तीन तहको सरकारले दिगो योजना तर्जुमा ल्याउनु जरुरी छ

|

विराटनगर : कोशी अस्पतालको श्ययामा प्रसव पीडाले आमा छटपटाइरहँदा परिवार भने छोरा जन्मेला भन्ने आसमा थिए। नभन्दै ‘लेभर रुम’ बाट निस्किएको स्वास्थ्यकर्मीले छोरा जन्मेको खबर सुनाए, त्यो समय परिवारमा खुशीको छाल छल्किएर गाँउसम्म पुग्यो।

चारजना दिदीहरूले एउटा माइती पाउँदा थेगिनसक्नुको खुशी, छोरा जन्मेला भन्दा भन्दै चारवटा छोरी जन्माएकी आमाको पाठेघरले बल्ल विश्रामको महसुस गर्दाको क्षण।

त्यसो त उनका बुवाले छोरा जन्मेको खुसियालीमा गाँउभरका आफन्त बोलाएर मासु भात नै खुवाएका थिए। तर समयसँगै त्यो खुशीको स्वरूप बदलिँदै गयो। जब चन्चला लिम्बू (नुमा) को उमेरको खुड्किलाले संख्या थप्दै गयो उनले बाँचेको जीवन र स्वभावमा परिवर्तन हुन सुरु गरेको थियो।

जन्मिँदा पुरुष भएर जन्मेकी उनी नौ वर्षको हुँदा आफूलाई छोरा होइन भन्ने महसुसले दिनरात सताउन थालेको थियो।

तत्कालिन समय मोरङको रंगेलीमा बस्दै आएका उनको परिवार मधेस आन्दोलनको त्रासले केराबारी बसाई सरे तर उनी अहिले झापाको दमक बस्दै आइरहेकी छिन्। उनी लिड नेपाल संस्थाको झापा जिल्लाको कार्यक्रम संयोजक समेत हुन्।

उनी आबद्ध संस्थाले निल हिरा समजले झैँ एचआइ व्यवस्थापनको पाटोमा काम गर्ने, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानव अधिकारको क्षेत्रमा काम गर्ने साथै सोही समुदायकालाई क्षमता अभिवृद्धिको कार्यक्रमहरू गर्दै आइरहेको छ। उनी सोही कार्यक्रमको संयोजकको रुपमा एक दशक देखि झापाको दमकमा रहेर आफ्नो समुदायका हकहित र अधिकारको क्षेत्रमा काम गर्दै आइरहेकी छिन्।

नेपालभरी यौनिक तथा लैंगिक अल्पसंख्यक दस लाखको संख्यामा छन् तीमध्ये २० हजारलाई सेवा दिएको उनको दाबी छ।

त्यसो त उनका लागि यो स्थानसम्म पुग्न त्यति सहज भने थिएन। बाल्यावस्थामा आफ्नो पहिचान लुकाएर विद्यालय जानुको पीडा परिवार भित्र आफ्नो वास्तविकता लुकाएर परिवारसँगै बाँच्नुको पीडाले उनी जीवनमा धेरै पटक टुटेकी छिन्। यद्यपि जीवन जिउनै पर्छ भन्ने सोचले दोधारे परिचय बोकेर जसोतसो बाँचेकी उनी बिस्तारै आफूलाई समाजमा खुलाउँदै लगिन्। १६ वर्षको उमेर देखि पुर्णरुपले छोरीको आभास हुन थालेको उनलाई समाजले खुलेर बाँच्न दिने अवस्था थिएन। साथीहरूको खिसिट्युरी, परिवारको हेलाहोचोका चेपुवामा बाँचेको उनको जीवन यात्रालाई जसोतसो अगाडि बढाइन्।

‘म छोरा भएर जन्मिँदा परिवार धेरै खुशी हुनुहुन्थ्यो, जब उमेर बढ्दै गयो मेरा रहर, चाहना हरू छोरीको जस्तै हुन थाल्यो समाजको साँघुरो सोचसँग जुध्दै आफूलाई बचाउन निकै सकस थियो’, उनले भनिन्,‘तर, खुलेर बाँच्नु थियो, सायद मोरङमा परिचय खुलाएर अगाडि आउने मा म नै पहिलो हो जस्तो लाग्छ।’

बाटोमा हिँड्दा ढुङ्गा हान्थे

कुनै समय उनी र उनी जस्तै साथीहरू विराटनगरको सडकमा आफूलाई छोरी हुँ भनेर हिँड्दै गर्दा अपशब्द बोल्दै ढुङ्गा प्रहार नभएको पनि होइन। मान्छेको गाली र अपमान सहनु आफूहरूको बाध्यता रहेको बताउने उनी घरकै मान्छेले साथ नदिएको अवस्थामा पराइबाट साथ पाइन्छ भन्ने अपेक्षा नभएको सुनाउँछिन्। ‘हामी हाम्रो वास्तविक परिचयसहित खुलेर हिँड्दा मान्छेहरूले ढुङ्गा हान्थे,’ उनी भन्छिन्,‘ हुन त परिवारले नस्विकारेको हाम्रो पहिचान पराइबाट के अपेक्षा राख्नु जस्तो पनि लाग्थ्यो, मान्छेले मान्छेलाई दिएको चोटले पनि बाँच्न सिके जस्तो लाग्छ।’

