|

पर्वत :  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिँदै छन्। 

मुख्यमन्त्री पाण्डेले शुक्रबार मध्याह्न सवा १२ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारी भइरहेको छ भने दुई दलबीच मन्त्रालय बाँडफाँटको कुरा कसरी निष्कर्षमा पुर्‍याउने  भन्ने  चिन्ता पनि छ। 

एमाले नेतृत्वको सरकार ढलेपछि गण्डकी प्रदेशको मुख्यमन्त्री कांग्रेस वा माओवादीले पाउने निश्चित भएको बेलामा कसले पहिले नेतृत्व गर्ने भन्ने विषयमा समझदारी बन्न समय लाग्यो। कांग्रेस संसदीय दलका नेता पाण्डे र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान दुवैले आफू पहिले मुख्यमन्त्री बन्नुपर्ने अडान राख्दै आएकोमा केन्द्रका नेताको निर्देशन अनुसार उनीहरूबीचको विवाद टुङ्गियो।

मुख्यमन्त्रीको विषय टुङ्गिए पनि दुई दलबीच मन्त्रालय बाँडफाँडको कुरा त्यति सहज छैन। विगतमा १२ वटासम्म मन्त्रालय रहेको गण्डकी प्रदेशमा निवर्तमान मुख्यमन्त्री अधिकारीले सातमा सीमित गरेका कारण बाँडफाँडमा सहजै कुरा मिल्ने सम्भावना देखिँदैन। त्यसमा पनि मनाङबाट स्वतन्त्र रूपमा चुवान लडेर पछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङले पनि सरकारमा जान चाहेको अवस्थामा उनलाई एक मन्त्रालय दिनुपर्ने अवस्था छ।

गण्डकी प्रदेश सरकार स्थापनाको वेलामा एमालेका पृथ्वी सुब्बा गुरुङलाई सघाएको भए पनि त्यसपछि नेपाली कांग्रेसका तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार निर्माण गर्न मनाङेले सघाए, खेलकुद मन्त्री पनि पाए। कांग्रेस माओवादी सम्मिलित गठबन्धनमा एकीकृत समाजवादी पनि हुनु तथा विगतमा कांग्रेसकै मुख्यमन्त्री रहेको बेलामा प्रदेश सरकारका मन्त्री बनेकाले मनाङे यो पटक पनि मन्त्री बन्न सक्ने सम्भावना छ।

थाहाखबरसँगको कुराकानीमा माओवादी संसदीय दलका नेता चुमानले मनाङे पनि सरकारमा सहभागी हुने कुरा आफूले बुझेको बताए। ‘मनाङेजी को पनि सरकारमा जाने कुरा त चलेको छ। उहाँहरू पनि सहभागी हुने भन्ने कुरा बुझिरहेको छु मैले। मन्त्रालयको बाँडफाँड कसरी हुन्छ त्यही अनुसार उहाँहरूको पनि सहभागिता रहला भन्ने नै मैले सोचेको छु’, उनले भने।

मन्त्रीहरू धेरै हुँदा देशको ढुकुटी दोहन भएकाले प्रदेश सरकार खारेजीको कुरा समेत नागरिकबाट चर्को स्वरमा आएपछि निवर्तमान मुख्यमन्त्री अधिकारीले मन्त्रालयको सङ्ख्या घटाएका थिए। ६० सदस्यीय गण्डकी प्रदेश सभामा काँग्रेसका २७ जना र माओवादीका सात जना (सभामुख बाहेक) सांसदहरू रहेका छन्। 

मौका पाएको बेलामा मन्त्री बन्ने रहर दुवै दलका सांसदलाई छ तर मन्त्रालयको सङ्ख्या कम रहेकाले इच्छुक सबैले मौका नपाउने पनि निश्चित छ। त्यसमा पनि बाँडफाँटमा कुन दलले कति मन्त्रालय पाउने भन्ने समेत यकिन नभएकाले मन्त्रालय बाँडफाँटको कुरा मिलाउन दलहरूमा सकस पर्ने देखिएको छ।

माओवादी संसदीय दलका नेता चुमानले मन्त्रालयको बाँडफाँडमा टुङ्गो लगाउन छलफल जारी रहेको बताउँदै सकेसम्म शुक्रवार नै यो कुरालाई निष्कर्षमा पुर्याउने प्रयासमा रहेको बताए। शुक्रबार कुनै हालतमा कुरा नमिलेमा शनिबारसम्ममा बाँडफाँटको कुरा सकेर सरकार विस्तारको काम हुने उनले बताए।
‘मन्त्रालय बाँडफाँडको कुरा सकेसम्म आज नै टुङ्गो लगाउने प्रयासमा जुट्ने छौँ’, उनले भने, ‘आज निष्कर्षमा पुग्न सकिएन भने पनि भोलिसम्ममा सरकार विस्तारको काम गर्नुपर्छ। आज सवा १२ बजे मुख्यमन्त्रीको शपथ ग्रहण भएपछि फेरि छलफल गरेर टुङ्गिन सक्ने विषयको टुङ्गो लगाउने छौँ। नटुङ्गिने विषय आएमा थप छलफल गरेर क्रमिक रूपमा अगाडि बढ्ने छौँ।’

दुई दलका मुख्य नेताहरू मात्रै बसेर मन्त्रालय बाँडफाँटको निर्णय गरेर आफ्ना दलमा सुनाउँदा कसैले अस्वीकार पनि गर्न सक्ने भएकाले दुई दलबीचको निष्कर्षलाई आ–आफ्ना दलमा पनि लगेर छलफल गर्ने उनले जानकारी दिए। हाल कायम रहेका सात मन्त्रालयमा घटबढ नहुने भएकाले यिनै मन्त्रालयमा सबैको चित्त बुझाउन नसकिने भएकाले पनि गठबन्धन र आफ्ना दलहरूमा पनि प्रशस्त छलफल हुनुपर्ने उनको भनाइ छ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय अनुसार गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको हो। दुई दलका केन्द्रीय नेताहरूबीच आलोपालो सरकार सञ्चालन गर्ने सहमति बनेको भए पनि प्रदेशमा कांग्रेस र माओवादीको हठका कारण बिहीबार दिउँसोसम्म पनि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय अलमलमा नै थियो। तर केन्द्रीय नेताहरूको समझदारी अनुसार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो नेतृत्व कांग्रेसलाई दिन सहमत भएपछि प्रदेश प्रमुखले दिएको समयसीमा अगावै बहुमत सदस्यको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

६० सदस्यीय गण्डकी प्रदेश सभामा काँग्रेसका २७, एमालेका २२, माओवादीका सात (सभामुख बाहेक), राप्रपाका दुई र नेकपा एकीकृत समाजवादीका एक सांसद छन्। 

गत वैशाख नौ गते निवर्तमान मुख्यमन्त्री नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.