यो वर्षको सुरुवातमा दुईवटा महत्वपूर्ण धार्मिकस्थल भ्रमणको अवसर जुट्यो। वैशाख अन्तिम साता ताप्लेजुङस्थित विश्व प्रसिद्ध पाथीभरा मन्दिर पुगेर काठमाडौँ फर्केलगत्तै दोलखा पुगेर कालीञ्चोक भवगतीको दर्शन गरियो।
भनिन्छ, भगवान एउटै हुन्। तर, यी दुई धार्मिकस्थलमा लगत्तै पुग्नु रहर गरेर मात्र हुँदैन अवसर पनि जुर्न पर्दोरहेछ।
देशको संघीय राजधानीबाट यी दुवै ठाउँ पुग्न फरक फरक यात्रा तय गर्नुपर्छ। तर, परिदृश्य र अनुभवका हिसाबले कालीञ्चोक र पाथीभरा धार्मिकस्थल दुवैमा धेरै समानता पाइँदो रहेछ।
बाह्रैमास हुस्सु कुहिरो लागिरहने, छिनछिनमा वर्षा भइरहने, हिमालजस्तै अग्लो चुचुरोमा पुग्दाको आनन्दानुभूति शब्दमा वर्णन गर्न सकिन्न।
सोचेका चिताएका मनोकांक्षा पूरा हुने विश्वासका साथ त्यहाँ पुगेका केहीका अनौठा अनुभूति पनि सुन्ने मौका मिल्यो। उकालो र कठिनपूर्ण यात्रा छिचोलेर मन्दिर पुग्ने भक्तजनहरूको ती देवी देवताहरूप्रति उच्च सम्मान र आशा सहजै देखिन्थ्यो।
कालीञ्चोक माताको दर्शन यात्रा
दोलखासम्मको यात्रा यसपटक मेरा लागि दोस्रो थियो। अघिल्लोपटक वर्षायामको समयमा म पहिलोपटक दोलखा पुगेको थिएँ।
त्यतिबेला निरन्तरको वर्षाले सडक हिलाम्मे भएको र जिप गाडीसमेत आधा बाटोसम्म जान कठिन हुने थाहा पाएपछि हामी नजिकैको भीमेश्वर मन्दिर दर्शन गरेर बसमै फर्किएका थियौँ।
यसपटक १ जेठमा काठमाडौंबाट करिब १३५ किलोमिटरको दूरीमा रहेको दोलखासम्म मोटरसाइकलमै यात्रा सुरु भयो। भक्तपुरबाट दिउँसो एक बजे सुरु भएको हाम्रो यात्रा करिब ५ घण्टापछि बास बस्ने ठाउँमा पुगेर रोकियो।
भोलिपल्ट बिहान करिब डेढ–दुई घण्टा ठाडो उकालो बाइकको यात्रा गर्दा एक दुई ठाउँमा असजिलो थियो। उकालोमा एक गिअरमै कुदाउनुपर्ने भएकाले इन्जिन तातिएर सेलाउनकै लागि केहीबेर रोक्ने र फेरि कुदाउने गर्दै निरन्तर अघि बढ्यौँ।
देउरालीसम्म पक्की र बाँकी सडक निर्माणाधीन अवस्थामा थियो। कालोपत्रे हुन बाँकी सडकमा ढुंगा बिछ्याइएको थियो। २१ किमी सडकमध्ये १५ किमी कालोपत्रे हुन बाँकी सडक पार गर्दै २ हजार ७ सय मिटर उचाइमा भएको कुरीमा पुग्यौँ।
कुरीमा पर्यटकका लागि बनेका साना साना घरजस्ता होटेल लगायतका संरचना निकै सुन्दर देखिन्थे। त्यहाँबाट ३ किलोमिटरको केबलकार यात्रा ३ मिनेटमा पूरा गरेर हामी समुद्र सतहबाट ३८ सय ४२ मिटरको उचाइमा रहेको कालीन्चोक भगवती मन्दिर परिसर पुग्यौँ।
भोलिपल्ट बिहान दोलखा बजारमा घाम लागे पनि उकालो सुरु भएपछि हुस्सु र कुहिरोले छोपिएको देखिन्थ्यो। मन्दिर पुग्दासम्म त वरिपरिका डाँडाकाँडा देख्न नसकिने भयो।
वरपरका हिमाल देख्न नपाए पनि उकालो हिँड्ने बाटो र मन्दिर परिसरमा हिउँ छुन पाउँदा मनै आनन्दित भयो। मन्दिर पुगिसकेपछिको आनन्द भने झन् छुट्टै थियो।
हामीले मध्यान्हमा कालीञ्चोक मन्दिर दर्शन गर्यौ र दोलखा बजार झरेर पुनः दोस्रोपटक भीमेश्वर दर्शन गरेर काठमाडौँ फर्कियौँ।
