|

काठमाडौं : सोमबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको सचिवालय बैठक चुनावी समीक्षामा केन्द्रित छ। सोमबार बैठकको सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा सोचेजति स्थानीय तहमा जित हासिल हुन नसक्नुको कारण आफ्नै पार्टीभित्र खोज्नुपर्ने तर्क गरे। 

जनताले माओवादी एजेण्डा बुझेको र मत पनि दिँदादिँदै चुनाव जित्न नसक्नुका पछाडि अव्यवस्थित संगठन भएको बताउँदै प्रचण्डले संगठनलाई निर्मम ढंगले व्यवस्थित र परिचालन गर्दै नयाँ पार्टी निर्माणमा लाग्न नेताहरुलाई सुझाएका थिए। 

जनताले कांग्रेस एमाले जस्तै अर्को पार्टी नरुचाएको भन्दै प्रचण्डले कि त यस्तो पार्टी भंग गरौं, कि त नयाँ पार्टी निर्माण गर्ने आँट गरौं भन्दै नेताहरुलाई बिषय केन्द्रित भएर रिपोर्टिङ गर्न आग्रह गरेका थिए। चुनावको समीक्षा गर्दै सातै प्रदेशका संयोजक र इन्चार्जहरुले रिपोर्टिङका साथै प्रचण्डको भनाइमा आफ्ना भनाइ राखेका थिए। 

कसले के भने ?

सावित्राकुमार काफ्ले  इन्चार्ज, प्रदेश नम्बर १ : कांग्रेस र एमालेले कर्मचारी सेटिङ गरेर पठाएका कारण हाम्रो पार्टीलाई गाह्रो परेको थियो। सोचेजति चुनावी नतिजा हासिल गर्न नसके पनि नौ स्थानीय तह जितेका छौं। आर्थिक रुपमा पनि हामी धेरै खर्च गर्न सक्ने अवस्थामा थिएनौं। जे भए पनि स्थानीय तह चुनावले निष्क्रिय रहेका कार्यकर्ता उत्साहित र सक्रिय भएका छन्। वर्ग संघर्षलाई नयाँ तरिकाले उठान गरेर जानुपर्छ। 

मातृका यादव इन्चार्ज प्रदेश नम्बर २ : अन्यत्रको निर्वाचन नतिजाले हामीलाई पाठ सिकाएको छ। हाम्रो प्रदेशमा पार्टीमा केही समस्या छन्। ती समस्या हल गरेर पार्टीलाई एकतावद्ध गरेर जान सकियो भने ४४ स्थानीय तह जित्न सकिने आधार छ। पार्टीका अध्यक्ष यसरी निराश भएर हुँदैन। निकै ठूला ठूला निर्णय गर्ने र पार्टी र देशलाई निकास दिन सक्ने एकमात्र नेता तपाइ नै हो। पार्टी संगठनको हकमा तपाईले केही महत्वपूर्ण निर्णय गर्नुपर्छ। हामी कार्यान्वयन गर्न तयार छौं। तपाईले आँट नगरेर नै पार्टी यो अवस्थामा पुगेको हो। आँट गर्दा सबै ठीक हुनेछ।

हितमान शाक्य इन्चार्ज, प्रदेश नम्बर ३ : स्थानीय तह निर्वाचनमा हाम्रो खासै अनुभव थिएन। तालमेल गर्दा विचार पुर्‍याइएन। तालमेल नै गरेर जानेभए अलि केही महिना अगाडिदेखि नै तयारी गर्नुपर्थ्यो। दोलखा, धादिङ, चितवन लगायतका जिल्लामा कांग्रेससँग तालमेल गरे पनि हाम्रा उम्मेदवारलाई भोट आएन। काठमाडौंमा त जित्छौं भन्ने अपेक्षा पनि थिएन। अबका दिनमा यस्ता कुरामा विचार पुर्‍याउनुपर्छ। 

देव गुरुङ इन्चार्ज, प्रदेश नम्बर ४ : निर्वाचन प्रणालीमै हामीले गम्भीर गल्ती गरेका छौं। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली कहिँ न कहिँ गलत छ। पहिलो हुने मात्र निर्वाचित भएपछि दोस्रो, तेस्रो हुनेहरुको मतको कदर हुँदैन। स्थानीय तहमा पनि समानुपातिक तरिकाले कुन दललाई कति भोट आएको छ सो आधारमा प्रतिनिधि चयन हुनुपर्छ। यसको लागि अब हामीले छलफल सुरु गर्नुपर्छ। केन्द्रमा पनि समानुपातिक निर्वाचन प्रणालीबारे कांग्रेस एमालेले हटाउन खोज्ने गरी बहस सुरु गरेका छन्। हाम्रो पार्टी सचेत हुनुपर्छ।

बर्षमान पुन इन्चार्ज, प्रदेश नम्बर ५ : २०७० सालको निर्वाचनमा भन्दा अहिलेको स्थानीय तह निर्वाचनमा हामीलाई बढी मत आएको छ। निर्वाचनमा अरु पार्टीले पैसाको खोलो बगाए। हामीले त्यो गर्न सकेनौं। ४५ प्रतिशत जित्ने आँकलन गरिएको थियो तर २१ तहमा मात्र जित्न सकियो।

शक्ति बस्नेत इन्चार्ज, प्रदेश नम्बर ६ : पार्टी विघटनका लागि होइन। नयाँ पार्टी बनाउनका लागि बहस केन्द्रित गरौं।

लेखराज भट्ट इन्चार्ज, प्रदेश नम्बर ७ : पहिलो चरणको चुनाव भएको समयमा नै सबैतिर चुनाव भएको भए हाम्रो नतिजा अझै धेरै आउँथ्यो। पटक पटक स्थगित भएर चुनाव प्रचारको समय लम्बिँदा खर्च पनि बढ्यो। अरु पार्टीका उम्मेदवारले जति पनि खर्च गरे तर हाम्रो पार्टीका उम्मेदवारले धेरै खर्च गर्न सक्ने अवस्था थिएन। 

मंगलबारको बैठकमा भने अध्यक्ष प्रचण्ड र सात प्रदेशबाट आएका रिपोर्टमा केन्द्रित हुँदै खुला बहस हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। बैठकले २ नम्बर प्रदेशमा हुन बाँकी स्थानीय निर्वाचन, प्रदेश निर्वाचन र प्रतिनिधि सभा निर्वाचनका लागि ठोस योजना निर्माण गरिने भुसालले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.