कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने प्रस्ताव

|

काठमाडौं : सरकारी (सामुदायिक) विद्यालयहरूले पछिल्लो समय छात्रछात्राहरूलाई दिवा खाजामा स्थानीय परिकारसँगै फलफूल खुवाउन थालेका छन्। अधिकांश विद्यालयले स्थानीय तहमा उत्पादित खाद्यान्नकै परिकार बनाएर खुवाउने गरेका छन्।

ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित श्री भगवती माध्यमिक विद्यालयले सुठुनी, इस्कुस, कोदोको खोलेलगायत परिकार बनाएर बालबालिकाहरूलाई खुवाउने गरेको छ। विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद बास्तोलाका अनुसार फरक समयमा फरक खाजा खुवाइन्छ।

उनले भने, ‘हामी कहिले चना, भुटेको भात, कहिले तरूल, समोसा, जेरीलगायत खुवाउँछौँ, बढी चाहिँ यहाँकै स्थानीय उत्पादित खाद्यान्न पकाएर खुवाउने गर्छौं।’

उनका अनुसार उक्त विद्यालयमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने कक्षा ६ सम्म करिब डेढ सय छात्रछात्रा अहिले छन्। यी विद्यार्थीहरू दिवा खाजा कार्यक्रमबाट लाभान्वित छन्।

स्थानीय परिकारसँगै केही विद्यालयले भने फलफूल पनि खाजामा दिने गरेका छन्। खाजामा अंगुर, काँक्रा, खरबुजा दिएका छन्। मोरङस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक देवराज सापकोटाले चना, भुजा, तरूल, फलफूल र स्थानीय परिकार खुवाउँदै आएको जानकारी दिए।

तर दिवा खाजाको लागि रकम थोरै हुँदा सधैं फलफूल किनेर खुवाउन भने सकस हुने गरेको उनले बताए। ‘अहिले सरकारले दिएको पैसाले सधैं त फलफूल किनेर खुवाउन सकिँदैन, धेरै महँगो छ फलफूल,’ उनले भने।

उनले अब स्रोत जुटाएर मासिक रूपमा मासु चिउरा खुवाउने तयारी पनि गरेको बताए। स्थानीय परिकार र फलफूल विद्यार्थीहरूलाई खुवाएको तस्बिरले अहिले सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ।

विद्यालयले स्थानीय परिकार खुवाउन थालेपछि यसको धेरैले प्रशंसासमेत गरेका छन्। विमलेन्द्र यादवले सामाजिक सञ्जालमा भनेका छन्, ‘स्वास्थ्य र पाैष्टिक तत्व खाजा यसरी नै निरन्तर रूपले चलिरहोस्।’ 

देवेन्द्र राना मगरले पनि यो खाजा उपयुक्त भएको बताएका छन्। ‘यो मौसमअनुसारको दिवा खाजा सही छ, सबै विद्यालयमा उपलब्ध भएसम्म यो खाजा दिनु उपयुक्त हुनेछ,’ उनले फेसबुकमा उल्लेख गरेका छन्।

स्थानीय कृषि उपजमा आधारित खाद्यान्न खुवाउनुपर्ने व्यवस्था 

सरकारी (सामुदायिक) विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका, २०७६ अनुसार दिवा खाजा कार्यक्रमको सुरूवात विसं १९६४ देखि सुरू भएको हो। त्यस बेला ३७ जिल्लामा सुरू भएको थियो। हाल ७७ वटा जिल्लामै दिवा खाजा कार्यक्रम सञ्चालन भएको छ।

कम्तीमा ३० प्रतिशत पोषण परिपूरक हुने विविधतामूलक आहार उपलब्ध गराएर विद्यालयमा बालबालिकाको स्वास्थ्य र पोषण स्थिति सुधार गर्ने, शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाइ सुधार गर्नेलगायत उद्देश्यले यो कार्यक्रम सुरू भएको हो। 

सरकारले २०७७ सालबाटै सरकारी विद्यालयहरूमा दिवा खाजाअन्तर्गत ‘जंकफुड’ हटाएर अनिवार्य पकाएरै खुवाउनुपर्ने निर्णय गरेको छ। जसअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भनेको छ, ‘दिवा खाजा व्यवस्था गर्दा बजारमा खरिद गरिएको जंकफुड नखुवाउने, सकेसम्म स्थानीय कृषि उपजमा आधारित खाद्यान्न, तरकारी, दूध, दही, माछा‚ मासु, फलफूललगायतका सामग्रीहरूबाट ताजा र पोषिलो दिवा खाजा खुवाउने व्यवस्था मिलाउनू।’

