|
फाइल तस्वीर

काठमाडौं : पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न रहेको भए अर्थमन्त्री जवाफदेही हुनुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोष्ट बजेट–अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।

उनले गत वर्षजस्तै यो वर्ष पनि बजेट बनाउँदा अनधिकृत व्यक्ति छिरेको आशंका गरेर मिडियामा समाचारहरु आउन थालेको भन्दै त्यो सत्य नहोस् भन्ने पक्षमा आफू रहेको बताए। 

उनले यो वर्ष पनि करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश भएको भए अर्थमन्त्री कठघरामा उभिनुपर्ने बताए। उनले पनि अघिल्लो वर्षमा भएका करका अनियमिताहरु हल र कोर्स करेक्सन नभएको बताए। उनले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षका बजेट कमजोर जगमा बनेको बताए।

उनले कसैलाई खुशी पार्न नसक्ने बजेट आलोचित हुने बताए। उनले स्ट्रक्चर बनाउन खोजे पनि जग नै कमजोर रहेको बताए। उनले बजेट कमजोर जगमा बनेकाले कार्यान्वयन र लक्ष्य हासिल हुने कुरामा प्रश्न उठ्ने बताए। 

उनले भने,‘फल्स ग्राउण्डमा तयार भएको छ। स्ट्रक्चर बनाउन खोजेको छ तर कमजोर जगमा। जग अर्काले बनाईदियो स्ट्रक्चर तपाईं गरिहनुभएको छ। अहिलेको बजेट कमजोर जगमा बनेकाले त्यसको कार्यान्वयन र लक्ष्य हासिल हुने कुरामा र प्रभावकारीतामा प्रश्न उठ्छ। अर्थमन्त्रीले ल्याएको बजेटमा करका दरको विषयमा समाचारहरु आइरहेका छन्। बजेटको करका दर बनाउन फेरी पनि मुसा छिरे अरे, फेरि पनि अनधिकृत व्यक्तिहरु छिरे रे, फेरि पनि अघिल्लो वर्षमा भएका करका अनियमितताहरु हल भएनन् अरे, कोर्स करेक्शन भएन अरे। विकृति बढ्दै गए भन्ने सुनेको छु। यी कुरा सत्य नहुन्। यस्तो कुरा भेटियो भने अर्थमन्त्री जहिले पनि कठघरामा उभिएर जवाफ जवाफदेही हुनुपर्छ। सत्यको पक्षमा उभिन सक्नुपर्छ।’

उनले विद्युतीय सवारीसाधनमा सरकारले अहिले नै प्राथमिकता दिनुपर्ने बेला नभएको बताए। उनले जैविक इन्धनका सवारीसाधनले मात्रै वातावरण प्रदुषण नगरेको भन्दै काठमाडौंमा चल्ने सवारीसाधन मात्रै नभएर आन्तरिक अन्य कारणले पनि प्रदुषण भइरहेको बताए।

उनले प्रदुषणको कारण गाडीमात्र नभएको बताए। उनले नेपालमा सिम्टा बालेर बस्ने, पुल्ठो बालेर बस्ने, प्लास्टिक बालेर आगो ताप्ने मानिस रहेको भन्दै यसमा पनि ध्यान दिनुपर्ने बताए।

उनले अहिले सबै विद्युतीय गाडीको पछि लागेको भन्दै विद्युत खपतमा सरकारले औद्योगिकरण र उद्योगलाई विद्युत सस्तो बनाउन आवश्यक रहेको बताए।

उनले विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई लक्षित गरी विद्युतीय सवारीसाधनले मात्रै विद्युत खपत नहुने बताए। उनले विद्युतीय सवारी साधनले बढीमा २ सय मेगावट पनि विद्युत खपत नहुने भन्दै ४ हजार मेगावटसम्म खपत हुन नसक्ने बताए।

उनले भने, ‘हाम्रो वातावरण प्रदुषण काठमाडौंमा पेट्रोलियम पदार्थका गाडी चलेर मात्रै हो? आन्तरिक रुपमा प्रदुषण भएको छैन र गाउँघरमा दाउरा बालेर प्रदुषण गरिरहेका छौं। त्यसबाट केके ग्याँस उत्पन्न हुन्छ। प्लाष्टिक र कृषिजन्य बस्तु बालेर काम चलाइरहेका छौं। त्यसले हाम्रो प्रदुषण बढाउँछ। हामी एउटा विद्युतय गाडीको पछाडि कुदेका छौं। मैले विद्युतीय सवारीमा २ सय मेगावटको विद्युत खपत हुने हिसाब निकालेको छु। तर रत्नपार्कतिरका एक जना साथीलाई चित्त नै बुझ्दैन। जहिले पनि विद्युत सवारीसाधन ल्यायो भने ४ हजार विद्युत खपत हुन्छ भने झैँ गर्नुहुन्छ। विद्युत खपत गर्ने भनेको उद्योग हो। उद्योगहरुलाई सस्तो विद्युत दिने हो। औद्योगिकीकरणमा जाने हो। ग्राहस्त उत्पादनको विद्युत र एलपीजी हटाउने हो। सवारी गुडाएर १०० मेगावाट होला। अबको १० वर्षसम्ममा हामी जाने भनेको विद्युतीय सवारीसाधन नै हो। तर बाटो त्यही हो भन्दैमा अहिले नै बाटो परिवर्तन गर्नुपर्छ भन्ने छैन। केही समय कुर्नुपर्छ।’

उनले सस्तो लोकप्रियताको लागि मात्रै अर्थमन्त्री हुनु नहुने र अहिले गाली खाए पनि पछि वाहीवाही पाइने बताए। उनले अर्थमन्त्रीले लोकरिझाँइभन्दा पनि गाली खाने गरी बजेट निर्माण गर्न सक्नुपर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.