काठमाडौं : सुदूरपश्चिमको देउडा गीत र संस्कृतिको बारेमा निरन्तर कलम चलाउनुहुने गीतकार, गायक एवं साहित्यकार भानुभक्त जोशीका ७ सयभन्दा धेरै गीतमा आँसु र विरहका गीत कालजयी छन्।
नक्सामा आएको कालापानीको माटो फिर्ता भएमा कैलाशको जल ल्याएर पशुपतिमा हाली लाखबत्ती बाल्ने अठोटमा समेत गीत लेख्नुभयो। जीवनको मूल उद्देश्य कला र साहित्यलाई बनाएका जोशीसँग थाहासञ्चारका लागि ओम भण्डारीले गरेको संवादको सम्पादित अंश :
थातथलो, जन्मठाउँ कहाँ हो?
बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका-६ सित्तड हो। पढाइको सिलसिलामा काठमाडौं आको थिएँ, कला र साहित्यको कामले यतै रोक्यो। परारको वर्ष त्रिभुवन विश्व विद्यालयबाट डिग्री सकेँ, एमफिलको तयारीमा छु।
अब, जागिरको तयारी होला नि?
मैले सेना, प्रहरी, लोकसेवा कुनै प्रकारको जागिरको कोसिस आजसम्म गरेको छैन। ऐतिहासिक काम गर्न सकूँ, समाजसेवा गर्ने योजना छ। राष्ट्रको सेवा गरिरहने छु।
तपाईं गीतकार धेरै कि गायक?
मैले लेखेका गीत धेरै छन्, तर गाउन पनि गाइरहेकै छु।
अरूले भनेपछि लेख्ने कि आफ्नो इच्छाले?
आफ्नो इच्छाले पनि लेख्छु। प्रेम र सौन्दर्यले वाटिकामा फूल्ने फूल हो गीत, आकस्मिक रूपमा आउने पनि गर्दछ। अरूले लेख्न लगाउँदा विषयवस्तु दिने गर्छन्, आफैँ स्वस्फूर्त आएका गीत स्थायी र कालजयी हुन्छन्।
गायन, लेखन पेसा भो कि भएन?
पेसा भन्ने कि नभन्ने दोधारमा छु। गीतसंगीत बिना बाँच्न सक्दिनँ जस्तो लाग्छ। यसैमा समय बितेको छ, छोडेर कहाँ जानु र?
धेरैवटा गीत लेख्नुभयो, गाउनुभयो, पैसा त टन्ने भयो होला हैन?
कला र साहित्यको क्षेत्रसँग जोडेर आर्थिक कुरालाई कहिल्यै प्राथमिकता दिन्नँ। गीत लेखेर मैले एक रुपैयाँ पनि लिएको छैन। ७ सय जति गीत लेखेँ होला, २ सय ५० भन्दा धेरै गीत गाएको छु। खान, लाउन, बस्न पाएकै छु। समाज र समुदायको सेवाका लागि लेख्छु।
गीत संगीतको यात्रा कहिलेदेखि हो? लेखन कि गायन पहिला?
पहिलो एल्वम ‘सुनिता सुनकमल’ भन्ने २०६५ सालमा निस्केको थियो, ६ वटा गीत थिए। लेखन अलि पहिला हो।
गीत निकाल्न पहिला र अहिले कुन महँगो भयो?
पहिला २२ हजारमा पाँच छ वटा गीत निक्लन्थ्यो। अहिले एउटै गीतको अडियो निकाल्न तीस-पैँतीस हजार लाग्छ। भिडियो झनै महँगो छ, अहिले हेर्ने गीत भए तर राम्रो गीतको ब्यापार राम्रो छ। श्रोता–दर्शकको माझमा छिट्टै पुग्न सकिन्छ। सञ्चार प्रविधिले फाइदै भएको मान्छु।
कलाकारलाई नयाँ प्रविधि कतिको सजिलो? तपाईंको पनि युट्युव च्यानल छ?
क्यासेट बेच्न जस्तो सजिला छैन तर सदुपयोग गर्न सकेमा राम्रै छ। मेरै पनि दुईटा युट्युब च्यानल छन्। ‘निरन्तर मिडिया’ र ‘भानुभक्त जोशी अफिसियल।’
घुम बादल अपीका रोल कस्तो गीत हो, किन धेरैले रुचाए?
देउडा गीतको ठाडी भाका हो। श्रीमानले श्रीमतीलाई परदेश हिँडने दिन बिहान भनेको कुरा हो। ‘आजतेरा बेल्याकी दैछ, भोलिकाँ खानु छ? सातपाना बादलका माथि जहाजमा जानु छ, प्यारी मन् त तेरी कोल’ आज तिमीले दिएको कचौराको दही खाएर जानु छ, भोलि काँ खानु छ, भोलि खाइन्छ कि खाँइदैन, सातपत्र बादलको माथि उडेर जानु छ तर मेरो मन तिमीसँगै छ भनेर प्रेमको विरहको गीत हो। यो सबै परदेशीको गीत हो।
जसका लागि लेख्नु, गाउनु भो, ती मान्छेसम्म पुग्यो कि पुगेन?