करिब ८० किलोमिटरभन्दा धेरै पार गरिसकेपछि दोलालघाटबाट वर्षा सुरु भयो तर हाम्रो यात्रा रोकिएन। बेलुकी नै भक्तपुर आइपुगियो।
पाथीभरा मन्दिर
वैशाखको अन्तिम साता मात्रै पनि मलाई पूर्वी नेपालको ताप्लेजुङस्थित पाथीभरा मन्दिर पुग्ने अवसर मिल्यो। लामो बाटो भएकाले त्यसबेला सार्वजनिक सवारीमै यात्रा गर्ने योजना बनाइयो। २२ वैशाखमा कोटेश्वरबाट माइक्रोबस चढी हाम्रो यात्रा सुरु भयो।
सिन्धुलीको घुमाउरो बाटो हुँदै तराईका सिराहा, सप्तरी, महोत्तरी लगायतका जिल्लाको गर्मी र अधिकांश ठाउँमा सडकको धुलो हामीले गुडिरहेको सवारीबाटै सुनकोसी नदी, कोसी ब्यारेज र बाजेको पेडा पसलको फोटो खिच्यौँ। झापाको दमक पुगेर बास बस्यौँ। हामी दोस्रो दिनको बिहानै ताप्लेजुङको लागि सुमो चढ्यौँ। लाइसेन्स र ब्लुबुक नभएको बताउने चालकले बेलैमा ट्राफिक प्रहरीलाई पाँच सय बुझाएपछि गाडी गुडाउन सुरु गरे।
त्यो पाँच सय (घुस) प्रहरीको हातमा बुझाएपछि उनलाई एक सातासम्म प्रहरीले कुनै रोकटोक नगर्ने पनि उनले हामीलाई सुनाए। चालकले सवारी हाँक्दै भने, ‘यसरी पैसा दिएन भने कहिले के कहिले के भनेर कारबाही गर्छ, दियो भने एक हप्ता ढुक्क।’
६ जनाको सिट क्षमता भएको सुमोको भित्री संरचना बिगारी १२ जनाको सिट बनाइएको हुँदो रहेछ। चालकको बायाँपट्टी नै दुई जना, दोस्रो र तेस्रो सिटमा चार–चार जना खाँदेर पनि नपुगे पछि बसको डिकीजस्तो पछाडि २–३ जना कोच्ने चलन नै रहेछ। झापाको गर्मी र सुमोको कोचाकोच बसाइको यात्रामै हामी इलाम, पाँचथर हुँदै साँझ ताप्लेजुङ सदरमुकाम पुग्यौँ।
त्यसपछि अर्को गाडी पक्रेर डेढ घण्टामा तल्लो फेदी पुगेका हामी एक घण्टा लामो उकालो पैदल यात्रा गरेर ठूलोफेदी पुगेर बास बस्यौँ। बिर्तामोड ताप्लेजुङ सुमोले ट्राफिकलाई हप्तामा बुझाउने ५ सय फेदीसम्म चल्ने बोलेरोले भने मासिक रूपमा बुझाउँदो रहेछ।
तेस्रो दिन आधा निद्रा सुतेर बिहान ३ बजे नै हामी पैदल यात्रामा उकालो हिँड्न थाल्यौँ। चन्द्रमाको मधुर प्रकाशमा साढे तीन घण्टाको लगातारको ठाडो उकालोपछि पाथीभरा मन्दिर पुग्दा ‘सूर्यदेवताले’ मुस्कुराउँदै हामीलाई स्वागत गरे।
हामी मन्दिर पुग्दासम्म केही मानिस दर्शन गरेर फर्किसकेका थिए। ताप्लेजुङ सदरमुकाम फुङ्गलिङबाट १९.४ किमी पूर्वोत्तरतर्फ ३ हजार ७९४ मिटरको उचाइमा अवस्थित मन्दिर पुगेपछि त्यसअघिको ठाडो उकालो र अघिल्लो दिनको सुमो यात्राको दुःख सबै भुलिँदो रहेछ। पाथीभरा माताको दर्शन गरेर केही घण्टा मन्दिर परिसरमै बितायौँ। त्यहाँका पूजारीसँग पाथीभरा माताको अलौकिक वर्णन सुन्यौँ।
पाथीभरा दर्शन गरेर ओरालो झर्न नपाउँदै कुहिरो र हुस्सुले धुम्म भएको मौसम बर्सिन थाल्यो। खराब मौसमका कारणले नजिकैको कञ्चनजंगा लगायतका हिमालको दृश्य हेर्न भने पाइएन।
