|

काठमाडौं : इन्स्च्यिुट अफ एड्भान्स कम्युनिकेशन, एजुकेशन एण्ड रिसर्च (आइएसिइआर)ले बैंकिङ विषयको पढाइमा विशेष अंग्रेजी पाठ्यक्रमको आवश्यकताबारे बहस थालेको छ। ​आइएसिइआरले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘इन्डष्ट्री–एकेडेमिक डाइलग सिरिज’ आयोजना गरी सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो।

कार्यक्रममा बैंकिङ विषयको अध्यापनमा बोलीचाली, लेखनसीप, अन्तरराष्ट्रिय सम्बन्ध लगायत समेटेर पाठ्यक्रम तयाार गर्ने विषयमा छलफल भएको थियो। 

अमेरिकास्थित बोस्टन युनिभर्सिटीकी प्रोफेसर मेरी व्याटनफेल्डले बैंकिङ क्षेत्रमा अंग्रेजी विषयको महत्वबारे प्रस्तुति दिएकी थिइन्। उनले समाज र संस्कृतिलाई बुझेर स्थानीय स्तरमा बैंकिङ सेवा विस्तार र अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा भाषाको महत्व रहने बताइन्।

‘भाषा व्याकरण र शब्दभण्डार मात्र होइन। भाषा सँगसँगै समाज र संस्कृति जोडिएर आउँछ। अन्तरराष्ट्रिय सम्पर्क माध्यमको रुपमा रहेको अंग्रेजीको छुट्टै पाठ्यक्रमले समयानुकूल सक्षम जनशक्ति उत्पादनमा टेवा दिन्छ,’ उनको भनाइ थियो।

प्राध्यापकहरू डा. शीतल ग्रीन दाहालले बैंकिङ कारोबार र भाषाको महत्व, उज्जवल प्रसाईले बैंकिङ प्रणाली तथा समाज र लीलाराज विमलीले बैंकरलाई सञ्चारको सीपको आवश्यकताबारे प्रस्तुति दिएका थिए।

आएसिइआरका प्रमुख कृष्णप्रसाद निरौला, एडिबि नेपालका प्रतिनिधि देवेन्द्र पोखरेललगायतको सहभागिता रहेको थियो।

कार्यक्रम संयोजन प्राध्यापक ताराप्रसाद अधिकारीले गरेका थिए। अधिकारीका अनुसार पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त आइएसिइआरले बोस्टन युनिभर्सिटीसँगको सहकार्यका पाठ्यक्रम तयार गर्ने विषयमा छलफल गरिरहेको छ।

बैंकिङको पढाइमा अंग्रेजी विषयको विशिष्ट पाठ्यक्रम तयार गर्ने प्रयास पहिलो भएको आइएसिइआरको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.