दुःख पीडाका गीत सम्बन्धितले नसुन्ने कुरै भएन। भर्खरै पोखरा हवाई र्दुघटनाको गीत पनि लेखें, सबैले सुन्नुभयो। परदेशीका गीत परदेशीले सुन्नुहुन्छ। सम्बन्धित सम्म पुगेको झैँ लाग्छ।
गहिरा गीत लेख्ने प्रेरणा केले दिएको?
प्रेरणाभन्दा पनि अन्तरचेतना हो। भावनाले गहिराइमा पुर्याउँदो रहेछ। ‘सम्झना छुटी गै’ ‘कोयली बासन्न’ ‘काँछयै मायाँ जाल’ ‘भागीरथी र्दुघटना’ जस्ता थुप्रै भावुक गीत लेखेँ, कालजयी भए। आफैँले लेखेका गीत सुनेर आफैँ धेरैपटक रोएको पनि छु।
अरू धेरैलाई पनि रुवायो तपाईंका गीतले, कस्तो लाग्छ?
रुवाउने मेरो चाहना होइन, किन? चित्त दुखाएँ होला किन? रुवाएँ जस्तो लाग्छ तर भावनामा पुग्यो होला र रुनुभयो। कलाकार कैले चितामा जल्नुपर्छ, कैले डोलीमा चढ्नुपर्छ भने कहिलेकाहीँ फूल र काँडा पनि हुनुपर्ने रहेछ।
कला साहित्यमा अरू के–के गर्नुभएको छ?
देउडा खेल्छु, पाँच-छ सय वटा कमेडी बनाएको छु। कमेडी कलाकार पनि हुँ। सुदूरपश्चिमको भाषामा बनेका तीनवटा चलचित्र खेलेको छु, अर्को चलचित्र लगत्तै आँउदै छ। ‘धर्ती बोल्छ’ ‘गौरा एक महान् पर्व’ ‘सुदूरपश्चिम रंगमञ्च’ गरी तीनवटा पुस्तक पनि लेखेँ।
‘कालापानी फिर्ता ल्याया करोड बत्ती बाल्लो, कैलाशको जल ल्याउलो पशुपतिमा हाल्लो’ कस्तो गीत हो?
देश दु:खेपछि मन दु:खेर लेखेको हुँ। लेखेको, गाएको पाँच वर्षमा चुच्चे नक्सा सार्वजनिक भयो तर माटो आएन। कैलाश कालापानीमै छ, कालापानी फिर्ता भयो भने, त्यो कैलाशको जल ल्याएर बागमतीमा हाली पशुपतिमा करोड बत्ती बाल्नेछु। पहिले नै तयारी गरेको थिएँ, जुन दिन भूमि आउँछ, पशुपतिमा करोड बत्ती बाल्नेछु।
देउडामा, ठाडीमा दुःखका गीतहरू किन धेरै छन्?
मनोरञ्जनका लागि हास्यव्यंग्यका गीतहरू पनि बनेका छन् तर दुःखमै बगेका गीत कालजयी हुन्छन्। दु:खीका गीत काललाई पनि जित्ने कालजयी हुने रहेछन्।
लोकगीत के रहेछ?
लोकगीत समाज बदल्ने संवाहक हो। घटनालाई श्रोता–दर्शकका माझमा सजिलो गरी पुर्याउने माध्यम पनि हो। त्यस्तै, लोकगीतका माध्यमबाट राजनीति, धर्म परम्परालाई प्रवद्र्धन गर्ने र सचेतना फैल्याउने तथा समाजलाई गति दिने काम पनि गर्न सकिन्छ।
संस्कृति चाहिँ के रहेछ?
मानिसलाइ बाँच्न, बचाउन सिकाउने सभ्यता रहेछ। सुदूरपश्चिममा त्यस्ता परम्परा छन् जुन आजको व
वैज्ञानिक युगमा पनि मानव हितमा छ। त्यहाँको संस्कृतिले मानव कल्याणको उज्यालो फैलिरहेको छ।
देउडा गीत पनि अब अमौलिक हुनथाले, छ्यासमिसे भए भन्ने गुनासो सुनिन्छ नि?
कैयौँ गीत मैले नरुचाएका पनि छन्। मौलिक लोकगीत भनेर गाएका गीतहरू परिवारका सबै सँगै बसेर सुन्न र हेर्न मिल्ने हुनुपर्छ। सुन्नेभन्दा हेर्ने गीतहरू थप अमौलिक र अरूचिकर बनाउँदै छन्। राम्रा गीतमा केहि छ्यासमिसे गीतले अपजस परेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।