वर्षा र भूगोलको बेसरी ज्ञान नभएकाले हाम्रो भरपुर तयारी थिएन। यस क्षेत्रमा प्रायः पानी परिरहने भएकाले कतिले रेनकोट, छाता र प्लास्टिक लिएरै जाने रहेछन्, हामीले त्यो जोहो नगर्दा सिमसिमे पानीमा भिज्दै तल्लो फेदी झरेर हामी बोलेरोमा फुङ्लिङ झर्दा रातिको ९ बजिसकेको थियो।
बिहानै फर्किनुपर्ने भएकाले अघिल्लो दिन आएको सुमोको ड्राइभरसँग अर्को सुमोको सम्पर्क नम्बर मागेर बिहान ६ बजेका लागि सिट पक्का गर्यौँ। मन्दिर जाँदा फर्कँदाको करिब ६ घण्टाको उकालो ओरालो र तल्लो फेदीदेखि फुङ्लिनसम्मको हिलाम्मे सडकमा बोलेरोको कष्टकर यात्राको बयान गर्नै मुस्किल छ। त्यो थकान र बिहान छिट्टै उठ्नुपर्ने भएकाले रात बितेको पत्तै भएन।
बिहान ६ नबज्दै गाडी चालकको फोन आयो, ‘साढे ६ बजे हिँडिहाल्ने हो है, तयार हुनुहोस्।’ हतारहतार होटेलको पैसा तिरेर सुमो पर्खियौँ, भनेको समयमा नआएपछि फोन गरियो, जवाफमा उसले साढे ७ बजेसम्म कुर्नुपर्ने निर्देशन जारी गर्यो। हामी हतारिएका त थिएनौँ तर राम्रो सिट भनिएको गाडी छुट्छ कि भन्ने भय थियो। अन्ततः भयो त्यस्तै। राति नै फिक्स गरेको गाडी हामीलाई छोडेर छापातिर हुइँकिसकेछ।
उसले अरू यात्रु बोकेर बाटो लागिसक्दासमेत हामीलाई झुटो बोलेको रहेछ। मन्दिरमा पुग्ने यात्रुको सिजन चलेकाले भएका जति सबै सुमो र बस बिहानै कोचाकोच गरेर फर्किसक्ने रहेछन्। त्यो कुरा पछि काउन्टरमा सोध्न गए पछि मात्र थाहा भयो।
त्यसरी त्यो चालकले हामीलाई किन अलपत्र पारेको होला? आफू गइहाले पनि साँचो कुरा भनेर तपाईँहरू अरू जोहो गरेर हिँड्नुहोस् भनेको भए त्यसको के जान्थ्यो होला? धोका दिँदा त्यसलाई कति आनन्द आयो होला? जवाफ खोज्न बारम्बार कल गर्दा गुरुजीले मरिगए उठाएनन्।
विकल्पहीन भइयो भन्ने ठानेर निराशाको लामो श्वास तान्न नपाउँदै लास्टको दुई सिट खाली रहेको ‘रिजर्भ’ सुमो भेटियो। त्यसैमा कोचिएर सुरु भयो काठमाडौंको फिर्तिसवारी।
७ जनाको एक परिवारलाई पहिलो र दोस्रो सिट रिजर्भमा दिएको सुमोले पछाडिका ३ सिटमा ५ जनालाई कोचेर साँझ साढे ६ बजे बिर्तामोड ल्याइपुर्यायो।
हामीलाई बिर्तामोड बस्ने समय र मन दुवै थिएन, अन्तिम रात्रि बस भेटेपछि सुरु भयो काठमाडौंको यात्रा। हाम्रोभन्दा अरूको यात्रा अनुभव सुन्दा झनै अत्यासलाग्दो। एक छोरीसहित गएका दम्पती चार जनाको सिटको पैसा तिरेर जाँदा पनि थप एकजना हाल्दिँदा आक्रोशित थिए। तर, नियमन गर्ने जिम्मेवारी पाएका तर कानुन होइन हातमा घुस लिन बानी परेका ट्राफिक भएपछि यात्रु निरीह बनेर बस्नुबाहेक अरू केही विकल्प हुँदो रहेनछ।
गाडी कछुवा गतिमा अघि बढ्यो। आफूलाई भने अटसमटस यात्रा लम्बिने र गन्तव्यमा ढिला पुगिएला भन्ने छटपटी भइरह्यो। यसै पनि सार्वजनिक सवारी चढ्दा अप्ठेरै महसुस हुन्छ अर्कोतर्फ धुवाँ धुलो, यात्रुको कोचाकोच, चालक सहचालकको ब्यहोरा र टिकट काउन्टरको बडापनले दिक्क बनायो।
