|

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताएका छन्।

बिहीबार काठमाडौंमा एक कार्यक्रममा उनले बोर्डले आवश्यक ठानेर पठाएको मागको बेवास्ता गर्दै सरकारले बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरेको बताएका हुन्।

उनले नेपाली चलचित्र प्रवर्द्धनका लागि स्टुडियो बनाउने कुराले खुशी बनाए पनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट नदिएको बताए।

उनले बजेटमा सरकारले विदेशी चलचित्र आयात गर्ने कुरामा ५ प्रतिशत कर लगाउन बेवास्ता गर्दै १ प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति पनि असन्तुष्टि जनाए।

उनले भने, ‘नेपाली चलचित्र प्रवर्द्धनका स्टुडियो आवश्यक छ। एउटा स्टुडियो पनि नभएको अवस्थामा दुईवटा स्टुडियोको अवधारणा आयो, त्यो सुनेर हामी हर्षित भयौँ, एउटा काभ्रे र अर्को दोलखाको। अर्को विदेशी चलचित्र आयात गर्ने बारेमा हामी सबैले छलफल गरेर सुझाव दिएका थियौँ, विदेशी चलचित्रको शुल्क ५ प्रतिशतसम्म गरियोस् वा एक लाखसम्म गरियोस् भन्ने माग थियो तर त्यसमा १ प्रतिशत मात्रै आयो।’

अध्यक्ष केसीले चलचित्र क्षेत्रलाई सरकारबाट चासो नदिएकोप्रति प्रधानमन्त्रीको भारत भ्रमणपछि विस्तृत रुपमा छलफल गर्ने बताए।

‘हामीले चलचित्रसम्बन्धी आवश्यक कुरा मन्त्रालयमा बढाएका छौँ। यस बारेमा जानकारी लिँदा अर्थ मन्त्रालयसम्म पुगेको रहेछ। अर्थबाट हामीले पठाएको मागभन्दा ठिक उल्टो गरी आएको छ‚’ उनले भने‚ ‘प्रधानमन्त्रीज्यू भारत भ्रमणबाट आउनेबित्तिकै यसबारेमा कुरा गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले आश्वासन दिनुभएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.