|

काठमाडौं : सिन्धुली कमलामाई नगरपालिका ३ चपौलीका रामबहादुर विश्वकर्माले साबिकको मकै भित्र्याउन नपाएको तीन वर्ष भइसक्यो।

आफ्नो र अरूको जमिन अँधिया गरेर झण्डै पाँच हलको मेलो मकै छर्छन् तर दुई महिना खान पनि पुग्दैन।

रोपेको दिनदेखि पाकुन्जेल मकैको रेखदेखमै दिन बित्छ। गोड्ने र दोहोर्‍याउने गरेर मकैलाई दुईपटक खन्नुपर्छ। गोठेमलसँगै रासायनिक मल नहाले मकैमा घोगा नै लाग्दैन।

मकैमा मल दिनेबेला जेठ असारमा युरिया मल पाउन अर्को संघर्ष गर्नुपर्छ। व्‍यापारीले भनेजति पैसा नदिए मल दिँदैनन्, कोही वर्ष त जति नै पैसा तिरे पनि पाँइदैन। यी सबैभन्दा ज्यादा कठिन र चर्को छ बाँदर, दुम्सी र बँदेलबाट मकै जोगाउन। जति गोठालो लागे पनि मकै पाक्ने बेलासम्म तीन चौथाइ मकै वन्यजन्तुले बारीमै स्वाहा पार्छ। तर, आयआर्जनको अर्को भरपर्दो पेसा नहुँदा रामबहादुर सँग परिवार पाल्न खेतीपाती गर्नुको विकल्प छैन।

रामबहादुर उदाहरण मात्र हुन्। उनका छरछिमेकीको व्‍यथा उस्तै छ। जंगली जनाबरबाट खेतीको उत्पादन जोगाउन नसक्ने भएर धेरैले जग्गा  बाँझो राख्न थाले। कोही गाउँमै ज्यालादारी काम गर्छन् भने कति चाहिँ परिवारसहित सहर पसेका छन्।

आफ्नो जग्गाजमिन भइकन शहर पसेर अरुका घरमा ज्यालादारी गर्नु बेस्वादिलो त छँदैछ, आफ्ना थातबासको सम्झनाले मानसिक तनावसमेत थपेको छ।

स्थानीय युवा लोकबहादुर थापा बाँदर र जंगली बँदेलसँग पौंठेजोरी खेल्न नसकेर वैदेशिक रोजगारीको बाटो समाउन बाध्य भए। मलेसिया पुगेका उनलाई कम्पनीले चौकीदारीको काम दिएको छ,  बाँदर, दुम्सी र बँदेलसँग बाह्रै महिना भिडन्त गर्नुभन्दा बरु विदेशको चौकीदारी नै ठिक लागेको छ।

गाउँमै कमाउने गाउँमै रमाउनेबाट हार्दै युवा

लोकबहादुर जस्तै सोही ठाउँका अर्का युवा कुमारले पनि जतीसक्दो छिटो विदेश नै हान्निने तारतम्य मिलाउँदै छन्। कुमार त एकपटक विदेश बसेर गाउँमै कृषि गर्ने भनेर आएका थिए तर वन्यजन्तुकै कारण कृषिबाट कुनै वर्ष लगानी नउठेपछि गाउँमै कमाउने, गाउँमै रमाउने भन्ने अठोटबाट हारेका हुन्। कुमार र लोकबहादुर जस्ता कृषिमा लागेका अरू धेरै युवाहरु गाउँ छोडेर कि शहर बसेका छन् कि विदेश पसे।

दिउँसो बाँदर रुघ्नु र राती बँदेल,दुम्सीको गोठालो पहाडदेखि तराई र हिमाल सम्मकै साझा समस्या हो। बाँदरले घरै भित्रका अन्न र खानेकुरा समेत चोरेर खान थालेपछी हिउँदभरी घरमा समेत पहरा गनुपर्ने भएको छ। चरा, मुसा, अन्य केही जंगलका जनावर र पन्छीले मान्छेका खेतीपाती खानु सामान्य नै थियो  तर लगाएको खेती जमिनमै सकिनेगरी खाइदिएपछि चैँ गरिखानु कि मरिजानुको स्थितिमा पुर्‍याएको छ।