सोही बसमा टिकट काटेका यात्रुको सिटमा अरू यात्रुलाई बसालेपछि विवाद हुँदा पहिले टिकट काटेका यात्रुको झोला डिकीमा हालेर हिँडेछन्। उनको भोलि दिउँसो विदेश यात्रा रहेछ। उनले स्कार्पियो रिजव गरेर २–३ किलोमिटर अगाडिसम्म फोन गर्दै बसलाई भेटाए र फेरि विवाद भयो। फेरि उनीहरुको बाँकी झोला लिन फर्कियो बस। त्यति बेलासम्म बस चलाउने युवक चालक नभएर सहचालक कोही रहेछन्। चालक दमकमा बस्दा रहेछन् चालक आएपछि यात्रु छुटेको फोनबारे जिज्ञासा राखे। घटनाबारे थाहा पाए पछि उनले आजभोलिका केटाहरूको शैली र जबरजस्तीबारे असन्तुष्टि देखाए।
यस्तो किन गरेको होला? उनले छुटेका यात्रुसँगको विवाद मिलाउने प्रयास गरे र बस फर्काएर छुटेका यात्रुको सामान लिएर आए।
चालकको व्यथा
बस चढेपछि चालक दाइले भन्नुभयो, ‘नसुतेको १४–१५ दिन भयो। क्याप क्याप भइसक्यो।’
मैले सोधेँ ‘किन दाइ दिउँसो सुत्नुभएन ?’
उहाँले तुरुन्तै जवाफ फर्काउनुभयो, ‘कहाँ सुत्नु यता आयो फेरि उता गयो। यति नगरेसम्म दुई हात जोड्नै पुग्दैन।’ २४सै घण्टा बस कुदाउने उहाँको निराशा सिधै सरकारसँग पोखियो। ‘नेताजति चोर भए। देश बेचेर खाए। लुट्नसम्म लुटे जनताको बारेमा केही सोचेनन्/गरेनन्।’ डाक्टर पढ्ने लक्ष्य घुस दिन नसकेका कारण पुरा नभएको उनले सुनाए।
५० कटिसकेका उहाँका छोराछोरी हाल विदेशमा रहेछन्। छोरी विदेशी एरलाइन्सको इएर होस्टेज छोरा डाक्टर हो सायद। उनले आफ्ना कथा व्यथासँगै देशका व्यथितिका पोका खोल्दै गए।
लाग्यो, निराशा जताततै छ, सबैमा छ। नयाँ संविधान बनेपछि तीन तहका सरकार बनेका छन्। तर सुनिदिने कोही छैन। लाग्यो यी र यस्ता धेरै जनताका प्रश्न अनुत्तरित नै छन्।
चालकको कुरा पनि सुन्दै, झुपुकझुपुक निन्द्रा पनि पूरा गर्दै काटिएछ कोसी र मधेश प्रदेश।
सिन्धुलीमा टाइमकार्ड लागू हुने भएकाले गाडी रोकेर चालक आफ्नै सिटमा खुट्टा पसारेर दुई घण्टा जति सुते।
खाना नास्ताको चर्चा
निद्रा मात्र होइन यात्रामा खानाको तालिका पनि मिल्दैन। यसै पनि राजमार्गको खाना–खाजाको चर्चा हाम्रो देशमा सामान्य नै हो। यहाँ पनि चर्चा गर्नलायक खाना रहेछ, ‘बेस्वाद, महँगो र साहुजीको नमिठो व्यवहार।’
खानाभन्दा दही रोटी खान मन लाग्यो। साउजीले रोटी पकाउन मानेनन् चिउरा र दही मगाएँ तर दही हेर्नलाई सेतो तर जाँडजस्तो गन्हाउने। कारण पछि थाहा भयो खानाकै रेट लिने रहेछन् त्यसको पनि अनि किन रोटी पकाउने झन्झट ब्यहोर्थे?
यातायात क्षेत्रमा मात्र होइन, बेथिती पसल, होटेल व्यापारी जताततै देख्दा मनै भारी र दिक्क भयो। हाम्रो समाजमा सौहार्दता, हार्दिकता र सहजता हराएजस्तै लाग्यो। ग्राहक त भगवान् हुन् भनेर पोस्टर लेख्नेहरू किन ग्राहकको सन्तुष्टि हेर्दैनन्? यो प्रश्न मैले मनमै बिसाएँ।
गाडीले फेरि घुम्तीहरू समात्यो, काठमाडौं आइपुग्दा पाथीभरा माताको दर्शन र मनोकांक्षा पूरा हुने विश्वास तथा आत्मसन्तुष्टिले बाटोका सारा कष्टहरूलाई बिर्सिदै मनै हलुंगो भएर आयो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।