|

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा लघुवित्तका एक कर्मचारीमाथि कुटपिट भएको भन्दै बैंक तथा वित्तीय संस्थाले बुधबार ज्ञापनपत्र बुझाएका छन्। मंगलबार एनएमबी लघुवित्त बैंक तुम्लिङटार शाखामा कार्यरत कर्मचारी पाँचखपन नगरपालिका–३ का दिलबहादुर तिवारीमाथि कुटपिट भएको थियो।

कुटपिटमा संलग्न दोषीमाथि कारवाहीको माग गर्दै बुधबार बैंक तथा वित्तीय संस्थाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। ​बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई हतोत्साहित हुने गरी धम्की तथा भौतिक आक्रमणले समग्र बैंक तथा वित्तीय संस्थाको वातावरण त्रासपूर्ण रहेको विज्ञप्तीमा भनिएको छ।

ज्ञापनपत्र बुझ्दै संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले घटनामा संम्लग्न माथि कडा कारवाही हुने प्रतिवद्धता ब्यक्त गरे। एनएमबी लघुवित्त बैंक तुम्लिङटार शाखामा कार्यरत कर्मचारीमाथि खाँदबारी–१ स्थित टुँडीखेलमा बोलाइ सुनियोजित ढंगबाट भौतिक आक्रमण गरी गम्भीर घाइते भएको घटनाप्रति संखुवासभाका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

जिल्लाका १३ वटा बैंक र ६ वटा लघुवित्त संस्थाले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको राष्ट्रिय बाणिज्य बैंकका प्रमुख गुरुप्रसाद राईले जानकारी दिए। लघुवित्तका कर्मचारी कुटपिट गरेको आरोपमा प्रहरीले खाँदबारी–१ पाठकधाराका रामकुमार श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सरोज खनालले बताए।

श्रेष्ठले लघुवित्तका कर्मचारीलाई किस्ता लिन बोलाएर हेलमेटले कुटपिट गरेको पीडितले बताए। कुटपिटबाट गम्भीर घाइते भएका तिवारीको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ।

घाइते तिवारीको टाउको, शरिरका विभिन्न भागको चोट लागेको छ। श्रेष्ठ एनएमबी लघुवित्त तुम्लिङटार शाखाका ऋणी हुन्। एनएमबी लघुवित्त तुम्लिङटार शाखाले श्रेष्ठलाई किस्ताबापतको रकम तिर्न अनुरोध गर्दै आएको थियो।

तिवारीले आफूमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.