बाँदरले धरधरी रुवायो, ज्यानै लग्यो

दोलखामा घर भएका भक्तपुर बस्ने विष्णुलाल फुँयाल बाँदरले दिएको दुःख सम्झेर तरक्कै आँसु खसाल्छन्। दोलखाका जफे, मालु, च्यामा, हाँवा रामेछापका नामाडी, बेताली, लिखु, बाम्ती, रस्नालु धारापानी सिन्धुपाल्चोकका बाह्रबिसे चौतारा खाँडीचौरदेखि धेरैठाउँका स्थानीयले आफूजस्तै अरुले भोगेको दुःख देखेका फुँयाल बाँदर धपाउन जाँदा आठ दश जनाले लडेर ज्यानै गुमाएको र कतिले अपाङ्ग हुनुपरेको बताउँछन्।

अग्ला–अग्ला रूख र भीर पहरामा बस्ने बाँदर धपाउन जति मुस्किल आफूलाई अरू नलाग्ने अनुभव छ। गुरिल्ला शैलीका बाँदर मान्छेभन्दा चलाख भएकाले जति नै रुँघे पनि झुक्याएर बालीनाली खाइछा्ड्ने फुँयालको भोगाइ छ।

हिंश्रक नभए पनि कहिलकाहीँ बाँदर धपाउन बसेका महिला र केटाकेटीलाई बाँदरले कुटेर, चिथोरेर रक्तमुछेल पारेको, ज्यानै लिएको देखेका फुँयाल बाँदरका दुःख सम्झिदा भक्कानिन्छन्।

बालीनाली होइन ज्यानै जोगाउन मुस्कि

अर्घाखाँची सन्धिखर्क नगरपालिका ५ वाङ्लाका रोमा अधिकारीले यसपालि आफूले घरमा गहुँको दानै भित्र्याउन नपाएको बताए।

'गहुँ छरेदेखि गोठालो गर्दा पनि जोर चलेन। दिनभरी हुलकाहुल बाँदरले खाने रातभरी बगालै बँदेलले खाने गरेर खेतमै गहुँको इतिश्री भयो' उनले दु:खेसो सुनाए। त्यत्रो दुःखले गरेको खेती माया मार्नुपर्दा वृद्धवृद्धा बा–आमाका आँसु अडिएनन्। रोमाका अनुसार बँदेलले मान्छेलाइ नै आक्रमण गर्लाभन्ने डर भएको छ। पहिले–पहिले रातीमात्र आउने बँदेल हिजोआज दिउँसै हुल बाँधेर खेतबारीदेखि घरघरै आउन थाले। आम्दानीको अर्को कुनै विकल्प छैन खेती नगरे के खाने भन्ने समस्या छ। सँधै सँगै हुइँदैन बुढाबुढी बा–आमालाई कतिखेर मारीदेला भन्ने त्रास छ रोमालाई। त्रास रोमालाई र वाङ्लाका सबैलाइ उत्तिकै छ। महिला र बालबालीका एक्लै हिँडन डराउँछन्।

अन्न मात्रै होइन तरकारी र फलफूलसमेत वन्यजन्तुबाट जोगाउन सकिँदैन। भाँचेर टिपेर र माडेर खाने अन्न अनाजदेखि माटामुनि फल्ने कन्दमुल पनि खनेर खाइदिने भएकाले वन्यजन्तुको प्रकोपबाट आजित छन्।

रोमाका अनुसार अब जंगलका जनावरबाट बालीनाली होइन मान्छेको ज्यान कसरी जोगाउने भन्ने भएको छ। वन्यजन्तुको चर्को प्रकोप खप्न नसकेर धेरैले गाउँनै छोडिसके। खेतीयोग्य उर्वरमाटो भएका जग्गाजमिन बाँझै छन्।

द्वन्दमा मानिस नै दोष

बाँदर, दुम्सी, रतुवामृग, घोरल, नाउर र बँदेलले   अक्सर मान्छेलाई आक्रमण गर्दैनन् बालीनाली मात्र क्षति गर्छन् तर बाघ, भालु, हात्ती, गैँडा जस्ता जनावरले मान्छेलाई मार्छन् पनि यिनै जनावरको आक्रमणमा परेर बर्षेनी धेरैको ज्यान गएको छ।

