काठमाडौं : मान्छे बाउन्न हण्डर त्रिपन्न ठक्कर खाएर परिपक्व हुन्छ रे। शालिग्राम बन्न ढुङ्गाले हजार ठक्कर खान्छ।
त्यस्तै चोटले, अनुभवले खारिएका हक्की स्वभावका गायक तथा सर्जक पदमध्वज केसीसँग हामीले कुराकानी गरेका छौँ। ‘के म नेपाली होइन र? के मलाई माया छैन र?’ जस्तो कालजयी थुप्रै गीतका गायक उमेरले ८२ वर्ष भए पनि अझै सृजना कर्ममा तन्नेरी देखिन्छन्। उनै केसीसँग गरिएको कुराकानीको सम्पादित अंश :
जन्मेको गाउँ ठाउँ कहाँ हो?
पाल्पाको ताहुँ घोरपालछाप हो, अहिले रम्भा पालिका वडा नम्बर ५ भएको छ। विक्रम सम्वत १९९९ साल असोज १२ गते सोमबारको जन्म हो। हालको स्थायी ठेगाना नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर ५ पाल्डाँडा।
अहिले के काममा हुनुहुन्छ?
नेपाल लेखापढी कानुन व्यवसायीको प्रमाण पत्र लिएर २०४३ सालदेखि काठकाडौंमा मालपोत,भूमिसधार,जिल्ला अदालत लगायतमा लेखापढी व्यवसायको काम गर्छु।
सरकारी जागिर खानुभयो?
२०१४ सालमा शिक्षाको सामान्य तालिम गरेर शिक्षक भएँ। २०१७ सालपछि बाँके, बर्दियामा भूमिसुधार, नापी, भूमि व्यवस्थाको जागिर खाएँ। २०३१ सालमा नयाँ शिक्षा लागू भएपछि सेवा आयोगमार्फत शिक्षकमा नियुक्त भएर, नवलपरासी जिल्लाको कुकुरमाराको श्री सरस्वती विद्यालयमा प्रधानाध्यापक भएर लामो समय पढाएँ।
शिक्षकको जागिर कसरी गयो, पेन्सन किन भएन?
२०३६ साल जेठमा नवलपरासीका सबै शिक्षकहरुको आरुङ्गखोलामा गोष्ठी थियो। मेरो विद्यालयबाट प्रतिनिधित्व गरेर गएको थिएँ। दोस्रो दिन बेलुकाको खानापछि परिचयात्मक कार्यक्रम भयो।
२०१४ सालमा सँगै तालिम गरेका साथी पनि हुनुहुँदो रहेछ, उहाँले ‘दाइ तपाईंले कविता लेख्न छोड्नुभयो?’ छोडेको छैन भनेँ ‘उसोभए एउटा सुनाउनुस् न भोलि त हामी आ–आफ्नो घरगाउँ गइजान्छौँ’ भन्नुभयो। त्यति नै बेला सानो कविता तयार गरेर सुनाएँ। त्यसको शीर्षक ‘हाम्रो आँसु’ भन्ने थियो :
‘हाम्रो आँसु सुकेर हैन परेलाको घेरामा ओभाको,
पीठो नपाई मर्नेलाई मिठो भन्ने के हो?
महलमा बस्नेलाई गिठो भन्ने के हो?
ठूला घरका छाउरे कुकुर गलैँचामा मुत्छन्,
बाह्रै महिना हलो जोत्ने परालमा सुत्छन्,
हातको छाला काँधको छाला पैतालाको पत्र,
जुगौँ हलो जोत्ने मान्छे साँझ अलपत्र।
बाँझिएको पीर अझै निको भया छैन,
सानैछन् कर्णधार तिखो भया छैनन्।
हाम्रो पनि आउने छ पालो,
एक दिन गरौँला भुर्तालो।’
आरुङ्गखोलाको त्यो शिक्षक गोष्ठीमा २०३६ साल जेठ १८ गते राति सबै शिक्षक साथीहरु र शिक्षाका हाकिमहरुको माझमा कविता सुनाएँ। तीन दिनपछि जेठ २० गतेको निर्णयले मलाई शिक्षक पदबाट खारेज गरेछ।
त्यसै दिनदेखि आजसम्म मैले सरकारको सेवामा प्रवेश गरिनँ। आफ्नै निजी पेसाले पालिएको छु। अरूमा राजीनामा गरेको थिएँ तर यसमा बर्खास्थमा परेँ, कुनैमा पनि पेन्सन भएन।
सरकारसँग रिस उठेन, इख बसेन?
सरकारको विवेक हुँदो रहेनछ, मान्छे चिन्दो रहेनछ भन्ने लाग्यो। राजा महेन्द्रको महान् वाणीमा–‘कवि कलाकारले ब्रम्हले देखेका कुरा कलमले पोखिदिएँ भने देशका लागि ठूलो योगदान हुनेछ’ भन्ने थियो, त्यही होला भनेर लेखेको जागिर गयो। मोदनाथ प्रश्रित शिक्षामन्त्री हुँदा ‘शिक्षकमा फेरि जागिर खाने हो’ भनेर सोध्नुभएको थियो, खाइनँ।
एउटा फरक कुरा सोधौँ। नाति चन्दनध्वज केसीले एकल महिला आरती श्रेष्ठलाई विवाह गर्नुभयो। धेरैले प्रशंसा गरे, आरतीलाई सासूससुराले छोरी मानेर कन्यादान गर्नुभयो , तपाईंलाइ चैँ कस्तो लाग्यो?
