|

जनकपुरधाम : सांसद तथा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले यो सरकार पाँच वर्ष चल्ने र तीनजना प्रधानमन्त्री बन्ने बताएका छन्।

बुधबार जनकपुरधाममा आयोजित नेपाल मुस्लिम संघ धनुषाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका नेता निधिले पहिलो प्रधामन्त्री प्रचण्ड, दोस्रो माधव नेपाल र तेस्रो शेरबहादुर देउवा हुने स्पष्ट पारे।

निधिले यो गठबन्धन २०८४ सालसम्म रहने र आगामी चुनावमा नेपाली कांग्रेस एक्लै चुनाव लड्नुपर्ने पक्षमा आफू रहेको समेत जानकारी गराए।

नेता निधिले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको जिकिर गर्दै मुस्लिम समुदायको भलो चाहने पार्टी कांग्रेस बाहेक हुनै नसक्ने समेत बताए।

आफ्नो पहलकदमीमा नेपालमा पहिलोपटक मदरसालाई सरकारको औपचारिक सहयोग हुन थालेको स्मरण गर्दै निधिले संघको धनुषा अधिवेशन सर्वसम्मत गरी २०८४ सालमा तीनै तहको निर्वाचन कांग्रेसले एक्लै जित्ने गरी अभियानमा लाग्न निर्देशन समेत दिए।

नागरिकता विधेयक संविधान कार्यान्वयनसँग जोडिएको र संविधान कार्यान्वयनको दायित्व न्यायपालिकाको समेत रहेकाले अवरोधक नबन्न आग्रह गरे। त्यसो नभए कडा आन्दोलन गर्ने नेता निधिले चेतावनी दिएका छन्।

बुवाआमाको नागरिकता भएर पनि सन्तान नागरिकता विहीन रहेको अवस्था मधेशको घर घरको समस्या रहेकाले संविधानको अवधारणा विपरीत नागरिकको भविष्यसँग खेलवाड गर्ने अधिकार कसैलाई नरहेको समेत बताए।

जेठ २६ गते अदालतले दुवै पक्षलाई बोलाएको जानकारी गराउँदै निधिले अदालत संविधानको मर्मअनुसार नै आएको नागरिकता कानुनको बाधक नबन्नेमा कांग्रेसलाई विश्वास रहेको बताए। यदि अवरोध भए आन्दोलनको तयारी अवस्थामा रहन नेता कार्यकर्तालाई निर्देशन दिए।

कार्यक्रममा कांग्रेसका नेता तथा प्रदेश सांसद रामसरोज यादव, धनुषा सभापति योगेन्द्र पञ्जियार, जनकपुरधामका मेयर मनोजकुमार साह, उपप्रमुख किशोरी साह, संघका अध्यक्ष इब्राहिम राइन सहितले बोलेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.