कपाल पाल्नु हुँदैन भनेपछि कलेज छोडे

अनेकन इच्छा, चाहना र परिचयलाई दबाएर कक्षा १२ सम्मको अध्ययन गरेकी उनी स्कुल पढ्दा ताका केटाको पहिरनमा स्कुल जाने गर्थिन्। जब उच्च शिक्षा अध्ययनका लागि उनी कपाल पालेर क्याम्पस जान सुरु गरिन् उनलाई शिक्षकले कपाल काट्न लगाए त्यही दिनदेखि यता पढाइ छोडेकी उनी अहिले पनि पढाईको भोक नमेटिएको बताउँछिन्।

‘उमेर बढेसँगै मलाई कपाल पाल्ने रहर जाग्न थाल्यो, म कपाल पालेर क्याम्पस जाँदा सर ले कपाल काट्नु भन्नुभयो’, उनले विगत स्मरण गर्दै सुनाइन्, ‘म छोरी हुँ नि त किन कपाल काट्नु भन्ने लाग्यो त्यो दिन देखि क्याम्पस नै जान छोडिदिए।’

अहिले पनि उच्च शिक्षा हासिल गर्ने रहर रहेको उनी सुनाउँछिन्।

धेरै पटक हिंसामा परेँ

२०१४ मा थाइल्याण्डमा पुगेर शल्यक्रियामार्फत महिलाको शरीर बनाएर फर्किएकी उनी संघर्षको दौरानमा धेरै पटक यौन हिंसाको सिकार बन्न पुगेको तीतो विगत सुनाइन्।

छोराले बाँच्ने समाज र छोरीले बाँच्ने समाज अलग बनेको छ भन्ने बुझाइ छ। उनी भन्छिन्,‘मेरो इच्छा नफेरिएर छोरा थिए भने सायद हिंसा बेहोर्नु पर्दैन थियो होला है ?’  कहिले मानसिक त कहिले शारीरिक हिंसा ब्यहोरेर पनि कहिल्यै समाजसँग नहारेकी उनी आफू सफल हुनुमा पनि यही समाजमा बाँचेको मानिस रहेको बताउँछिन्।

संघर्षको समय कहिले भोकसँगै अपमान खेप्दै हिँडेकी उनलाई आफ्नो समुदायको नेतृत्वदायी भूमिकामा पुग्छु जस्तो कहिल्यै लागेको थिएन। तर, पनि आत्मबल र आत्मविश्वासले आफूलाई यो स्थानमा पर्‍याएको बताउने उनी पहिले भन्दा अहिले जीवन बाँच्न निकै सहज भएको सुनाउँछिन्। हिजो अपमान गर्ने हरूले नै अहिले सम्मानजनक ठाँउ दिँदा संघर्षको दौरानमा पाइला डगमगाउन नदिनु नै महत्वपूर्ण रहेको उनी सुनाउँछिन्।

‘राजनीतिमा हामीलाई प्रयोग मात्रै गरिन्छ’

निर्वाचनको समय यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्रचारप्रसारका लागि प्रयोग मात्रै गर्ने गरेको उनी सुनाउँछिन्। आफूहरूलाई पनि कुनै राजनीतिक पाहुँचसम्म पुग्ने चाहाना भए पनि निर्वाचन सकिएपछि कुनै पनि राजनीतिक दलहरूले सोधि खोजि नगर्ने गरेको उनले गुनासो सुनाइन्।

‘हामीलाई पनि राजनीतिक पहुँचमा पुग्ने इच्छा छ, तर हाम्रो समुदायलाई निर्वाचनको समय खाली प्रचारप्रसारमा प्रयोग मात्रै गर्छन्’,उनी भन्छिन्,‘हाम्रो समुदायलाई निर्वाचन सकिएपछि राजनीतिक दलहरूले बेवास्ता गर्छन्।’

सीपमुलक काम दिनुपर्‍यो

लामो समयदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक हित र अधिकारका लागि काम गर्दै आइरहेकी उनी तीनै तहको सरकारले यो समुदायलाई आत्मनिर्भर बन्ने दिर्घकालिन योजना तर्जुमा ल्याउनुपर्ने बताउँछिन्। कोही आफू पालिनुकै लागि देह व्यापारमा फसेका छन् त कोही नाचेर जीविकोपार्जन चलाइरहेको समेत उनले बताइन्।

‘हाम्रो संस्थाले समुदायको दिदीबहिनीहरूलाई विभिन्न तालिम रू दिँदै आइरहेका छौँ, त्यति मात्रैले पनि नपुग्ने रहेछ हामीलाई नाच्ने भन्छन्, कोही देह व्यापारले जीवन चलाउन बाध्य छन्’, उनी भन्छिन्,‘तीन तहको सरकारले अब हाम्रो समुदायलाई पनि सहज र सम्मानित ढंगले बाँच्न दिगो योजना तर्जुमा ल्याउनु जरुरी छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.