|
फाइल तस्वीर ।

काठमाडौँ : अब वर्षाको समयमा सडककै कारण काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ। विगतमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो।

सरकारले केही समय पहिले द्रुत मार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर फोहर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ। पहिलेको ठेक्का तोडिएपछि नयाँ ठेक्कामार्फत काम गर्दा बढी समय लाग्ने हुँदा ‘फास्ट ट्र्याक’ बाट ठेक्का लगाएर निर्माण गरिएको योजनाका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए।

उनले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ काम सुरु गरेर चार महिनाभित्रै सकाइएको हो।’ सडक विभागले एक दशक पहिले बालाजु–रानीपौवा सडक निर्माणको जिम्मेवारी सैलुङ कन्स्ट्रक्सनलाई दिएको थियो। पटक–पटक अवधि थप हुँदासमेत सडक निर्माण नगरेकाले ठेक्का तोडिएको उनले बताए।

इञ्जिनियर भण्डारीले भने, ‘असारमा ठेक्का तोडेर असोजमा नै नयाँ ठेक्काबाट निर्माण थालिएको हो।’ पुरानो ठेक्का तोडेर तीनपिप्लेबाट मुड्खुसम्म नयाँ ठेक्का लगाएर काम सम्पन्न भएको योजनाले जनाएको छ। उक्त खण्डको सडक झन्डै साढे चार किमी लामो छ।

गत असोज २६ देखि नयाँ ठेक्कामा गएकामा २८ गतेदेखि काम सुरु भएको उनले बताए।

लामो समयदेखि अवरुद्ध सडकका कारण त्यहाँका बासिन्दाले दुःख पाएका थिए। वर्षाका कारण सडक भासिने र फोहर बोकेका गाडी जान नसक्दा वर्षेनि फोहरका गाडी फर्कने गरेका थिए। गत वर्ष वर्षाको समयमा महिनौँसम्म फोहर उठ्न नसकेपछि सरकारले उक्त सडक निर्माण चाँडो सकाउन चासो देखाएको थियो।

बालाजु–त्रिशूली–छहरे सडकमा बालाजु–त्रिशूली दुई ठेक्का र त्रिशूली–छहरे एउटा ठेक्का गरी तीनवटा ठेक्का गरिएको थियो। तीमध्ये तीनवटै ठेक्कामा काम ढिलाइ भएको छ। बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी गरेर यो योजनाले ६६ किमी सडक योजनाको कार्यक्षेत्रमा परेको छ।

यी तीनैवटा कम्पनीसँग विसं २०७०।७१ मा ठेक्का सम्झौता गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.