काठमाडौँ : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइजले १२ औँ जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा जावलाखेल युथ क्लबमाथि २–० को जित निकाल्दै दोस्रो स्थानको मच्छिन्द्रसँग ५ अंकको अग्रता बनाएको छ। चर्च ब्वाइजको जितमा अञ्जन बिष्टले गोल गरे।
जितसँगै चर्च ब्वाइजले लिगमा ४४ अंक बनाएको छ। आजै भएको खेलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले आर्मीमाथि २–१ को जित निकालेको हो।
सातदोबाटोको जितमा शिव सुवेदी र दीपकराज सिंह ठकुरीले एक/एक गोल गरे। आर्मीका लागि नवयुग श्रेष्ठले एक गोल गरे। जितसँगै सातदोबाटो ३२ अंकसहित लिगको पाँचौँ स्थानमा उक्लिएको छ।
आजै भएको अर्को खेलमा थ्री स्टार र एपीएफले बराबरी खेल्दै अंक बाँडेका छन्। अन्तिम समयसम्म अग्रता जोगाउन नसक्दा एपीएफ बराबरीमा रोकिन पुगेको हो। एपिएफका लागि खेलको २३ औँ मिनेटमा मणिकुमार लामाले गोल गर्दै अग्रता दिलाए पनि थ्रीस्टारका सुनिल तामाङले ८६ औँ मिनेटमा बराबरी गोल फर्काए।
बराबरीसँगै एपीएफले ३० अंक बनाएको छ। थ्रीस्टारले २८ अंक बनाएको छ।
जारी लिगमा ४४ अंक सहित चर्च ब्वाइज शीर्ष स्थानमा छ। ३९ अंकको मच्छिन्द्र दोस्रो तथा ३७ अंक सहित जावलाखेल तेस्रो स्थानमा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।