|

संखुवासभा : नेपाल विद्यालय कर्मचारी परिषद् संखुवासभाले सेवा सुविधाको माग गर्दै शिक्षा विकास तथा समन्वय एकाइ संखुवासभामा धर्ना दिएको छ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) को सेवा सुविधामा विभेद गरेको भन्दै आज समन्वय एकाइमा नेपाल विद्यालय कर्मचारी परिषद् संखुवासभाले धर्ना दिएको हो।

धनार्का साथै विद्यालय कर्मचारी परिषद्ले आजै शिक्षा विकास तथा समन्वय एकाइ संखुवासभाका प्रमुख केशव भट्टराईलाई विभिन्न मागसहित ज्ञापनपत्र समेत बुझाएको छ। सरकार र विद्यालय कर्मचारी परिषद्‌बीच विभिन्न समयमा भएका सम्झौता कार्यान्वयनका लागि दबाव दिन धर्ना कार्यक्रम गरिएको नेपाल विद्यालय कर्मचारी परिषद् संखुवासभाका अध्यक्ष टंकबहादुर दर्जीले बताए।

आव २०८०।०८१ को सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा विद्यालय कर्मचारीको सेवा सुविधा सुनिश्चित गर्ने उल्लेख गरिएको विषय हटाएका कारण आन्दोलनमा उत्रनुपरेको अध्यक्ष दर्जीले बताए। सेवा सुविधामा विभेद हटाउन जिल्ला समिति र पालिकागत समितिले आ–आफ्नो ठाउँबाट आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ।

गत जेठ २० गतेदेखि सबै विद्यालय कर्मचारीहरूले आफूसँग भएको विद्यालयको तालाचावी प्रधानाध्यापकलाई जिम्मा लगाएर आन्दोलनमा उत्रिएको दर्जीले बताए।

संखुवासभाका सामुदायिक विद्यालयमा कार्यरत ४४५ विद्यालय कर्मचारी आन्दोलनमा छन्। नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनमा नेपाल शिक्षक महासंघ संखुवासभा तथा शिक्षण पेशासँग सम्बद्ध सबै पेशागत संघ संगठन र सामुदायिक विद्यालयका व्यवस्थापन समितिले आन्दोलनमा ऐक्यबद्धता जनाएको अध्यक्ष दर्जीले बताए।

आन्दोलनको अवज्ञा भएमा वा आन्दोलन दबाउने कुनै पनि खाले गतिविधि भए आन्दोलनले नयाँ मोड लिन सक्ने भएकाले त्यसबाट हुने सबैखाले क्षतिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.