|

जनकपुरधाम : मिथिलाञ्चलमा आज वट सावित्री अर्थात् वरसाइत पर्व मनाइएको छ। 

शुक्रबार पतिको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै मिथिलाञ्चलका महिलाले यो पर्व धुमधामका साथ मनाउँछन्।

यो पर्व जेठ महिनाको अमावास्या तिथिमा मनाइन्छ। वट सावित्रीमा महिलाहरूले नयाँ पहिरनमा वर र पीपलको रूखमा सामूहिक रूपमा विधिपूर्वक पूजा अर्चना गर्छन्।

नयाँ फल आँप, पान, सुपारी, केरा, फलफूल, धूप लगायतको विभिन्न पूजा सामग्रीका साथ पूजापाठ गरेर व्रतालु महिलाले श्रीमान्‌को दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै वर तथा पीपलको रूखलाई रातो र पहेँलो धागले बेरी पण्डितद्वारा मन्त्रोच्चारणका साथ पूजा गर्छन्।

वरको रूख घेरेर उनीहरू वृक्षमा विवाहको लगन गाँठोको प्रतीक मंगल धागो बेरेर पूजाआराधना गरी पर्व मनाउँछन्। 

वरको वृक्षमा जल चढाउनेदेखि तेल लगाउने र बाँसको पंखा हल्लाउने सहितका विधि गरी पूजापाठ गर्ने यो पर्वको रौनक वृक्षमुनि देख्न सकिन्छ। पौराणिक कथाअनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्री वरको रूख तल बसेर कठोर व्रत गरी पतिको प्राण फर्काउन सफल भएकी थिइन्।

यही मान्यताअनुसार महिलाहरूले पतिको दीर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थमा उल्लेख रहेको विज्ञ  डाक्टर राजेन्द्र विमलले बताए।

महिलाहरू वृक्षको पूजा गरिसकेपछि पतिको गोडा पखालेर बाँसले बनेको पंखाले हम्किएर शीतलता तथा सेवाको भाव दर्शाउँदै आँपसहितको फल प्रसादको रूपमा प्रदान गर्छन्। यो पर्वमा माता पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ र कथा श्रवण गरिन्छ।

सुरुसुरुमा ब्राह्मण, कायस्थ र देव सहित सीमित जातजातिका महिलाले मात्र मनाउने यो पूजा अहिले अन्य जातिका महिलाले समेत मनाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.