|

काठमाडौँ : विभागीय टोली नेपाल पुलिसविरुद्ध लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा साविक विजेता मच्छिन्द्र फुटबललाई शहीद स्मारक ए डिभिजन लिग उपाधिको लक्ष्यमा धक्का लागेको छ।

ललितपुरस्थित च्यासल मैदानमा आइतवार सम्पन्न खेलमा नेपाल पुलिस क्लबसँग २–१ ले पराजित भएपछि मच्छिन्द्र फुटबल क्लबको उपाधि लक्ष्यमा धक्का लागेको हो।

मच्छिन्द्रले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न असफल रहेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा ओलावाले अफिजको गोलमार्फत मच्छिन्द्रले शुरुवाती अग्रता बनाउन सफल भएको थियो।

दोस्रो हाफमा पुलिसले सुधारिएको खेल देखाउँदा मच्छिन्द्र निरीह बन्न पुग्यो। पुलिसको जितमा दुवै गोल विदेशी खेलाडी मोसेस टोएमले गोल गरेका थिए। राजधानीमा जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा रहेका अफिजले २३औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए।
 

छिरिङ गुरुङको क्रसलाई सदुपयोग गर्दै अफिजले जाली चुमाउन सफल हुँदा मच्छिन्द्रले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा सुधारिएको खेल देखाएको पुलिसका लागि ७३ औं मिनेटमा मोसेसले फ्रीकिकमार्फत उत्कृष्ट गोल गरेपछि खेल बराबरीको अवस्थामा आएको थियो। त्यसको  १० मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मोसेसले पुलिसलाई २–१ को रोमाञ्चक अवस्थामा पुर्‍याएका थिए।

बाँकी समयमा मच्छिन्द्र खेलमा फर्किन निकै प्रयास गरे पनि बलियो पुलिसको रक्षापंक्तिलाई तोड्न असफल रह्यो।

जितसँगै पुलिसले लिगमा मच्छिन्द्रविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ। पहिलो भेटमा मच्छिन्द्र २–१ ले विजयी भएको थियो। पछिल्ला पाँचौं खेलमा सुखद नतिजा निकालेको पुलिसले २४ खेलबाट ३७ अंक भएको छ। हारपछि ३९ अंक जोड्दै दोस्रो स्थानमा रहेको मच्छिन्द्र शीर्ष स्थानको चर्च ब्वाइजभन्दा पाँच अंकले पछि परेको छ।

लिगअन्तर्गत आइतवार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल रहित खेलेका थिए।

दोस्रो हाफको ५२औं मिनेटमा हिमालयन शेर्पाले दिवस उराउको गोलबाट अग्रता निकाले पनि ५५औं मिनेटमा दीपेश आले मगरले गोल फर्काउँदा खेल १–१ को बराबरीमा पुगेको थियो। त्यसपछिको बाँकी समयमा दुवै टोलीले गोलका लागि केही प्रयास गरे पनि सफल हुन सकेनन् र दुवैले अंक बाँड्न बाध्य भए।
बराबरीसँगै एनआरटीले २४ खेलमा ३० अंक जोडेको छ। हिमालयनले २४ खेलमा ३१ अंक जोडेको छ।

यस्तै संकटा क्लबले रेलिगेशन क्षेत्रको एफसी खुमलटारमाथि ३–० को सहज जित निकालेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतवार सम्पन्न खेलमा संकटालाई जित दिलाउन निशान खड्का, आयुष घलान र चन्दनकुमार दासले समान एक गोल गरे। जितसँगै संकटाले खुमलटारविरुद्धका दुवै लेगमा सुखद नतिजा हात पारेको छ।

यसअघि पहिलो भेटमा संकटा १–० ले विजयी भएको थियो। जितसँगै संकटाले २४ खेलमा ३० अंक जोडेको छ। पराजय व्यहोरेको खुमलटार समान खेलबाट २४ अंकका साथ तालिकाको पुछारमा यथावत् छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.