|

काठमाडौं : बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक एक घण्टा बितिसक्दासमेत सुरु हुन सकेको छैन।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।

नीति तथा कार्यक्रममाथि बोल्न एमाले र काङ्ग्रेसका सांसदहरू नाम टिपाएका र केही सांसदले बोल्नै बाँकी रहेकाले ती सांसदले बोल्न पाउनुपर्ने माग राखेपछि समयमै संसद् बैठक बस्न नसकेको हो। सहमतिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकहरूबीच वार्ता भइरहेको बताइएको छ। सहमति भएपश्चात केहीबेरमै संसद् बैठक सुरु हुने बताइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी छ।

नीति तथा कार्यक्रममाथि विपक्षी दलहरुले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डै २ घण्टाको समय लिएर बुँदा बुँदामा आलोचना गरेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदले पनि नीति तथा कार्यक्रम पुरानै निरन्तरता र कर्मकाण्डी मात्रै भएको आरोप लगाएका छन्।

राष्ट्रियसभाबाट भने यसअघि नै प्रधानमन्त्रीले जवाफ दिएर नीति तथा कार्यक्रम पारित भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.