|

धनकुटा : धनकुटामा जंगली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ।

शहीदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। 

जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकी धरान रेफर गरिएका उनीहरूको उपचारका क्रममा शुक्रबार बिहान आमाको मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए।

सिकिस्त रहेका उनीका छोराको पनि आईसीयू कक्षमा उपचारका क्रममा बेलुकी मृत्यु भएको छिमेकी भोगेन्द्र राईले जानकारी दिए। प्रहरी सञ्चार शाखाका अनुसार मृतकले यही जेठ १५ गते धनकुटा–७ मा रहेको चुलिवन जंगलबाट जंगली च्याउ ल्याएर खाएका थिए। च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए। 

जिल्लामा उपचार हुन नसकेपछि १८ गते उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको थियो। उपचारमा संलग्न जिल्ला अस्पतालका डा.डुराण्ड सिंह खड्काका अनुसार पखला लाग्ने र बान्ता हुने समस्या लिएर बुबाआमा र छोरा अस्पताल आएका थिए। उपचारपछि बुबा ठीक भएका थिए भने आमाछोराको स्वास्थ्यमा सुधार भइरहेको थियो। 

अचानक आमाको रक्तचाप कम भई बेहोशीको अवस्था छाएको र छोराको मिर्गौलामा समस्या देखापरेको थियो। त्यसपछि भने थप उपचारका लागि धरान रेफर गरिएको डा. खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.