|

काठमाडौँ : खुमलटारमाथि २–० को जित निकाल्दै विभागीय टोली नेपाल पुलिसले राजधानीमा जारी शहीद स्मारक ए डिभिजनमा आठौं जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले शहीद खुमलटारमाथि २–० को सहज जित निकाल्दै छैटौँ स्थानमा पनि उक्लिएको छ। पुलिसलाई जित दिलाउन भरत शाह र मोहमद आसिकले समान एक गोल गरे।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल रहित बराबरी खेलेका थिए तर दोस्रो हाफमा भने पुलिस आक्रामक रणनीतिका साथ उत्रियो। खेलको ७६ औं मिनेटमा भरतको गोलमार्फत पुलिसले अग्रता लिएको थियो।

भरतले रविशंकर पासवानको कर्नरमा जो आइडुले हेड गर्दा प्राप्त बललाई हेडमार्फत नै पोस्टको दिशा दिएका थिए। त्यसपछि ८८ औं मिनेटमा आसिकले गोल गर्दै पुलिसलाई २–० को जित दिलाए र बाँकी समयमा थप गोल हुन सकेन।

यससँगै पुलिसले खुमलटारविरुद्ध लिड डबल (दुवै भेटमा पराजित) गरेको छ। पहिलो भेटमा पुलिस ३–१ ले विजयी भएको थियो। जितसँगै २१ खेलमा २८ अंक जोडेको पुलिस छैटौं स्थानमा उक्लिएको छ। पराजय ब्यहोरेको खुमलटार समान खेलबाट २१ अंकका साथ पुछारमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.