|

धनगढी : कैलालीको कैलारी गाउँपालिकाले वर्षेनि बाढी र डुबानबाट प्रभावित हुँदै आएका परिवारलाई लक्षित गरी बगर खेतीमा शतप्रतिशत अनुदान दिएको छ।

जिल्लामै सबैभन्दा बढी बाढी र डुबानबाट प्रभावित हुँदै आएको गाउँपालिकाले प्रभावित परिवारको दैनिक जीविकोपार्जन सहज बनाउन बगर खेतीमा प्रोत्साहन गरेको हो। गत वर्षको बाढीबाट विस्थापित १६ घरपरिवारलाई टेन्टमा जंगलमा बसोवास गराउँदै आएको गाविसले खासगरी मोहनपुर, शिवरत्नपुर, हौसलपुर, बैसपुर लगायतका बाढी प्रभावितलाई बगर खेतीमा अनुदान दिएको हो।

बगर खेती गर्ने प्रविधिका बारेमा गाउँपालिकाको विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर इच्छुक किसानलाई खेती प्रणालीको प्रशिक्षण दिने गरिएको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताए।

चौधरीले भने‚ ‘बाढी प्रभावितहरूको आर्थिक अवस्था राम्रो होस् भन्ने उद्देश्यले बगर खेतीका लागि प्रोत्साहन गरेका हौँ। बाढी प्रभावित क्षेत्रमा एकदमै गरिबी छ।स्थानीय सरकारको सीमित स्रोत, साधन हुन्छ। त्यसैले सहयोग पुगोस् भनेर अनुदानमा बगर खेती गर्न सघाएका हौँ। यो गाउँपालिका जिल्लामै सबैभन्दा बढी बाढीप्रभावित क्षेत्र हो। गत वर्षको बाढीले वडा नम्बर ३ को शिवरत्नपुरमा १६ घर परिवारसहितको बस्ती बगाएको थियो। उनीहरूको एकधुर पनि जमिन छैन। मोहना जस्ता ठूलाठूला नदीका कारण बजेटको कमीले तटबन्ध निर्माण हुन सकेको छैन।’

गाउँपालिकाबाट अनुदान पाएपछि बाढी प्रभावित समुदाय बगर खेतीमा लागेका हुन्। गाविसले उनीहरूलाई बालुवामा खेती गर्ने तरिका सिकाउनुका साथै बीउ, मल तथा कृषि विज्ञको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ।

अहिले मोहना, घुरा लगायतका नदी किनारमा बारेर किसानले बगर खेती गरेका छन्। नदी किनारका अधिकांश ठाउँ बगर खेतीका कारण हरियाली देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.