|

काठमाडौं : विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजदेखि भारत र अष्ट्रेलियाबीच हुँदैछ।  लण्डनको ओभल मैदानमा हुने फाइनल जित्ने टोली आईसीसीका सबै प्रतियोगिताको ट्रफी जित्ने पहिलो टोली पनि बन्नेछ।

यो खेल आज नेपाली समय अनुसार अपरान्ह पौने ४ बजेदेखि शुरु हुने छ। विश्व टेस्ट च्याम्पियनसिप २०१९ बाट सुरु भएको थियो। पहिलो फाइनल २०२१ मा भारत र न्युजिल्यान्डबीच इङ्ल्यान्डमा भएको थियो। उपाधि न्युजिल्याण्डले जितेको थियो। 

सन् २०२१ देखि सुरु हुने दोस्रो च्याम्पियनसिपमा भारत र अष्ट्रेलिया तालिकाको शीर्ष दुई टोली बनेका छन्। त्यसैले उनीहरुबीच दोस्रो फाइनल खेल हुँदैछ। विश्व टेस्ट च्याम्पियन्सिपको पहिलो फाइनल पनि इंग्ल्याण्डमा भएको थियो भने २०२५ को फाइनल पनि इंग्ल्याण्डमा नै हुनेछ। सन् २०२१ मा साउथह्याम्पटनमा च्याम्पियनसिपका लागि भारत र न्युजिल्याण्ड भिडेका थिए। त्यसैगरी, २०२५ मा च्याम्पियनसिपको तेस्रो फाइनल लण्डनको लर्ड्स मैदानमा खेलिनेछ।

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हरेक पटक डब्ल्यूटीसी फाइनल किन इंग्ल्याण्डमा आयोजना गर्दै आएको छ भन्ने प्रश्न उठ्छ। आइसीसीले विश्व क्रिकेटका दर्शकका लागि उपयुक्त समय मिल्ने, टेस्ट क्रिकेट हेर्ने दर्शक बढी इङल्याण्डमै हुनु तथा यहाँको मौसमका कारण पनि टेस्टका ठुला प्रतियोगिता इङल्याण्डमा गरिरहेको बुझिएको छ।

विश्व टेस्ट च्याम्पियन्सिप ड्र वा टाई भएमा भारत र अस्ट्रेलियालाई संयुक्त रुपमा विजेता घोषित गरिने छ। विश्व टेस्ट च्याम्पियन्सिपको फाइनल खेलमा एक दिन रिजर्भ डे को रुपमा राखिएको छ। यदि खेलको पाँच दिनमा कुनै पनि पुरै एक दिन खेल हुन नसक्ने अवस्था आएमा रिजर्भ डेको प्रयोग गरिने छ।

विश्व टेस्ट च्याम्पियन्सिप हुने यी पाँच दिनमध्ये शुरुका तीन दिन र पाँचौं दिन मौसम सफा रहने र चौथो दिन वर्षा हुनसक्ने अनुमान गरिएको छ।  विश्व टेस्ट च्याम्पियन्सिप जित्ने टिमलाई १.६ मिलियन डलर नगद पुरस्कार रहेको छ भने उपविजेताले ८ लाख डलर पुरस्कार पाउने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.