|

काठमाडौं : विगत ३५ वदेखि नेपाली ठेट गीतको गायनमा व्‍यस्त लोकगायिका इन्दिरा गोलेको जीवन गीतजस्तै आरोह–अवरोहपूर्ण छ। विभिन्न भाषा, भाका र भेगका ५ हजारभन्दा धेरै गीतमा स्वर भरेकी उनीसँग थाहाकर्मी ओम भण्डारीले गरेको  कुराकानीको सम्पादित अंश :

हालखबर कस्तो छ?

बिरामी छु, उपचार भइरहेकाले अचेल थोरै मात्र गाउछु। नगरी नहुने रेकर्डको कामबाहेक आराममा छु।

धेरै कलाकारको झैं आफ्नो स्टडियो र कम्पनी छैन?

पहिला संगम स्टुडियोमा साझेदारी थियो, छोडेँ। स्टुडियो, गीतको कम्पनी खोल्नतिर लागिनँ। कलाकारले गीतको व्‍यापार गर्ने पसल नखोलेकै राम्रो।

यहाँको गीत रेकर्ड हुन थालेको कहिलेबाट हो? पहिलो गीत कुन हो?

विक्रम संवत २०४५ सालबाट हो, ३५ वर्ष भयो। रेडियो नेपालले कार्टेजमा रेकर्ड गरेको थियो। ‘हातमा हँसिया कम्बरमा खुर्पेटो, घाँसै काटौँ न, तर्की–तर्की नहिँड निरमाया सँगै बसौँ न’ गीत मेरो पहिलो रेकर्डको गीत हो।

मेनुका राईको संकलनमा मेनुका राई र मैले गाएका थियौँ। गणेश परियारले हारमोनियम र सुन्दर श्रेष्ठले मादल बजाउनुभएको थियो भने बासुदेव रायमाझीले रेकर्ड गर्नुभएको हो।

दुईवटा गीत रेकर्ड गरेका थियौँ, गाएको एकसय र संकलनको एकसय गरेर दुई–दुई सय रुपैयाँ रेडियोले पारिश्रमिक दियो।

गीतको पैसो पाँउदा ज्यादै खुसी भयौँ। त्यही हौसलाले गीत गायनमै लागिरहन मलाई प्रेरणा मिल्यो। पहिलोपल्ट गीत गाएको पैसो पाँउदा दंग भएकी थिएँ

कसरी रेडियो नेपाल पुग्नुभयो? स्वर परक्षा पा गर्नुपरेन?

२०४५ सालको बालाचतुर्दशीमा पशुपतिनाथको मेलामा अरूअरू जस्तै म पनि दोहोरी गीत गाउन आएकी थिएँ।

लामो समय दोहोरी गायौँ, रेडियो नेपालले राम्रो स्वर भएकालाई खोजेर गीत गाउन लैजाँदो रहेछ। रेडियो नेपाल आफैँले छानेर लगेको हुनाले स्वर परीक्षा दिनुपरेन। राम्रो स्वर भएका कलाकार खोजीखोजी रेडियोमा लैजाने चलन रहेछ।

तपाईंको जन्म थलो र कर्मथलो कहाँ हो?

जन्मठाउँ ललितपुर जिल्ला हालको कोञ्जोस्योम गाउँपालिका साबिकको भारदेउ गाविस। कर्मघर रुपन्देही भैरहवा हो तर अब,  मेरो कर्म घर छैन। पूर्ण गुरुङसँग विवाह गरेकी थिएँ, उहाँले अर्को विवाह गरेपछिे, सम्बन्धबिच्छेद गरेर म अलग बसेको पनि १० वर्ष भइसक्यो। मेरो जीवन उतारचढावपूर्ण छ।

वैवाहिक जीवन सन्तोषजनक भएनछ, कतिको दुःख लाग्छ?

