|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको १७ जेठदेखि ४ दिनसम्म हुने औपचारिक भारत भ्रमणमा स्वास्थ्यसम्बन्धी ४ वटा एजेण्डा पनि रहेका छन्।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणमा रहेका स्वास्थ्यसम्बन्धी पहिलो एजेण्डामा जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई १०० शय्याको बनाइदिन आग्रह गर्ने रहेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को क्षेत्रीय निर्देशकमा डा. शम्भु आचार्यलाई निर्वाचित गराउन भारतीय पक्षको सहयोग जुटाउने औपचारिक प्रस्ताव गर्ने विषयलाई दोस्रो एजेण्डामा राखिएको छ। डब्लुएचओको क्षेत्रीय निर्देशकका लागि नेपालबाहेक बंगलादेशले पनि आफ्नो दावी पेस गरिसकेको छ।

बंगलादेशले त्यहाँकी प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरी साइमा वाजेदलाई उम्मेदवार बनाएको छ। त्यसैले यसपटक नेपाल र बंगलादेश डब्लुएचओको आगामी क्षेत्रीय निर्देशकको लागि प्रतिस्पर्धा गर्दै छन्।

यो अवस्थामा भारतको समर्थन नेपालका लागि उल्लेखनीय हुने भएकाले डब्लुएचओको क्षेत्रीय निर्देशकको निर्वाचनमा भारतको समर्थन जुटाउने प्रस्ताव राखिएको मन्त्रालयले जनाएको छ। 

धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालको फ्याकल्टी एक्सचेन्जलाई निरन्तरता दिने, भारत र नेपाल दुवै साइडमा हेल्थ डेस्क स्थापना गर्ने एजेण्डा पनि नेपालले प्रधानमन्त्रीको भ्रमणमा प्रस्ताव गरिने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। हाल नेपाल–भारत सिमानामा नेपालतर्फ मात्रै हेल्थ डेस्क रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.