‘दिवा खाजाको रकम बढाउनुपर्छ’

सरकारले हालसम्म कक्षा ६ सम्म दिवा खाजा सेवा विस्तार गरेको छ। खाजाको व्यवस्थापनका लागि संघीय सरकारबाट सशर्त अनुदानका रूपमा कर्णालीका मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालिकोट जिल्लाका स्थानीय तहले प्रति विद्यार्थी दैनिक २० रूपैयाँका दरले तथा अन्य स्थानीय तहले प्रति विद्यार्थी दैनिक १५ रूपैयाँ दरले दिँदै आएका छन्।

यो रकम अपर्याप्त भएमा स्थानीय तहले थप स्रोतको व्यवस्थापन गर्न एवं विद्यालयका अभिभावक गैरसरकारी संघसंस्था वा अन्य निकायसँग लागत साझेदारी गर्ने व्यवस्था छ। तर सबै स्थानीय तहले थप रकम दिँदैन। जसकारण प्रति विद्यार्थी दैनिक १५ रूपैयाँले दिवा खाजा व्यवस्थापन गर्न सकस भएको प्रधानाध्यापकहरू बताउँछन्।

ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित श्री भगवती माविका  प्रधानाध्यापक बास्तोलाले यति रकमले भनेजस्तो खाजा खुवाउन नसकिने बताए। सरकारले रकम बढाए दिवा खाजा व्यवस्थापनमा धेरै सहज हुने उनी बताउँछन्। 

मोरङस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सापकोटा पनि दैनिक १५ रूपैयाँले खाजा व्यवस्थापनमा धौ धौ भएको बताउँछन्। ‘यति रकमले दिवा खाजा भ्याउँदै भ्याउँदैन नि, तैपनि हामी यतै थप स्रोत जुटाएर खाजा खुवाइरहेका छौँ,’ उनले भने, ‘सरकारले बजेट बढाउनु आवश्यक छ।’

उनका अनुसार त्रैमासिक रूपमा स्थानीय तहबाट खाजाका लागि रकम निकासा हुन्छ। यसअघि साढे ३ लाख रूपैयाँ स्थानीय तहबाट निकासा भएको उनले जानकारी दिए। उनका अनुसार उक्त विद्यालयमा ३ सय विद्यार्थी अध्ययनरत छन्।

दिवा खाजा कक्षा ८ सम्म विस्तार गर्ने प्रस्ताव

अहिले कक्षा ६ सम्म विस्तार भएको दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव गरेको छ। तर आगामी ०८०/८१ को बजेट सार्वजनिक भएपछि मात्रै आधिकारिक रुपमा थाहा हुने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए।

उनले भने, ‘गत वर्षको बजेट वक्तव्यमै ६ सम्म विस्तार गरिएकोमा क्रमशः कक्षा ८ सम्म दिवा खाजा कार्यक्रम विस्तार गर्ने भनिएको हो, नीति तथा कार्यक्रम पनि छ, त्यसैले यी आधारमा कक्षा ८ सम्म विस्तार हुन्छ भन्ने अपेक्षा गरेका छौँ, अहिले प्रकृयामै छ।’

दिवा खाजा कार्यक्रमको लागि बजेट बढेको छ छैन भन्ने प्रश्नमा उनले अहिले भन्न नसकिने बताए। ‘यसबारे अहिले भन्ने विषय भएन,बजेट आएपछि नै सबै कुरा थाहा हुन्छ,’ उनले भने।

शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार यो कार्यक्रमका लागि संघीय सरकारबाट वार्षिक रूपमा ९ अर्बभन्दा बढी बजेट स्थानीय तहमा वित्तिय हस्तान्तरण हुँदै आएको छ।

चालू आव ०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सामुदायिक विद्यालयका प्रारम्भिक विकासदेखि कक्षा ६ सम्म अध्ययनरत ३० लाखभन्दा बढी विद्यार्थी दिवा खाजा कार्यक्रमबाट लाभान्वित भएको सरकारको दाबी छ।

(याे पनि)


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.