अँ, दाम्पत्य जीवन खासै सन्तोषको भएन। एक्लै बस्न कसैलाई रहर हुँदैन, बाध्यताले त्यसो गर्नुपरेको हो।

श्रीमानले अर्को विवाह गरेपछि सँगै बस्न सकिनँ, हाम्रा दुईजना छोरी छन्। मेरो नागरिकतामा गुरुङ थर छैन तर गुरुङ नजोड्दा छोरीहरूले मन दुखाउँछन् त्यसैले इन्दिरा गोले गुरुङ नै भन्छन्।

जीवन संघर्ष हो भन्ने बुझेँ, दुःखलाई साथी सम्झेर सन्तोषकै जीवन बाँचेको छु।

 दुःख सुख के रहेछ?  हाँसो र आँसुको मात्रा कति छ?

दुःख नभोगे सुखको अनुभूति हुँदैन। दुःख धेरै भोगेको हुनाले कहिलेकाहीँ मिठो सुखको पनि अनुभव गर्न पाएँ। विगत सम्झेर दुःख मानिनँ र मान्दिनँ। हाँसो थोरै, आँसु धेरै भए पनि खुसीले बाँच्न जानेकी छु।

गीत गाउने प्रेरणा कसरी प्राप्त भयो?

जन्मठाउँ ललितपुर भारदेउको समाज, संस्कृति, पाखापर्वत, दाउरा घाँस, मेलापर्व र तत्कालीन समयमा रेडियोमा बजेका गीत। आफ्नै दाजु धने दाइ गाउँमा तरुनीहरूसँग दोहोरी खेल्ने तर हार्ने, दाइले हारेको म सहन नसक्ने। दाइलाई जिताउन जान्थेँ,  दाइ र म भएपछि दाइले सधैँ जित्थ्यो। गाउँका मात्र होइनन् दोहोरी खेल्न फर्पिङदेखि काभ्रे भञ्ज्याङदेखि मान्छेहरू आउँथे म सबैलाइ जितेर पठाइदिन्थेँ।

चाडबाड, मेलापर्व विवाह, छेवर, पूजा घरगाउँका सबै कार्यक्रमहरुमा दोहरी खेल्ने हुटहुटीले गीतमा लत बसायो।

हर चाहिँ किन आउनु भो, गीतै गाउन?

हाम्रो गाउँको विद्यालयमा कक्षा ६ सम्म मात्र पढाइ हुन्थ्यो, थप पढ्न तीन घण्टा हिँडेर लेले झर्नु पर्दथ्यो।

छोरीलाई पढाउन पर्दैन भन्ने त्यो बेला तीन घण्टा जंगलको बाटो बाबाले छोरीलाई सुरक्षा हुँदैन भनेर पठाउनुभएन। छोरीले पढ्ने भनेको ६ कक्षासम्म मात्र थियो। छोरालाई डेरा राखेर, सहर लगेर पनि पढाउँथे। सहरमा गलैँचा बुनेर पैसा कमाइन्छ भन्ने सुनेर आएकी हुँ। गीत रेकर्ड त पछि भएको, मैले लामो समयसम्म काठमाडौंमा गलैँचा बुनेकी छु।

गीतले तपाईंला कहाँकहाँसम्म पुर्‍यायो?

नेपालका प्राय सबै जिल्ला पुगेकी छु। अष्ट्रेलिया, जापान, कोरिया, मलेसीया, सिंगापुर, कतार, दुबई, ओमन, बहराइनदेखि इराकसम्म पुगेँ।

युरोपका र खाडीका सबै देशमा घुमेको छु। मलाई गीतैले विश्व घुमायो। आफूलाई भाग्यमानी ठान्दछु।

तपाईंको गीतहरु कति भए। नेपाली भाषाका कि तामाङ भाषाका गीतहरु धेरै छन?

मैले स्वर दिएका गीतहरु पाँचहजार भए होलान्, तीन भागमा दुई भाग नेपाली भाषाको र एक भाग तामाङ भाषाका छन्। २०५० सालदेखि २०६८ सालसम्म मलाई गीत गाउन भ्याई नभ्याई नै थियो। एउटा एल्बममा ३-४ वटा गीत हुन्थे, कुनै दिनमा चारवटा एल्बममा समेत गीत गाएकी छु।

रू भाषा र अरू ठाउका गीत पनि गाउनुभयो?