हात्तीले घरबस्ती भत्काएको, मान्छे नै मारेको र चितुवा बाघले मान्छे खाएको घटना अब नौलो छैन। यसरी कुनै न कुनै रूपका तराई, पहाडदेखि हिमाल सम्मका मानिसहरु बन्यजन्तुको चपेटामा परेका छन्।

मान्छेका शत्रु वन्यजन्तु हुन कि वन्यजन्तुका शत्रु मान्छे हुन्? मान्छे र वन्यजन्तु बीचमा किन द्वनद्व बढ्यो? वन्यजन्तु विज्ञ करनबहादुर शाह मान्छेकै बढी दोष देख्छन्।

शाहका अनुसार जंगल जनावरको बासस्थान हो, उनीहरूको घर हो। मान्छेले जंगल मासेर जनावरको बासस्थान बिथोलिदिएपछि जनावर बस्ती पसे। जनावरको खानेकुरा खोसिएपछि उनीहरू खानेकुराको खोजीमा छन्।

वन्यजन्तुको बासस्थानको प्राकृतिक चक्रलाइ एथा अवस्थामा फर्काउने हो भने वन्यजन्तुको  समस्या अहिले जस्तो नहुने शाहको तर्क छ। मुगुको एउटा गाउँमा पहिला नाउरको प्रकोप थिएन,अहिले त्याहाँ नाउरले खेतीबाली बारीमै स्वाहा पारिदिन्छ। पहिले प्रसस्त हिँउ चितुवा थिए।

चितुवाको आहारा नाउर हुन्थे तर मान्छेले हिउँ चितुवाको संख्या घटाएर लगभग शून्यमा झारेपछि अहिले नाउरको संख्या बढ्यो र नाउरले खेती  नोक्सान गरे। त्यसैले जंगलको प्राकृतिक चक्रलाई खलबल्याउन नहुने वन्यजन्तु विज्ञ शाहको तर्क छ।

न्यजन्तुबाट आर्थिक लाभ लिनुपर्छ

वन्यजन्तु विज्ञ तथा बाँदर विशेषज्ञ प्राध्यापक डाक्टर मुकेश कुमार चालिसे भने प्राकृतिक चक्र खलबलिनुका साथै जनावरहरु पनि नयाँ–नयाँ जीवन पद्धतिमा जान खोज्दा उनीहरु मानव बस्ती पसेको हुनसक्ने अड्कल काट्छन्।

बाँदरहरुले त मानिसकै नक्कल गर्ने हुनाले उनीहरु सुख र सजीलोले पेट भर्न खोज्दा मान्छेका बस्तीमा आकर्षित भएको चालीसेको विष्लेषण छ।

वैकल्पिक खेती र जंगलको क्षमताअनुसार वन्यजन्तुको नोक्सान नगरी संख्या राख्ने, जनावरको संख्या हेरेर वनको विकास गर्नेसँगै आर्थिक आम्दानी हुनेगरी साना चिडीयाखाना बनाउँदै जानुपर्ने चालीसेको सुझाव छ।

बाँदरको बन्ध्याकरण, अनुसन्धानका लागि केहीलाई विदेश निर्यात गरेर हाम्रो क्षमता अनुसारको संख्या व्‍यवस्थापन गरेमा तीनको नोक्सान नगरी आर्थिक लाभसमेत हुने चालिसेको तर्क छ।

जंगली जनावरले क्षति गरेमा सरकारले पीडितलाई क्षति भराउने व्‍यवस्था नगण्य क्षेत्रमा मात्र कार्यान्वयनमा छ। वन्यजन्तुको संख्या बढेकामा जनावर प्रेमीले खुसी मनाउँछन् तर वन्यजन्तुले मान्छेको खती गरेको कुरामा खास सरोकारवालाको ध्यान देखिँदैन।

वनका जनावरले मान्छेको घर सम्पत्ति  र बालीनाली खती गरेको रेकर्ड राख्ने कुनै निकाए नै छैनभन्दा फरक पर्दैन। कहिलेकाँही जनावरले दिएको दुःखका कुरा संसदसम्म पुग्छ तर त्यो खास चासोको विषय बन्दैन।

वन्यजन्तुले आतंक फैल्यायो, बालीनाली खायो,मान्छे नै मार्‍यो भन्ने जतिलाई वन्यजन्तुका विरोधी र शत्रु जस्तै सोच्नु गलत छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.