जेठो नाति हो चन्दन। गत फागुन २५ गते विधिपूर्वक नातिको विवाह भयो। एकल महिलाको विवाह हुन्थ्यो तर सासू र ससुराले बुहारीलाई छोरी मानेर कन्यादान गरेको थाहा थिएन। दाङका शिव श्रेष्ठ र बिना श्रेष्ठ हाम्रो समाजका आदर्श मानव हुनुहुन्छ। आदर्श परिवारसँग सम्बध गाँस्न र त्यस्ती असल बुहारी भित्र्याउन पाउने हामी भाग्यमानी हौँ।
कहिलेदेखि गीत गाउँन र लेख्न थाल्नुभएको हो?
२०१४ सालदेखि गीत लेख्न थालेको हुँ, बालखैदेखि गाउँथेँ। २०२० सालमै रेडियो नेपालको स्वर परीक्षा पास गरेर त्यसै वर्ष ‘फूल फूल्यो लेकैमा....’ बोलको गीत रेकर्डसमेत भएको थियो।
‘के म नेपाली होइन र?, के मलाई माया छैन र...’ गीत कहिले र किन लेख्नु भो?
हामी बसेको जग्गा कुनै जमिनदारले तिरो तिर्न पर्ला भनेर लगत कट्टा गरी छोडेका थिए। २०२४-२५ सालदेखि त्यो जमिनमा गाउँले साथीभाइकै साथ सहयोगले झुप्रो बनाएर श्रीमती र छोराहरूलाई राखेको हुँ। एकदिन श्रीमतीले बेलुका खानेबेलामा ‘तपाईं टाठोबाठो मान्छे,आफैँ नापी, भूमिसुधार, मालपोतको जागिर खानुभो सरकारको सेवा गर्नु भो तर आफैँ बसेको जग्गा आफ्नो नाममा छैन, मिचेर खाइदिन थालिसके’ भनेर गन्थन गरिन। भोलिपल्ट गुनासो सुनाउन अञ्चलाधीश कार्यालय बुटवल गएँ।
अञ्चलाधीशलाई सबै सविस्तार बिसाएँ, त्यो जमिन मेरो स्वामित्वमा पारिदिनुपर्यो त्यही बिन्ती गरुँ भनेर आएको भनेँ। उहाँले ‘तपाईंसँग नागरिकता छ त?’ भन्नुभो। अञ्चलाधीशले सोध्नु ठिक थियो तर मलाई ज्यादै बिझाउने खालको भो त्यो सोधाइ। मलाई देशकै नागरिक होइन जस्तो गरे भन्ने भो। भोलिपल्टै मैले पढाउने विद्यालय नवलपरासी कुन्दनपुरको आँगनमा बसेर ‘के म नेपाली होइन र?, के मलाई माया छैन र,बाजेले खाँबो गाडेको धुरीको डोब छैन र’ भन्ने लेखेँ। त्यो २०३५ सालमा होला।
त्यसैसाल सेमरी भन्ने मौजामा उनै अञ्चलाधीशसहित जिल्लाका सभापति, प्रमुख जिल्ला अधिकारी विभिन्न वर्गीय संगठनको भेला भयो। सांस्कृतिक प्रस्तुति लिएर स्कुलका विद्यार्थीसहित आउनु भनेका थिए। विद्यालयका छात्रा विष्णु कुमारी गुरुङले नृत्य गरिन,छात्र हर्कबहादुर गुरुङले मादल बजाए मैले गाएँ के म नेपाली होइन र?, के मलाई देशको माया छैन र? अञ्चलाधीशले मलाई बोलाएर ‘केसीजी तपाईंले यस्तो राम्रो प्रतिभा किन गुम्स्याएर राखेको?’ भन्नुभो। मैले सबै कुराको समय आउँछ भनेँ।
यो गीत कहिले रेकर्ड भयो त?
२०६२ सालमा आमाको स्वर्गारोहण भो, आमाले मलाई संसार दिनुभयो तर आमालाई मैले केही दिन सकिनँ भन्ने लाग्यो। मनमनै ‘आमा हजुरलाई केही दिन सकिनँ वार्षिक तिथिमा मसँग जे प्यारो चिज छ सोही चढाउँछु’ भनेँ।
रेकर्ड गरेर वार्षिक पूण्य तिथिमा सातवटा गीतहरू भएको एल्बम सार्वजनिक गरेँ। त्यो एल्बमको नाम नै ‘के म नेपाली होइन र?’ भन्ने छ।
आफ्ना गीत कस्तो लाग्छ?
आफूले जन्माएका छोराछोरी र आफ्ना आमा बाबाको जस्तो माया लाग्छ, मेरा गीत पनि त्यस्तै हुन्।
कतिवटा गीत छन्,कहाँ–कहाँ छन्?
के म नेपाली होइन र? भन्ने एल्बममा छोराको एउटा, नाति चन्दनको एउटा र मेरो पाँचवटा छन्, पाँचवटा गीत रेडियो नेपालमा पनि रेकर्ड भएका थिए।
फूल फूल्यो लेकैमा भन्ने २०२० सालमै रेकर्ड भएको। मेरो स्वरमा रेकर्ड भएका दश पन्ध्रवटा होलान्। धेरै गीत रेकर्ड गर्न सकिनँ।
अब गाउने, लेख्ने रहर छ कि छैन?
त्यस्तो रहर छैन। लेखेका गीत चैँ धेरै छन्। अझै लेखेर राख्ने गरेको छु। अचेल पनि बेथिति र अन्यायको विरुद्धका गीत कविता लेखिरहेको छु।
हाम्रो लोकगीत कस्तो रहेछ?
दुःख पीडा पोख्ने ठाउँ, नेपालीको परिचयको आधार हो। जित्नेका कुरा सबैले लेख्छन्, इतिहास बन्छ तर हार्नेका दुःखीका कुरा लोकगीतले मात्र बोल्छ। हाम्रो जीवन हो लोकगीत।
तपाईंको ईमेल गोप्य राखिनेछ ।