|

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार थुनछेक बहस सुरु भएको छ। थुनछेक बहसका लागि १० दिनको समय तोकिएको छ।  

जिल्ला अदालत काठमाडौंले यस प्रकरणका आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे ३१ जेठ आदेश गर्ने भएको हो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै ३१ गते मध्याह्नअघि बहस टुंग्याउन आग्रह गरेका छन्।

सो समयमा सरकारी वकिल, जाहेरीकर्ताका कानून व्यवसायी, आरोपितहरुका कानून व्यवसायीहरुका लागि समय व्यवस्थापन गरिएको छ।

न्यायाधीश न्यौपानेले जाहेरीकर्ताको तर्फबाट बहसका लागि सरकारी वकिललाई ३ दिनको समय दिएको सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए।

सरकारी वकिलहरुले आजै आरोपको पक्षमा बहस शुरु गरेका छन्। नेउपानेका अनुसार अहिले न्यायाधिवक्ता महेशप्रसाद खत्रीले बहस गरिरहेका छन्। सरकारी वकिलको तर्फबाट आज २ जनाले बहस गर्ने तयारी छ। प्रतिवादीतर्फका वकिलहरुलाई ६ दिनको समय तोकिएको छ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ३० जनाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाईएको छ।

प्रतिवादीहरुबाट २७ करोड ५० लाख बिगो मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते मुद्दा दायर गरेको थियो।

थुनछेक बहसका लागि पक्राउ परेका १८ जनालाई जिल्ला अदालतमा उपस्थित गराईएको छ। अन्य १२ जना अझै फरार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.