। त्यो आक्रामक भीडमा उनी निरुत्तर भइन्। न प्रतिकार गर्न सकिन् न कुनै जवाफ नै फर्काउन नै सकिन्।

भिडियो सार्वजनिक भएपछि उजुरी
कुट्न थालेको भिडियो त्यहीमध्येकै एक किशोरीले खिचेकी थिइन् भने त्यही समूहबाट भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

छोरीमाथि सामूहिक रूपमा आक्रमण भएपछि नीताकी आमाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ‘ज्यान मार्ने उद्योग’को जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रहरीले पीडित किशोरीलाई कुटपिट गर्ने १३ जनालाई वैशाख ११ गते नियन्त्रणमा लिएको छ। घाइते किशोरीको बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कक्षा ८ देखि कक्षा १० सम्मका किशोरीहरू रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार सोमबार जिल्ला अदालतबाट म्याद थप गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.