|

काठमाडौं : गएको वर्ष ४२१ जना विदेशी विद्यार्थी चिकित्सा शास्त्र पढ्न नेपाल आए। ​चालू आर्थिक वर्ष ०७९/८० मा अहिलेसम्म गरेका कामबारे चिकित्सा शिक्षा आयोगले गरेको पत्रकार सम्मेलनमा यो वर्षको शैक्षिक सत्रमा स्नातकोत्तरका विभिन्न विधामा १५ जना र स्नातक तहमा ४०६ जना विदेशी विद्यार्थीले चिकित्सा शास्त्र अध्ययन गरेको जानकारी दिइएको हो।

यसरी अध्ययन गर्ने आउनेमा भारत, श्रीलंका, माल्दिभ्स तथा अमेरिकाका विद्यार्थी रहेका र उनीहरुले नेपालमा विभिन्न मेडिकल कलेज तथा प्रतिष्ठानमा भर्ना भएर अध्ययन गरिरहेको आयोगका मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्राडा दिलिप शर्माले बताए।

‘स्नातकोत्तरको १५ जना र स्नातक तहमा ४०६ जना गरी जम्मा ४२१ जना विदेशी विद्यार्थीलाई हामीले यो वर्ष अध्ययन अनुमति दिएका छौँ, उहाँहरु अहिले नेपालकै विभिन्न मेडिकल कलेज तथा प्रतिष्ठानहरुमा अध्ययनरत हुनुहुन्छ‚’ डा शर्माले भने।

यस्तै यो वर्ष नेपालबाट फेलोसिपमा ५ जना, स्नातक तहमा ७०१ जना र स्नातकोत्तर तहमा २६६ जना चिकित्सा शास्त्रका विद्यार्थीलाई अध्ययन गर्न विदेशमा अध्ययन अनुमति दिएर विदेश जान स्वीकृति प्रदान गरेको समेत प्राडा शर्माले बताए।

यस वर्ष स्नातकोत्तर तहको भर्ना मेरिटको आधारमा नगर्दा विद्यार्थी आन्दोलित भएको विषयमा भने आयोगले भर्ना प्रकृयामा मेरिट प्रकृया नमिचेको दावी गरेको छ।

यस वर्ष चिकित्सा शिक्षा तहको विभिन्न विधाको स्नातकोत्तर तहको भर्ना प्रकृया मेरिटको आधारमा नभएको भन्दै विवाद भएको थियो। यो विषयमा सर्वोच्च अदालतमा रिटसमेत दायर भएको थियो।

तर विद्यार्थीहरुले दायर गरेको रिट अदालतले खारेज गरिदिएको थियो। अदालतको आदेशले आयोगले अवलम्बन गरेको मेटिरोक्रेसी पद्धतिलाई सहयोग नै पुगेको दावी आयोगले गरेको छ।

यो वर्ष आयोगले चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार लामो समयदेखिको निरन्तर छलफल तथा विज्ञहरुको संलग्नतामा चिकित्सा शिक्षा नीति, चिकित्सा शिक्षा, जनशक्ति प्रक्षेपण योजना र चिकित्सा शिक्षाको स्नातक तहको राष्ट्रिय पाठ्यक्रमको प्रारुप विकास भएको उल्लेख गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.