|

काठमाडौं : सरकारले पाँचतारेमाथिका ठूला होटल, आयातित मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा २ प्रतिशत विलासिता शुल्क लगाएको छ।

सोमबार संघीय संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० मा ‘विलासिताका वस्तु तथा सेवाको खरिदमा २ प्रतिशतका दरले विलासिता शुल्क लगाइ असुल गरिने’ उल्लेख छ।

पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, १० लाखभन्दा बढीका हिरा, मोती, पत्थरजडित सुनलगायत बहुमूल्य धातुका गहनामा २ प्रतिशत विलासिता कर लगाइएको छ।

पाँचतारे र सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले सेवा प्रदान गर्दा नै विलासिता कर लगाउनेछन्। आयातित मदिरामा पैठारी हुने भन्सार बिन्दुमा पैठारीका बेला विलासिता कर लाग्नेछ। १० लाखभन्दा माथिका पत्थरजडित धातुका गहना बिक्री गर्दा बिक्रेताले बिक्रीका बेलामा नै यो कर लगाउनेछन्।

विलासिता करबापत सङ्कलन गरेको रकम हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरणसहितको जानकारी सम्बन्धित राजस्व कार्यालयलाई पठाउनुपर्नेछ। कुनै व्यक्तिले विलासिता शुल्कबापतको रकम दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लगाई असुल गरिने व्यवस्था आर्थिक ऐनमा गरिएको छ।

विलासिता करसम्बन्धी विवरण पेश नगरेमा त्यस्तो व्यक्तिलाई विवरण पेश गर्नुपर्ने मितिबाट विवरण दाखिला नभएको मितिसम्म वार्षिक अढाई प्रतिशतका दरले हुन आउने रकम शुल्क लाग्नेछ। विलासिता शुल्कबापतको रकम असुल नगरेमा सो रकमको २५ प्रतिशत शुल्क लाग्ने आर्थिक ऐनमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.