|

पर्वत : माथिको तस्बिर पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको इलाका हुलाक कार्यालयको हो। १४÷१५ वर्षदेखि सबैका खबर ओहोरदोहोर गर्दै आएको यो हुलाक कार्यालय बिरामी परेको खबर भने कसले देख्ने। धेरै वर्ष पहिले बनेको यो घर विगतमा गाउँ विकास समितिको कार्यालयका रूपमा रहेको थियो। पछि गाविसका काम यो घरबाट हुन छाडेपछि हुलाक सेवा यहीँबाट सुरू भयो।

यसै त जीर्ण बनेको घरलाई २०७२ सालको भूकम्पले धक्का दियो। त्यसयता पनि जीर्ण भएकै कारण पछाडिको भित्ता भत्किएको छ भने झ्याल खस्ने तयारीमा छ। पानी र हिलोले खाएको ढोका भुईँको भागबाट खिइँदै गएको छ, भित्ताको भाग पनि बीच बीचमा चर्किएको छ। बाहिरबाट भत्किन लागेको देखिने घरको भित्रको हालत पनि उस्तै नै हो। सिलिङको भाग कुहिएर खस्न थालेको छ।

हुलाकको काम ओझेलमा परेसँगै हुलाकसँग सम्बन्धित समस्याहरू पनि ओझेलमा पर्दै गए। हुलाक कार्यालय कामविहीन जस्तै अवस्थामा रहेको भए पनि त्यहाँ कार्यरत कर्मचारीको जीवनको महत्त्व भने अरू व्यक्तिहरू जत्तिकै हो। कसैको चासोमा नपरेको हुलाक रहेको भवनमा कार्यरत कर्मचारीको जीवन भने भवनकै कारण जोखिममा छ।

हुलाकीको काम गर्दै आएका  लेखनाथ सुवेदीले कार्यालय सम्हाल्दै आएका छन्। जनशक्ति नभएपछि आफूले नै निमित्त कार्यालय प्रमुखका रूपमा काम सम्हाल्दै आएको बताउने उनले कति बेला घर भत्किने हो र आफू त्यसैमा च्यापिने हो भन्ने चिन्तामा रहेको बताए। इमेलको प्रयोगका कारण हुलाकको काममा एकाएक ह्रास आएपछि कर्मचारीहरू कामविहीन जस्तै त छन् नै। काम घटेको भए पनि जीवन नै धरापमा राख्ने घरमा बसेर सरकारी कुर्ची रुँग्नु भने चुनौतीपूर्ण छ।

‘स्थायी मान्छे कोही पनि छैन। म करारको कर्मचारी हो। म यहाँ एक्लै काम गर्छ। कोही नआएर मै निमित्त कार्यालय प्रमुख भएको छु। यहाँको अवस्था त बेहाल छ’, सुवेदी भन्छन्, ‘चिठी बाँड्न जानुपर्ने बेलामा बाहिर हुन्छु नत्र यही कोठामा बस्ने हो। हावाहुरीले नै घर भत्काउला जस्तो छ। भूकम्प आयो भने त केही बाँकी रहन्न। नयाँ अफिस भन्दा पनि कतै सुरक्षित ठाउँमा सर्न पाए बाँचिन्थ्यो होला। अब बर्खाको बेलामा कति बेला के हुने हो भन्ने पिर छ।’

स्थानीयका अनुसार घरको एउटा कोठामा हुलाक र अर्को कोठामा स्थानीय विद्युत् उपभोक्ता समितिले खटाएका मान्छेहरू बस्दै आएका थिए। विद्युत्का कर्मचारीहरूले विद्युत् महसुल उठाउने, बिद्युत् सम्बन्धी समस्याको समाधान गर्ने काम त्यही घरबाट गर्दै आएका थिए। तर घर जोखिमपूर्ण अवस्थामा रहेकाले बस्न नसक्ने भएपछि उनीहरू पहिले केही दिन अगाडि सुरक्षित स्थानमा सरेका छन्।

हुलाकमा काम गर्ने कर्मचारी जुन कुनै बेलामा पनि दुर्घटनामा पर्न सक्ने भएपछि आफूले प्रहरीलाई खबर गरेर घरको अवस्थाको बारेमा जानकारी गराएर कार्यालयलाई सुरक्षित स्थानमा सार्ने प्रयास गरिरहेको स्थानीय ढाकाराम गौतमले बताए। ‘घर भत्किनै लाग्दा पनि कसैको वास्तामा परेन। त्यस्तो ठाउँमा मान्छे कसरी बस्ने हो? म पुगेर प्रहरीलाई बोलाएर मुचुल्का गरेका छौँ। ठूलीपोखरीको बजारमै रहँदा पनि यस्तो अवस्थामा राख्नु दुःखद हो’, उनले भने, ‘कर्मचारीले पटक–पटक अरूलाई भने पनि काम भएन भन्थे। कम्तीमा पनि सुरक्षित ठाउँमा सारौँ भनेर प्रहरीलाई खबर गरेर मुचुल्का गरेका छौँ। तत्कालका लागि नजिकै रहेको क्याम्पसको पुस्तकालयमा सार्ने कुरा भएको छ।’ भवनको मुचुल्का बनाइ इलाका हुलाक सेवा कार्यालयलाई पुनर्निर्माण लागि पहल गर्न सम्बन्धित निकायलाई पहल गर्न सिफारिस गर्ने गरी काम अगाडी बढाउन वडा कार्यालयलाई सुझाव दिइने गौतमको भनाइ छ।

प्रहरी चौकी ठूलीपोखरीका प्रमुख प्रहरी सहायक निरीक्षक जीवन भुजेल घर्तीले कार्यालयमा रहने कर्मचारी जोखिमपूर्ण अवस्थामा रहेको बताउँदै हावाहुरी आएकै बेलामा घर भत्किन सक्ने जोखिम रहेको बताए। निरीक्षणका लागि पुगेको प्रहरी सहितको टोलीले आफूलाई अन्य विकल्पको प्रयोग गर्न सुझाव दिँदै सोही भवनमा नबस्न भनेको पनि कर्मचारी सुवेदीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.