|

काठमाडौँ : दुवै गोडा गुमाएका हरि बुढा मगरलाई सरकारले भव्य स्वागत गरेको छ।

सगरमाथा आरोहणपछि मंगलवार काठमाडौं आएका मगरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा पुगेर भव्य स्वागत गरेका हुन्। साथै उनलाई मगर समुदायले झाँकीसहित स्वागत गरेको थियो।

भूतपूर्व गोर्खा सैनिकसमेत रहेका मगरले यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। योसँगै उनी घुँडामाथिसम्म गोडा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन्। उनले कृत्रिम गोडाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन्।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीले बुढा मगरलाई सम्बोधन गर्ने कुनै शब्द नै नरहेको बताए। उनले गरेको कामको साथमा सरकार सदैव रहेको उल्लेख गर्दै बुढा मगरले विश्वलाई नै नयाँ सन्देश दिएको बताए।

उनले भने, ‘नतमस्तक र भावुक छु, म मात्रै नभई सारा नेपाली गौरवान्वित हुनुहुन्छ। उहाँलाई सम्बोधन गर्ने कुनै शब्द छैन। सर्वोच्च शिखर सगरमाथाबाट हरि बुढा मगर मात्रै होइन, नेपाल र नेपाली जनताका तर्फबाट विश्वलाई नै नयाँ सन्देश दिएर आउनुभएको छ। उहाँको चाहना र मेहनतले सगरमाथा चढ्नुभएको छ। सरकार तपाईंको साथमा छ।’

आरोही बुढा मगरले सबैको साथ र सहयोगमा मात्रै सगरमाथा आरोहण गर्न सकेको भन्दै खुशी व्यक्त गरे। 

उनले भने, ‘यो मैले एक्लै गरेर भएको होइन, यसमा मेरो टिम छ, यसमा उहाँहरूले आफ्नो ज्यानको बाजी राखेर चढाउनुभएको छ। नेपाल सरकारदेखि सम्पूर्ण संसारको कुनामा भएकाहरूले साथ दिनुभएको छ।’

आरोही बुढा मगरले शारीरिक अशक्तलाई दया, माया नभई अवसर प्रदान गर्न आग्रह गरे।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.