|

सर्लाही : सर्लाहीमा गर्मीजन्य संक्रमणका बिरामी बढेको चिकित्सकले बताएका छन्। निजी तथा सरकारी अस्पतालमा गर्मीबाट हुने संक्रमणका बिरामी उपचारका लागि आउने दर अत्यधिक बढ्न थालेको हो।

गर्मी बढ्दा झाडापखाला, अपच, बेहोस हुने, अत्यधिक टाउको दुख्ने, ज्वरो, रुघाखोकी, टाइफाइडजस्ता गर्मीजन्य संक्रमणका बिरामी बढेको चिकित्सकले बताएका छन्।

जिल्लाका निजी क्लिनिकमा बिरामीको अधिक चाप देखिन्छ। बागमती नगरपालिका–८, शंकरपुरका स्थानीय कृष्णदेव महतोले गाउँका अधिकांश मानिसमा घाँटी दुख्ने र ज्वरो आएर बिरामी परेको बताए।

यहाँका अधिकांश बस्तीमा पुग्दा अहिले ज्वरोका बिरामी अत्यधिक भेटिन्छन्। २४ सै घण्टा उखरमाउलो गर्मी हुँदा स–साना बालबालिका झन् धेरै बिरामी परेको स्थानीयले बताए।

बालबालिकाको उपचार हुने अस्पताल तथा निजी क्लिनिकमा बिहान र साँझपख उपचार गर्न ल्याइएका बालबालिका र उनीहरूका अभिभावकको भीड देखिन्छ। लालबन्दी नगरपालिका–१, नवलपुर क्षेत्रका क्लिनिकमा बिहानीपख अभिभावकले डेढ÷दुई घण्टासम्म पालो कुरेर बालबालिकाको उपचार गराएर फर्किने गरेका स्थानीय विप्लव खड्काले बताए।

निरन्तरको गर्मीले शिथिल भएका स्थानीय धमाधम बिरामी पर्न थालेका हुन्। बरहथवा स्वास्थ्य चौकीका निमित्त इन्चार्ज नरेन्द्र साहले केही दिनदेखि गर्मीजन्य संक्रमणका बिरामी उपचारका लागि आउने क्रम बढेको जानकारी दिए।

साहले गर्मी अत्यधिक बढेकाले पर्याप्त पानी पिउन र चर्को घाम लागेका वेला सकेसम्म घरबाहिर ननिस्कन सुझाव दिएका छन्। यो वेला खानपानमा ध्यान नदिए अपच र पखालाको जोखिम हुने भएकाले स्वस्थकर र ताजा खानेकुरा खान उनको सुझाव छ।

प्रादेशिक अस्पताल मलंगवाका निमित्त मेकिडल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले वेलावेलामा पानी परिरहेको र गर्मी समेत अत्यधिक रहेको अहिलेको मौसममा संक्रामक रोग वर्षेनि बढ्ने गरेको बताए।

डा. झाले जिल्लाकै सबैभन्दा ठूलो प्रादेशिक अस्पतालमा पनि विरामीको चाप बढिरहेको जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.