|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले हुन बाँकी सहमतिलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकि नसकि विरोध गर्ने तरिका उचित नभएको बताएका हुन्। 

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफूले भारतसँग गरेका सहमतिका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न पनि सबै पार्टीलाई आग्रह गरेका छन्। प्रधानमन्त्री दाहालले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि दोहोर्याए।

‘हामी सबैले एक भएर यी भएका सहमति, समझदारी ठीक ढंगले कार्यान्वयन हुन । हुन बाँकी सहमति पनि बनाउनु पर्यो पो भन्नु पर्छ र । त्यसो भन्यो भने पो नेपाल बलियो हुन्छ । हामी बलियो हुन्छौं । त्यसकारण यसमा अनावश्यक हामीले सकिनसकी विरोध गर्नुपर्ने, कनिकुथीको तरिका अपनाउनु उचित छैन,’ उनले भने। 

बंगलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजिवीहरूले छलफलमा ल्याएको कुरा आफूले नेपाली पत्रकारहरूसँगको कुराकानी गरेको उनको स्पष्टीकरण थियो । प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक दुई मुलुकबीचको सीमा समस्या समाधान गर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति नेपालको लागि ठूलो कुरा भएको बताए। 

‘मैले औपचारिक कुनै पनि बैठकमा जमिन सट्टापट्टाबारे कुरै गरेको छैन। खाली कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो। त्यो समस्या छिटोभन्दा छिटो वार्ता, संवादद्वारा हल गर्नुपर्छ भन्ने कुरा मात्रै भनेको हो,’ उनले भने, ‘नेपालकै कतिपय बुद्धिजिवीहरूले हामीले यदि बंगलादेशको मोडेल अध्ययन गरेर त्यसलाई पनि लिनुपर्छ । या बंगलादेश जाने बाटो हामीले पाउने हो भने समस्याको त्यो पनि समाधान हुन सक्छ भनेर भनेका छन भन्ने सन्दर्भमा मैले यो कुरा बोलेको हो । त्यो भारत सरकारसँग प्रस्ताव राखेको या भारतसँग कुरा भएको होइन।’

प्रधानमन्त्री दाहालले आफूले भारत भ्रमणको क्रममा खर्बौको लगानी भित्र्याउने गरी सहमति गरेको जिकिर समेत गर्नु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.