तामाङ, नेपाली र अन्य केही भाषामा पनि गीत गाको छु। पूर्व–पश्चिमका सबै गीत गाएँ। डेउडा गीत गाउन चैं निकै अप्ठेरो भएको थियो, तर डेउडा गीतहरु पनि खुबै लोकप्रिय छन्।

सुरुमा गाएको डेउडा भोजराज भट्टसँग ‘हिँड साली लेकिन माडा खाई जौपात, लौ मैले क्याभणे भणबाज’ हो। एक सय जति एल्बममा देउडा गीत गाएकी छु।

एउटा एल्बममा तीन चार गीत हुन्थे त्यो हिसाबले मैले तीनचार सय देउडा गीतमा पनि स्वर दिएँ होला। सबैभन्दा धेरै दोहारी गीतहरु गाएँ, काँठको हावापानीमा हुर्केको भएर काँठका गीत र तामाङ भएकाले होला सेलो गीतहरु अरूभन्दा सजिलो लाग्छ।

 गीत गाउने काम सजिलो भन्छनि?

गाह्रो हुन्छ नि। तीस चालीस मिनेटका क्यासेट हुन्थे, तीन चारवटा क्यारसेटमा दिनभरि गीत गाएर बेलुका घर फर्किंदा सीता थापा बहिनी र म हुर्रहुर्रिँदै घर पुग्थ्यौँ। कमजोर महसुस हुन्थ्यो। हेर्दा र सुन्दा जति सजिलो छ गाउँदा छैन।

 गीत गाउन सिक्नु, पढ्नु पनि भयो?

पहिला नसिकी गाएको, गाउन थालेको दश पन्ध्र वर्षपछि संगीतको आधारभूत स्तरको पढाइ पढेँ। सिक्नु पढ्नु र नपढी नसिकी गाउनुमा धेरै फरक रहेछ।

हार्मोनियममा दैनिकजसो घरैमा अभ्यास गर्ने गरेको छु। योबिना एकदिन पनि बाँच्न सक्दिनँ होला।

गीतबाट के पाउनुभयो?

श्रोता–दर्शकको माया पाएँ, ठूलो सम्पत्ति त्यही हो। आज मैले बाँचेको जीवन मलाई गीतले नै दिएको हो।

सम्मान, पुरस्कार पाएँ, कहिल्यै भोको बस्नु परेन, अभावको महसुस गर्न परेन। सारा खुसी गीतले दिएको हो।

गीतको पारिश्रमिक कति हो, कतिसम्म लिनुभयो तपाईंले?

स्टुडियोमा एउटाको १०-१५ हजार लिन्छु, मञ्चमा गाएको ३०-४० हजार लिन्छु। एल्बम चल्ने बेलामा एउटा एल्बमको दुवै साइडको चार हजारसम्म पाइन्थ्यो। हामीले गाएको गीतको व्‍यापारले धेरै पैसा कमाए तर कतिले रुपैयाँ पनि दिएनन्।

भर्खरै एकजनाले ‘तिमीलाई डढाउन तीन हजारको दाउरा भए पुग्छ’  भनेर तीन हजार दिएर हिँडे छक्क परेँ,  अनेक भोगाइ र सम्झनाहरू छन्।

लोकगीत भनेको के हो?

बाँच्ने आधार, अरूसामु चिनाउने पनि हो। खाना, पानी, हावा जस्तै छ लोकगीत। रुने–हाँस्ने लोकगीत, हाम्रो ढुकढुकी,पहिचान हो।

यस्तो राम्रो लोकगीतला अचेल विकृतिविगतिले गाँज्यो भन्छन् नि?

नराम्रो नभए राम्रोको महत्व हुँदैन,  झन् राम्रो हुन केही नराम्रो हुनुपर्छ अचेल त्यही भएको हो। नेपाली लोकगीतलाई कसैले मासेर, फोहोर बनाएर मासिने वा फोहोर हुने होइन।

यो हिमनदी कहिलेकाहीँ खहरे उर्लिंदा छेकिएको जस्तो भए पनि सदावहार रूपमा सङ्लो भई बगिरहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.