|

काठमाडौं :  प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ। एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो।

 आजको बैठक प्रारम्भ भएलगत्तै एमालेका सांसद आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद योगेशकुमार भट्टराईलाई समय दिए। नेता भट्टराईले २०७९ फागुन १७ गते प्रदेशसभाबाट दुई तिहाइभन्दा बढी मतबाट कोशी प्रदेशको नामकरण भएको सन्दर्भमा असहमति भए पनि लोकतान्त्रिक विधिबाट भएको निर्णयलाई पालना गर्नुका साटो पटक-पटक अवाञ्छित घटना हुन थालेको बताए।

उनले प्रदेशको नामकरण भएको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई झापामा ढुङ्गामुढा गर्ने, एम्बुस थाप्ने र अवरोध सिर्जना गर्नेजस्ता कार्य भएको स्मरण गराए।

उनले उदयपुरमा कोशी प्रदेशका उप-सभामुख सिर्जना दनुवारको गाडीमाथि हमला भएको घटना पनि स्मरण गराए। साथै प्रदेशको नामकरण सम्बन्धमा विराटनगरमा निधन भएका एक प्रदर्शनकारीको निधनको घटनाबारे पनि गृहमन्त्रीको जवाफ माग गरे।

एमालेले उठाएका प्रश्नहरूको जवाफ गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएका छन्। कुनै हालतमा पनि कानुन उल्लंघन गर्ने र आन्दोलनका नाममा उदण्डता गर्ने समूहलाई कारबाहीहको दायरामा ल्याइछाड्ने पनि उनले प्रतिबद्धता जनाएका छन्।    

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.