|

सुर्खेत : कर्णाली प्रदेशबाट अक्सर विदेश जानेको संख्या देशभरमै कम देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले दिएको जानकारीअनुसार कर्णालीबाट विदेश जानेको जनसंख्या ६२ हजार ७२८ परिवारबाट ९४ हजार ३२० जना रहेको छ। कर्णालीमा विदेश बस्नेको संख्या अन्य प्रदेशका भन्दा कम देखिएको छ। सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट चार लाख २० हजार ९०६ जनाको विदेश बसोवास रहेको तथ्यांकमा देखिन्छ।

पुरुषको संख्या ७७ हजार २७८ अर्थात् ८१.९ प्रतिशत र महिला १७ हजार ४२ अर्थात् १८.१ प्रतिशत रहेका छन्। २०६८ को जनगणनामा ६७ हजार ५८२ जना विदेशमा बसोवास गर्ने व्यक्तिको संख्या थियो।

राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार ४१२ छ। जसमध्ये आठ लाख २३ हजार ७६१ पुरुष र आठ लाख ६४ हजार ६५१ महिला छन्। यहाँ पुरुषको तुलनामा महिलाको जनसंख्या बढी देखिन्छ। लैङ्गिक अनुपातमा प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.२७ प्रतिशत रहेको छ। २०६८ को जनगणनामा लैङ्गिक अनुपात ९५.६९ थियो। योपटक गरिएको जनगणनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक (अन्य लिङ्गी)लाई पनि समेटिएको छ। देशभरमा दुई हजार ९२८ संख्या रहेकोमा कर्णालीमा २.८ प्रतिशत रहेको छ।

कर्णालीमा १० वर्ष वा सोभन्दा बढी उमेरका छ लाख ६८ हजार ७१५ जनामध्ये आर्थिक रूपमा सक्रिय अक्सर रोजगारको संख्या छ लाख १८ हजार ४८७ रहेको छ भने ५० हजार २२८ जना बेरोजगार रहेको तथ्यांकले देखाएको छ। यीमध्ये विद्यार्थी भएकोले आर्थिक रूपमा काम नगर्नुको प्रमुख कारण देखाइएको छ।

साथै वृद्ध अवस्था, पारिवारिक हेरचाह, अशक्त विरामी, पेन्सन, सामाजिक कार्य लगायतका कारण रहेका छन्। ५ वर्ष वा त्यसभन्दा बढी उमेरका कुल जनसंख्यामा ७६.१ प्रतिशत साक्षरतादर रहेको छ। तीमध्ये सबैभन्दा बढी प्राथमिक तह (३०.९ प्रतिशत), दोस्रोमा निम्न माध्यमिक तह (२१.५ प्रतिशत), एस. एल.सी वा सो सरह (८.० प्रतिशत) र सो भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरू १५.८ प्रतिशत रहेको तथ्यांक छ।

कर्णालीमा वार्षिक औसत जनसंख्या वृद्धिदर ०.७० रहेको छ। त्यसमध्ये सबैभन्दा बढी सुर्खेतमा १.६२ र सबैभन्दा कम दैलेखमा –०.३५ प्रतिशत रहेको छ। कर्णालीमा सबैभन्दा धेरै जनसंख्या रहेको जिल्ला सुर्खेतमा चार लाख १५ हजार १२६ छ भने सबैभन्दा कम डोल्पामा ४२ हजार ७७४ रहेको छ।

कर्णालीका ६१.४ प्रतिशत परिवार घरपरिसरमै र २४.१ प्रतिशत परिवारले मूल धारबाट खानेपानी प्रयोग गर्ने गरेको तथ्यांक छ। ४९.६ प्रतिशत नागरिक ४९.६ प्रतिशत विद्युतको पहुँचमा छन् भने ४७.९ प्रतिशतले सौर्य ऊर्जा प्रयोग गरेका छन्।

नतिजानुसार देशका १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा अक्सर बसोवास रहेको कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.