|

सल्यान : जिप दुर्घटनामा घाइते श्रीमतीको उपचारको माग गर्दै श्रीमान् राजेश पुन अर्धचेत श्रीमतीलाई बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका छन्। कुमाख गाउँपालिका–७ जिमालीका पुनले श्रीमती सुनिता बोहरालाई बोकेर उपचारको सहयोगका लागि जिल्ला प्रशासन कार्यालय पुगेका हुन्।

गत मंसिर १५ गते कुमाख गाउँपालिका–७ डुमकोटबाट खैराबाङ आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए। सुनिता बोहरा तिनै घाइतेमध्येकी एक हुन्। 

यातायात समितिले वास्ता नगरेको र गाडीधनी अहिलेसम्म फरार अवस्था रहेको छ। उनलाई सेनाको हेलिकप्टरमा नेपालगञ्ज लगे पनि उपचार हुन नसकेपछि भारतको लखनउ लगिएको थियो। त्यहाँ उनको ३ महिनासम्म उपचार गर्दा लाखौँ रुपैयाँ खर्च भयो तर सन्चो भएन।

‘सुनिताका दुबै हातगोडा नचल्ने र बोल्न नसक्ने अवस्था छ। सबै निकायलाई गुहारेँ, सहयोग मागेँ। कुनै निकायबाट सहयोग पाउन सकिनँ, उपचार गर्न आर्थिक अभाव भएपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालय ल्याएको हुँ’, राजेशले भने।

‘पहिले प्रहरी कार्यालयमा ल्याएँ, त्यहाँबाट प्रशासन लैजाऊ भन्नुभयो। त्यसपछि प्रशासनमा ल्याएको हुँ। म एक्लै आउँदा मेरो कुराको सुनुवाइ हुँदैन भनेर बिरामी श्रीमती बोकेर ल्याउन बाध्य भएँ’, उनले भने। विरामीको यो अवस्था देख्दा त पक्कै पनि न्याय मिल्छ भन्ने राजेशको अपेक्षा छ।

उपचारमा हालसम्म २५ लाखभन्दा बढी खर्च भइसकेको बताउँदै ऋण दिएकाहरूले पैसा फिर्ता माग्दा झनै समस्या बढेको उनको भनाइ छ।

जिल्ला अस्पताल सल्यानका डा. जितेन्द्र भण्डारीले घाइते सुनिताको जिल्ला अस्पतालमा उपचार सम्भव नभएको बताए।

‘दुर्घटना हुँदा टाउकोको पछाडिको भागमा गम्भीर चोट भएपछि हेलिकप्टरबाट पठाइएको थियो। नेपालगन्जबाट पनि लखनउ लगिएको रहिछ, लखनउको रिपोर्टमा हेर्दा मस्तिष्कमा समस्या भएको देखिन्छ’, उनले भने, ‘अब सुनितालाई विशेषज्ञ सहितको उपचार चाहिन्छ, आफैँ खाने, हिँडडुल गर्ने र बोल्न सक्ने बनाउन सर्जन र फिजियोथेरापी आवश्यक छ।’ 

प्रहरीका अनुसार दुर्घटनामा परेको गाडी प्रहरी कार्यालयमा छ। गाडीचालक पक्राउ परिसकेका छन् तर गाडी धनी फरार हुँदा समस्या भएको छ। प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले उपचारको अभावमा छटपटाइरहेकी घाइते सुनितालाई उपचारका लागि वीर अस्पताल काठमाडौँ लैजान सहजीकरण गर्ने बताए।

‘घाइतेलाई तत्काल उपचारका लागि काठमाडौँ लैजाने व्यवस्था मिलाउँछु, आर्थिक जोहोका लागि सबैसँग समन्वय गर्छु’, उनले भने, ‘दुर्घटनाका घाइतेको उपचार गर्नबाट पन्छिरहेका यातायात समिति, बीमा समिति लगायतसँग बसेर यसलाई टुंगोमा पुर्‍याउँछु।’

भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वालाले घाइते बोहराको उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.