|

तुलसीपुर : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थारूहरूले पहिचानको कुरा गर्दा जातिवादको आरोप लाग्ने गरेको बताए। आइतबार दाङको तुलसीपुरमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू जातिवादी नभएको तर केही साथीहरू अतिवादी बनेको बताए।

उनले भने, ‘जसको घरजग्गा सीमामा पर्दैन‚ जसलाई दुई देशका व्यक्तिले सताएनन् उनीहरू नै अहिले अतिराष्ट्रवादी ठहरिने गरेका छन्। दुई देशबीचको सीमामा बसेर देशको रक्षा गर्ने व्यक्ति थारू हुन्। यो देशमा सरकारसँग सिमानामा गाड्ने खम्बा र पर्याप्त सुरक्षाकर्मी नहुँदा थारू समुदायले सालको खम्बा गाडेर यो देश बचाएका थिए।’

यस्तै उनले आज तिनै देश जोगाउनेहरूले आफ्नो पहिचानका लागि थरुहट प्रदेश माग गर्दा निर्दोषलाई जेलमा राखेको पनि आरोप लगाए।

‘हामीले मान्छे मारेका हैनौं, मान्छे मार्नेलाई खोजेर ल्याऊ, टीकापुर घटना कुनै बन्द कोठामा भएको घटना होइन, टीकापुर घटना तीसौँ हजार जनताले देखेका छन्’, उनले थपे, ‘जसले मार्‍यो उसलाई जेल राख्नुस्। खेतबारीमा काम गरिरहेका किसानलाई झूटो आरोपमा जेल हालियो। त्यो घटना हुँदा म गुलरियामा थिएँ। मलाई पनि त्यही घटनामा मुछियो।’

उनले अब नागरिक उन्मुक्ति पार्टी पछि नपर्ने दाबी गरे। उनले थरुहटको पहिचानसँग जोडिएको पार्टी भएको हुँदा र ढकिया चिह्न थारूहरूको पहिचान भएको समेत बताए। उनले आफू जेलबाट बाँचेर फर्किन्छु भन्ने कल्पना समेत नगरेको पनि बताए।

यस्तै उनले आफूलाई कहिले कमजोर नठान्न चेतावनी दिए। उनले भने, ‘अब बचेको जिन्दगी थारूहरूको पहिचानका साथै उत्पीडित, दलित‚ मधेशी‚ मुस्लिम र पछाडि परेको वर्गका पक्षमा लड्ने हो। मेरो यो दोस्रो जीवन हो। त्यस कारण म पहिचानका लागि लड्छु। नागरिक उन्मुक्ति पार्टी र चुनाव चिह्न ढकिया जनताका लागि हो।’

यस्तै उनले उनले २०८४ सालमा हुने निर्वाचनमा थप सिट जित्ने समेत दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.