|

धनगढी : सुदूरपश्चिमका युवायुवतीलाई संसदीय प्रणालीसम्बन्धी अभ्यास गराइएको छ। सुदूरपश्चिम प्रदेश युवा परिषद्ले उक्त अभ्यास गराएको हो।

प्रदेशका युवाहरूको नेतृत्वदायी क्षमता बढाउने उद्देश्यले धनगढीमा ४ दिने संसदीय अभ्यास गराइएको बताइएको छ। नमुना युवा संसद् अभ्यासमा सामेल युवाहरूले संसद्का काम कारबाही, सरकारका काम र छनौट हुने योजना लगायतका बारेमा जानकारी लिएका छन्। यस्तै उनीहरूले नमुना युवा संसद् अभ्यासबाट नेतृत्वदायी क्षमताको विकाससँगै सही नेतृत्व छनौट र आफ्ना अधिकारका विषयमा समेत जानकारी लिएको बताएका छन्।

सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट प्रतिनिधिमूलक रूपमा युवायुवतीलाई उक्त कार्यक्रममा सहभागी गराइएको थियो। त्यस क्रममा प्रतिनिधिसभा र प्रदेशसभाले बनाउने ऐन, कानुन र कार्यान्वयनका चरणबारे छलफल गरिएको थियो। जेठ ९ गतेदेखि सुरु भएको नमुना युवा संसद् अभ्यास आजसम्म चलेको थियो।

प्रदेश युवा परिषद् सुदूरपश्चिमले हरेक वर्ष कार्यक्रम नै राखेर नमुना युवा संसद् अभ्यास आयोजना गर्दै आएको छ। युवाहरूको क्षमता बढाउन र संसद् तथा सरकारले गर्ने कामबारे अभ्यास दिन वार्षिक यो कार्यक्रम आयोजना हुँदै आएको परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए।

नमुना युवा संसद्ले राजनीतिक तथा सामाजिक नेतृत्वदायी क्षमता बढाउने कुँवरले बताए। सबै किसिमको नेतृत्व क्षमता भए युवाहरूले सफलता प्राप्त गर्ने उनको भनाइ छ। युवा परिषद्ले युवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ। सुदूरपश्चिमका युवालाई केन्द्रित गरेर प्रदेश सरकारले बजेट ल्याउनुपर्ने पनि युवा परिषद्को आग्रह छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.