|

काठमाडौं : सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित तयार पारेको आर्थिक वर्ष ०८०/८१ को बजेट नारै नाराले भरिभराउ छ।

संवैधानिक व्यवस्थाअनुसार आज (जेठ १५ गते) संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा नारै नारामा समेटेर पुराना र नयाँ कार्यक्रम सार्वजनिक गरे।

अर्थमन्त्री महतले बजेट प्रस्तुत गरिरहँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘सुन्दा मात्रै रमाइलो लाग्ने तर हुने केही होइन’ भन्दै प्रतिक्रिया दिएका थिए भने कसैले ‘अर्थ नै नभएको अर्थतन्त्र’ सम्म भन्न भ्याएका छन्।

बजेट भाषण सुनेका सर्वसाधारणले नारामै मात्र सीमित हुने हो कि भन्ने आशंका व्यक्त गरेका छन्। तर सरकारले भने विकासका लागि भन्दै आकर्षक नाराहरुका साथमा नयाँ नयाँ कार्यक्रमसमेत समावेश गरि बजेट ल्याएको छ।

कृषिमा हालसम्मको धेरै बजेट ५५ अर्ब ८९ करोड रूपैयाँ बजेट विनियोजन गरेका अर्थमन्त्री महतले ‘उत्पादन साथमा अनुदान हातमा’, ‘खेतबारीमा प्राविधिक सेवा उत्पादनमा टेवा’, ‘रैथानेमा गर्व गरौं’ लगायत नाराका साथ सरकारी बजेटमा कृषिलाई प्राथमिकता दिन खोजेका छन्।

‘पोषणयुक्त घाँसेबालीको विकास गरौं’, ‘पशुजन्य उत्पादन बढाऔं’ भन्ने नारासहित सरकारले एक सय वटा स्थानीय तहमा जै, नेपियर, मेण्डुला, वर्सिम लगायत जातका घाँसेबाली विकास तथा पोषण सुधारका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

कृषि उत्पादन र उत्पादकत्व बढाउन ‘सिँचाइमा लगानी, खेतबारीमा पानी’ नाराका साथ अर्थमन्त्री महतले सिँचाइमा बजेटको फेहरिस्त घोषणा गरेका छन्।

‘आधुनिक जीवनको आधारः सूचना प्रविधि र सञ्चार’ को मान्यतालाई आत्मसात् गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाइने घोषणा गरिएको छ भने हुलाक सेवालाई पुनःसंरचना गरी ‘एक स्थानीय तह एक हुलाक’को अवधारणा कार्यान्वयनमा ल्याउने घोषणा गरिएको छ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले ‘अबको जीवन स्वदेशमा नै’ नारासहित विदेशबाट फर्केका व्यक्तिलाई उद्यमशीलता विकास गर्ने र रोजगारमा आबद्ध गरिने कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका छन्।

‘श्रमको सम्मान राष्ट्रको अभियान’ भन्ने नाराका साथ मर्यादित रोजगारीका अवसर सिर्जना गर्न जोड दिईने महतको भनाई छ। बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरी कृषिजन्य प्रयोगात्मक सिकाई प्रदान गर्न बजेट विनियोजन गरेको घोषणा अर्थमन्त्री महतले गरे।

‘आत्मनिर्भर अर्थतन्त्रको आधारः स्वदेशमै उत्पादन र रोजगार’ भन्ने नाराका साथ सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ।

जग्गा प्रशासनसम्बन्धी कामलाई सूचना प्रविधिमा आधारित बनाउन ‘जग्गा प्रशासनमा सुशासन’ नारासहित व्यवस्था मिलाइने सरकारको घोषणा छ।

‘उत्पादन र रोजगारः समृद्धिको आधार’ को नारालाई आत्मसात् गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल घुमौं, नेपाल चिनौं’ नारासहित अभियान सञ्चालन गर्ने, ‘गुणस्तरीय स्वास्थ्य उपचारः जनताको अधिकार’ भन्ने नारासहित आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइने घोषणा सरकारले बजेटमार्फत गरेको छ।

सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा ‘एक चिकित्सक-स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड रूपैयाँ छुट्याइएको अर्थमन्त्री महतले बताएका छन्।

नेपाली कांग्रेसको चुनावी एजेण्डा ‘कोखदेखि शोकसम्म सामाजिक सुरक्षा’ भन्ने नाराका साथ गर्भावस्थादेखि मृत्यु संस्कारसम्म जीवन चक्रका सबै चरणमा सामाजिक सुरक्षा प्रत्याभूत गराइने पनि अर्थमन्त्री महतले बजेटमा समेटेका छन्।

यस्तै ‘हरित अर्थतन्त्र : दिगो विकासको मन्त्र’ भन्ने मान्यता राख्दै सरकारले आयोजना कार्यान्वयनका हरेक चरणमा वातावरण संरक्षण र जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका क्रियाकलापलाई मूल प्रवाहीकरण गरिने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.