|

विराटनगर : मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले प्रतिबद्धताअनुसार काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता भङ्ग गराउने चेतावनी दिएका छन्।

यसअघि साउनमा यस्तै छलफल आयोजना गरेर ठेकेदार कम्पनीले जनाएको प्रतिबद्धता पूरा नभएपछि स्थानीय प्रशासनले ‘काम गर्ने की छोड्ने’ भन्ने प्रश्न गरेको हो।

ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले भत्काएर लथालिङ्ग पारेपछि समयमै काम नगर्दा त्यसको असर नागरिकमा परेको भन्दै स्थानीय तहका जनप्रतिनिधिले तीव्र दबाब दिँदै आएका छन्।

मोरङ जिल्लामा निर्माणाधीन ९६ किलोमिटर हुलाकी राजमार्गको काम नभएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले तीव्र असन्तुष्टि पोखेका हुन्।

जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा सोमबार भएको ५ स्थानीय तहका जनप्रतिनिधि, ठेकेदार कम्पनी र आयोजना कार्यान्वयन इकाईका प्रतिनिधिबीच छलफल गरिएको छ।

छलफलमा रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह, रंगेलीका दिलिप बगडिया, सुनवर्षीका राजकुमार राजबंशी, कटहरीका देवराज चौधरीसहित हुलाकी योजना कार्यालय इटहरीका प्रमुख विजय थापालगायतको उपस्थिति रहेको थियो।

विराटनगर–रंगेली सडकखण्ड भत्काएर हुलाकी राजमार्ग विस्तार सुरु गरिए पनि काम नगरि ठेकेदार हराएपछि अहिले सर्वसाधारणको दबाबमा स्थानीय तहका जनप्रतिनिधि, प्रदेशका सांसद र संघका सांसद परेका छन्। 

संघीय सरकारको योजना भएका कारण स्थानीय प्रशासनमार्फत ठेकेदारलाई तत्काल काममा फर्काउन उनीहरुले पहल लिईरहेका हुन्।

मोरङमा कुल ९६ किलोमिटर लम्बाईको हुलाकी राजमार्ग निमार्णको चरणमा छ। सात च्यानेलमा ठेक्का लगाइएको ४४ किलोमिटरको रतुवा–केशलिया सडक, ३० किलोमिटरको गान्धी-मनमोहन मार्ग, २२ किलोमिटरको कानेपोखरी–रङ्गेली सडक र ३.५ किलोमिटरको विराटनगर–केशलिया सडक पर्छ। ​यसमध्ये कानेपोखरी–रंगेली २२ किलोमिटर मात्र निर्माण भएको छ।

मोरङको रतुवा–केशलिया सडकखण्ड ४४ किलोमिटरमध्ये रतुवामाईदेखि झुंगीटोलसम्मको १६.५ किलोमिटर सडकखण्डको काम अहिले भईरहेको छ। यसको बाँकी काम यसैवर्ष भित्र सकिने सम्झौतामा उल्लेख छ। 

यसैगरी झुंगिटोलबाट ७.६ किलोमिटर सडक सम्पन्न भएको छ। बेतौनादेखि विराटनगरसम्मको १८ किलोमिटरमा दुईवटा ठेक्का रहेका छन्। जसको काम एक महिनादेखि रोकिएको हुलाकी सडक योजना कार्यालय इटहरीका प्रमुख थापाले जानकारी दिए।

यसैगरी हुलाकी उत्तर–दक्षिणअन्तर्गत गान्धी-मनमोहन सडक (पथरी–रंगेली–सीमा क्षेत्र)सम्मको ३० किलोमिटरको दुई ठेक्काको काम ७ महिनादेखि अवरुद्ध छ।

पि.एस/गजुरमुखी/मोतिदान जेभीले ठेक्का लिएको सडकमा पछिल्लो ३ वर्षमा काम राम्रो नगरेको आरोप रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले लगाए।

यसैगरी रतुवा–केशलिया सडकखण्डको बेतौनादेखि कटहरीको नयाँ बजारसम्मको ११.९ किलोमिटर सडकखण्डको अवस्थासमेत उस्तै रहेको छ। 

२०७६ कात्तिक २४ मा सम्झौता भएको सडकको भौतिक प्रगति २५ प्रतिशत मात्रै छ। चालू आवमा सक्नुपर्ने सडक ७७ करोडको लागतमा निर्माण सम्झौता भएको छ।

यसैगरी झुँगी टोलदेखि बेतौनासम्मको ७.६ किलोमिटर सडकखण्ड भने कालोपत्रे भईसकेको योजना प्रमुख थापाले जानकारी दिए।

कटहरीदेखि विराटनगरसम्मको ६ किलोमिटरमा १५ प्रतिशत, गान्धी मनमोहन मार्ग अन्तर्गत पथरी–डाँसपुल र डाँसपुल–रङ्गेलीसम्मको ३० किलोमिटरको ३० प्रतिशत काम भएको छ। 

विराटनगरको गणेशचोक–केशलिया खोलासम्मको ३.१९ किलोमिटर सडकको भौतिक प्रगति १० प्रतिशत मात्रै छ। 

पि.एस.गजुरमुखीका सन्तोष गौतमले केही ढिलाई भए पनि बाँकी काम चाँडै सुरु गर्ने छलफलमा बताएका थिए।

तराई–मधेशका २१ जिल्लाहरु जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना आर्थिक वर्ष ०६२/६३ सालमा सुरु भएको हो। पूर्व–पश्चिम हुँदै तराईका बस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यसहित सुरु भएको राजमार्ग विस्तार ०७४/७५ मा सम्पन्न हुने अनुमान गरिएको थियो।

पूर्वको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको भूभाग जोड्ने यो सडक निर्माण मोरङमा भने अलमलमा परेको देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.